नयाँ वर्ष (कविता) - मनीषा अवस्थी

Posted on: May 03, 2016 | views: 463

हे नयाँ वर्ष
तिमी आयौ
यो बस्तीमा
नयाँ पालुवाका साथमा
तर शंका छ
पोहोर तिम्रो समकक्षी झैं
झुक्याउने त हैनौं ?

गत वर्षको कहर बिर्षिने गरी
मल्हम बन्न सक,
नयाँ वर्ष
नत्र तिम्रो पनि
२०७२ झै आलोचना हुनेछ
तिम्रो बिदाईको पर्खाईमा
पिडाहरु बिर्षन
भत्किएका मन्दीरका भगवान भेट्न
र बिन्ती चढाउन
कि तिम्रो प्रस्थान छिटो होस्
बाध्य हुनेछौं हामी ।

हे नयाँ वर्ष
तिमी बुझ्न सक्छौं
तिम्रा समकक्षी वर्षहरुलाई एक चोटी
फर्केर हेर्न सक्छौ
अनि फेरी एकपल्ट
हाम्रो कानै चिर्नै गरी
ठूलो होहल्ला गर्दै
बोलाउन सक्छौं
वर्षहरुको अधिबेशन
र छान्न सक्छौं एक सवल नेतृत्व
जुन तिम्रो लोकप्रियताका लागि
ठूलो अवसर पनि बन्नेछ
जसमा हामी पनि साथ दिनेछौं
तर प्रकृति चिढिएको २०७२
जस्तो नेतृत्व छान्न अनुमति छैन ।

हे नयाँ वर्ष
पिडाको गह्रौं भारी बोकेका
प्रकृतिसँग रुष्ट
राष्ट्रभक्त नेपालीलाई
सुख हैन खुशी चाहिएको छ
उनिहरु भन्दैछन्
शरीर थिचिने गरी भारी बोकाउ
तर मन कुँडिने गरी
आँशुको ताल बन्ने गरी पिडा मात्रै नदेउ
बस हामी आभारी हुनेछौं ।