उत्तर कोरिया र सिरिया एकजुट, अमेरिकाले आक्रमण गरे विश्वयुद्ध निम्तन सक्ने

Posted on: May 03, 2016 | views: 375

२६ फागुन, एजेन्सी ।
आणविक हतियार सम्पन्न उत्तर कोरियालाई सिरियाले साथ दिने भएको छ । पश्चिमा देश सहित संयुक्त राष्ट्र संघबाट समेट नाकाबन्दी झेलिरहेको उत्तर कोरियालाई सिरियाले साथ दिने भएको हो ।

उत्तर कोरियामाथि आक्रमण र उसलाई चिढ्याउने काम गर्दै आएको अमेरिका बिरुद्ध सिरिया र उत्तर कोरिया एक भएका हुन् ।

नाकाबन्दी लागु भएपछि कोरियासँग कुटनीतिक सूचना सञ्चार गर्ने सिरिया पहिलो राष्ट्र बनेको छ । अमेरिकाले बसर अल असदको सिरियाली सरकारको बिरुद्धमा त्यहाँका बिद्रोहीलाई हतियार र करोडौं डलर खर्चंदै आएको छ । यसकै बदलामा सिरियाली सरकारले अमेरिका बिरुद्ध कठोर रुपमा उभिंदै आएको कोरियाली राष्ट्रपति किम जोङ उनलाई साथ दिएका हुन् ।

्सिरियाली राष्ट्रपतिले उनलाई जवाफी सन्देश पठाउँदै कोरियासँग सम्पर्क कायमै रहेको बताएका छन् ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार, सिरियाली राष्ट्रपति बशर अल–असदले किम जोङलाई पत्र पठाएका छन् ।

सिरियन अरब रिपब्लिकमा ८ मार्चका दिन भएको क्रान्तिको ५३ औं वर्षगाँठका अवसरमा उत्तर कोरियाले पठाएको शुभकामना सन्देशका लागि आभार व्यक्त गर्दै राष्ट्रपति बसरले जवाफी सन्देश पठाएको एजेन्सीले उल्लेख गरेको छ ।

“अतिवादी र आतंकवादलाई परास्त गर्न सिरियाली जनताको संघर्षलाई सहयोग गरेकोमा उत्तर कोरियाली राष्ट्रपति, नेतृत्व र जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।” बसरले पठाएको पत्र उदृत गर्दै भनिएको छ ।

सिरिया र उत्तर कोरियाबीच यसअघि समेत निकै निकट सम्बन्ध रहँदै आएको छ ।

आइएसआइएसको चर्को निशानामा परेको सिरियालाई रुसले समर्थन गर्दै आएको छ । तर अमेरिकाले सिरियामा रुसको उपस्थितिको बिरोध गर्दै आएको छ ।

सिरियाले भने गत अगस्तमा आफ्नो एउटा सडकको नाम नै कोरियाली नेता किम इल सुङको नाममा राखेको छ । संयुक्त कार्यक्रमको आयोजना गरेर सिरियाले किम इल सुङप्रति सम्मान व्यक्त गरेको थियो । उक्त अवसरमा सिरियाले उत्तर कोरियालाई सहयोग गर्न समेत अपील गरेको थियो ।

उत्तर कोरिया र सिरियाबीच सम्पर्कको निरन्तरताले अमेरिकाविरुद्ध दुबै देशको एलायन्स बन्न सक्ने सुरक्षा रणनीतिविद्हरुले जनाएका छन् । संयुक्त राष्ट्र संघमा नाकाबन्दीका पक्षमा सहमति जनाउने रुस र चीनले समेत कोरियासँग निकट सम्बन्ध राख्दै आएका छन् । यता अमेरिका र दक्षिण कोरियाले भने संयुक्त सैन्य अभ्यास जारी राखेको विषयमा उत्तर कोरियाले कडा प्रतिक्रिया जनाएको छ ।

सिरिया र उत्तर कोरियाबीचको सम्बन्ध नाटकीयरुपमा अलायन्समा परिणत भएको खण्डमा रुस र चीनलाई समेत यही अलायन्सलाई साथ दिनुपर्ने रणनीतिक बाध्यता रहेको बताइन्छ ।

यो अवस्थामा यदि उत्तर कोरियाविरुद्द अमेरिका र सहयोगी सेनाले आक्रमण गरेको खण्डमा त्यसले विश्वयुद्धको रुपले ठानिएको छ ।