लघुकथा :- कंश -शारदा पौडेल

Posted on: May 03, 2016 | views: 459

मामा हजुरलाई अहिले समस्या छ मसँग जति छ त्यति लिनुहोस् न त अनि मलाई अावश्यक परेको बेलामा दिनुहोला - मैले भनेँ ।
" हुन्छ नि भान्जा किन नहुनु ? तिमीलाई जहिले चाहिन्छ त्यही समयमा म दिन्छु । तिमीले चाहियो भने भन न मात्रै - उनले भने ।

त्यसपछि घरमा अाएँ , पैसा खोजखाज पारेँ र जति थियो लगेर दिएँ । उनी निकै खुशी भए र असिम माया देखाउन थाले । म पनि तिनैको मायामा मख्ख पर्दै गएँ । लौ हिड भान्जा भनेपछि जतातिरको काम पनि दौडिहाल्ने गर्थेँ ।

समय सधै एकनास हुँदो रहेनछ । म काम गर्ने सिलसिलामा प्रहरीको पञ्जामा परेँ । मुद्दा लड्नु पर्ने भयो । नत्र देश निकाला गर्ने सम्भावना भएकाले वकिल समाए र मुद्दा लड्ने निधो गरेँ ।

मेरो जटिल केश हुनाले वकिल खर्च अलि महङ्गो र लामो समयसम्म मुद्दा लडिरहन पर्ने भयो र म उनै मामा भएको ठाउँमा गएँ अनि भनेँ - "मामा मैले त मुद्दा लड्न पर्ने भयो । अलि राम्रो वकिल लगाउँने सोच बनाएँ , अब पैसा चाहिएला जस्तो छ वकिलले बोलाउँदाको दिनमा म पैसा लिन अाउँछु ।कृपया व्यवस्था गरेर राखिदिनु है ।"

नभन्दै केही दिनपछि वकिलले फोन गर्यो र म खुशी हुँदै पैसा लिन गएँ । उनी पैसा गनिरहेका थिए । मलाई देख्ने बित्तिकै पैसा गुटुमुटु पारेर खल्तीमा घुसारे । एकछिन म तिन्कै गतिविधि र कुराकानी हेर्न र सुन्न थालेँ ।
केही समय पछि भनेँ - मामा म पैसा लिन अाएको , चार बजे वकिललाई भेट्नु छ ।

अनि उनी झर्किँदै भने - कहाँ छ र दिने हो ? छैन मसँग ? भएको बेलामा दिम्ला । कसैले नदिएको त्यति पैसो दिएको खालि माग्न अाउँछ । हिजो काम हुँदा भान्जु भनी भनी काम लिएका मान्छे अाज आफ्नै पैसा माग्दा यस्तो कुरा अचम्म लाग्यो । एकातिर म मुद्दा नलडे सिधै देश निकाला हुने स्थितिमा थिएँ भने अर्कोतिर लडुँ पैसा उनैलाई बुझाएको थिएँ ।

कस्तो विडम्बना ! भगवान सम्झेँ र एकपटक उनलाई एकटकले हेरेँ दुई थोपा अाँसु तप्प खसालेँ र भनेँ - हुन त तिमी मेरो वास्तविक मामा होइनौ , कृष्ण को वास्तविक मामा कंश नै थियो नि होइन त ......////