अमेरिकी निर्वाचन प्रक्रिया, मतदान जारी, मूख्य निर्वाचन नोभेम्वर ८

Posted on: October 30, 2016 | views: 266

एजेन्सी ।
अमेरिकामा राष्ट्रपति पदका लागि नोभेम्वर ८ अर्थात कात्तिक २३ गते निर्वाचन हुने कार्यक्रम रहेको छ । कतिपय राज्यहरुमा भने मतदान अर्थात अर्लि भोटिगं भइरहेको छ ।

अमेरिकामा राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेपनि मतदाताको लोकप्रिय मतका आधारमा मात्र नभइ आम मतदाताबाट निर्वाचित निर्वाचक मण्डलबाट राष्ट्रपति निर्वाचित हुने व्यवस्था रहेको छ ।

जस अनुसार, १८ वर्ष उमेर पुगेका मतदाताहरुबाट ५ सय ३८ सदस्यीय निर्वाचक मण्डल निर्वाचित हुन्छन । राष्ट्रपति निर्वाचित हुनका लागि निर्वाचक मण्डलको कुल संख्याको आधाभन्दा बढि अर्थात २ सय ७० मत प्राप्त गर्नुपर्ने हुन्छ ।

पपुलर मत अर्थात जनताबाट सिधै प्राप्त हुने मत धेरै ल्याए पनि निर्वाचक मण्डलबाट प्राप्त हुने मत कम भएको कारण कतिपय राष्ट्रपति पदका उम्मेदवारले अमेरिकामा हार व्यहोरेका छन ।

सन् २००० मा भएको निर्वाचनमा डेमोक्र्याटिकका उम्मेदवार अल गोरले रिपब्लिकनका जर्ज डब्लु बुस भन्दा ५ लाख भोट बढि ल्याए पनि बुसले निर्वाचक मण्डलबाट प्राप्त हुने इलेक्टोरल मत २ सय ७१ ल्याएका कारण राष्ट्रपति पदमा बुस नै निर्वाचित भएका थिए ।

अमेरिकामा अहिले हुन लागेको निर्वाचनमा डेमोक्र्यटिक पार्टीका हिलरी क्लिङ्टन र रिपब्लिकन पार्टीकाका डोनाल्ड ट्रम्पबीच तिव्र प्रतिश्पर्धा हुदै छ  ।

अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपति पदका लागि आगामी नोभेम्बर ८ अर्थात यही कात्तिक २३ गते ५० वटै राज्यमा निर्वाचन हँुदैछ । यही निर्वाचनका क्रममा कतिपय राज्यहरुमा गभर्नर, सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ, महान्यायाधिवक्ता लगायत बढिमा १५ पदका लागि समेत निर्वाचन हुने कार्यक्रम रहेको छ ।

प्रत्येक राज्यबाट २ जना सिनेटर र जनसंख्याको आधारमा हाउस अफ रिप्रिजेन्टेटिभको निर्वाचन हुने व्यवस्था रहेको छ । निर्वाचीत राष्ट्रपतिले निर्वाचित भएको केही दिनमा नै मन्त्रिपरिषद गठनदेखि आफ्ना नीतिहरु बनाउने र आगामी सन् २०१७ को जनवरी २० देखि राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन ।

अमेरिकी संविधानमा भएको यस किसिमको निर्वाचन सम्वन्धी व्यवस्था झन्झाटिलो भएको भन्दै पतिल्लो समय अमेरिकीहरु सिधै राष्ट्रपति निर्वाचित हुने व्यवस्थाका लागि आवाज उठाउदै आएका छन ।

अमेरिकामा निर्वाचनको सुन्दर पक्ष के रहेको छ भने यहाँ निर्वाचनका कुनै पनि गतिविधिले सर्वसाधारणलाई खासै असर गर्दैन तुल, पम्प्लेट, भित्तेलेखन जस्ता प्रचारको शैली अमेरिकामा देखिदैन र निर्वाचन सम्वन्धी सभा पनि निश्चित स्थानमा मात्र हुने भएकाले सार्वजनिक यातायातमा समेत कुनै प्रभाव परेको पाइँदैन ।