लघुकथा-छाडा साँढेहरु : शारदा पौडेल

Posted on: May 02, 2016 | views: 425

बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासी देखि सामाखुशीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउण्ड मारेर अाउँथेँ । एक दिनको कुरो म अाफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ , एक जना बुबा समानको व्यक्ति भेट भए र भने - नानी पख त ।

मलाई पनि अाफ्नै बुबाले भन्ने शब्दले सम्बोधन गरेकाले रोकिएँ र सोधेँ - मलाई भन्नू भएको हो ?
उनले हो को संकेत गरेर भन्न थाले - अाहा ! कत्ति सर्लक्क परेको शरीर हो , लामो कपाल हिस्सी परेको अनुहार , भगवानले तिमीलाई फुर्सदमा बनाएछन् है ।

एकै वाक्यमा यति धेरै तारिफ दंग पर्दै सोधेँ- होइन हजुरले के भन्न खोज्नु भएको हो ? प्रष्टसँग भन्नू न ,मलाई हतार छ ।
उनले भने के को हतार हिँड चिया खान जाउँ ,यसो कुराकानी गर्यौ , अनि अाहा ! यस्तो शरिरसँग यसो .....

मलाई अलिकति रीस उठ्यो - के भन्न खोज्नु भएको हजुरले फेरि भनेँ ।
फेरि नम्र हुँदै भने - त्यसै हो र केही दिउँला नि हिँड न जाम ।
मलाई सही नसक्नु भयो र हिँडे - ऊ फत्फताउँदै थियो ।

अर्को दिन, मैले एउटा अफिसमा काम गर्ने महिला खोजेको छरे भन्ने सुनेँ र गएँ अनि त्यहाँको प्रमुखलाई भेटेँ ।
उचित सम्बोधन गरेँ र कामका बारेमा सोधेँ - शिरदेखि पाउसम्म हेरे र भने - अाहा क्या दामी , रुप नि उस्तै रहेछ , खासै अहिले त चाहिएको छैन तर तिमीले चाहन्छौ भने एउटा सर्तमा म ठाउँ खाली बनाएर राख्न सक्छु - दंग पर्दै सोधेँ , कस्तो सर्त ?

उनले भनेँ - तिमी मसँग....
कुरा बुझेँ र नमस्कार गरेर हिडेँ ।
गएको ठाउँ अलि टाढै भएकोले हिँडेर आउन सम्भव थिएन , त्यसैले बस चढ्ने निर्णय गरेँ र चढेँ । मनमा एकपछि अर्को घटनाले चस्काइरहेको थियो । सायद अनुहार निकै मलिन भएछ क्यारे , छेउमा बस्ने एक अधवैसे मान्छेले सोधे - होइन बहिनी किन उदास ?

होइन क्यै भएको छैन - मैले भने
यस्तो उमेरमा पनि यसरी उदास हुन हुन्छ त ,
हिँड जाउँ मसँग म तिमीलाई खुशी पार्छु भन्दै हात कपालसम्म ल्याउन खोज्दै थियो ।

म जुरुक्क उठेँ र त्यसलाई शिरदेखि पाउसम्म हेरेँ । अनि एकपछि अर्को घटनाको स्मरण गरेँ । अनि बाध्य भएर भनेँ - अाफुलाई के हुँ भन्ठान्छन् यी छाडा साँढेहरु......।।।