बलात्कार दिवस थपिदिनुस् -एलिसा पौडेल 'एकता'

Posted on: May 02, 2016 | views: 259

बलात्कार दिवस थपिदिनुस्
प्रजातन्त्र दिवस
पुरानो भइसक्यो
लोकतन्त्र- गणतन्त्र दिवसपनि
बासी भइसके
शहिद दिवस
जन्मेदेखि नै मनाएकै हो
थाहा छैन
रेडियो दिवसले
आम जनताको आवाज
बोल्न सक्यो कि सकेन
नारी दिवसले
कति नारीलाई न्याय दियो
गणना हुनै बाँकी छ
सरकार..
धेरै धेरै दिवसहरु मनायौ हामीले
यी दिवसहरुका भिडमा
मेरो सानो आग्रह स्वीकारेर
कृपा गरेर
एउटा दिवस थपिदिनुहोस्
बलात्कार दिवस
म ग्यारेन्टी दिन्छु सरकार
यो दिवस भव्य रुपमा सम्पन्न हुनेछ
सरकार
थप्नैपर्छ तपाईंले
दिनैपर्छ सार्वजनिक विदा
यो दिवसको दिन
किनकि
तपाइँसँग अर्को विकल्पै छैन
तपाइँले
सक्नुभएन रोक्न
यो बलात्कारको सिलसिला
यो हत्याको शृङ्खला
त्यसैले सरकार
थपिदिनुस् एउटा सानो दिवस
बलात्कार हटाउने
हत्या रोक्ने
योभन्दा ठुलो उपाय
अरु हुनै सक्दैन
किनभने
जब
अत्याचारले सिमा नाघ्छ
तब
आफैँ चल्छन् ओठहरु
आफैँ बुलन्द हुन्छन् आवाज
आफैँ जुट्छन् विरोधका ज्वालाहरु
आफैँ उठ्छन् अत्याचारविरुद्ध हात
त्यसैले सरकार
एउटा सानो दिवस थपिदिनुहोस्
बलात्कार दिवस