म्यानचेस्टर विस्फोट : मृत्यु हुनेको संख्या २२ पुग्यो

Posted on: May 23, 2017 | views: 499

२३, मे बेलायत ।

बेलायतको म्यानचेस्टर शहरमा भएको शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या २२ पुगेको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा अमेरिकी गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो । ठूलो आवाजसहित भएको विस्फोटपछि भागदौड मच्चिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपाली समयअनुसार विहान करिब साँडे ३ बजे सो विष्फोट भएको थियो । विस्फोटपछि म्यानचेस्टर भिक्टोरिया स्टेसनबाट रेल आवागमनमा रोक लगाइएको छ । गायिका एरियाना ग्रान्डे भने सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

कन्सर्टको टिकट घर नजिकै ठूलो आवाजका साथ दुई वटा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विस्फोट कसले र किन गराएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । एक जना प्रत्यक्षदर्शीले उक्त विस्फोटनले आफुलाई कैयौं मिटर पर हुत्याइदिएको बताएका छन ।

विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै ती प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको  बताए । मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


प्रधानमन्त्री टरिजा मेले म्यानचेष्टर शहरमा भएको विस्फोटनबाट प्रभावितहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्दै सो घटनालाई डरलाग्दो आतंकवादी हमलाको रुपमा छानविन थालिएको जानकारी दिएकी छन् । म्यानचेष्टर विस्फोटलाई लिएर मंगलबार बिहान प्रधानमन्त्री मे ले ब्रिटेनको उच्चपदस्थ सुरक्षा अधिकारी सहभागी हुने कोब्रा बैठकको अध्यक्षता गर्ने जनाइएको छ ।

Pic : BBC