म्यानमारमा नयाँ वर्षको अवसरमा ८३ आस्थाका बन्दी मुक्त

Posted on: May 02, 2016 | views: 213

६ बैशाख, याङ्गुन ।
म्यानमार सरकारले त्यहाँको नयाँ वर्षको पहिलो दिन ८३ जना आस्थाका बन्दीहरू जेलमुक्त गरेको छ । म्यानमारका राष्ट्रपतिको आदेशबाट उनिहरुलाई मुक्त गरिएको हो ।

यसवर्ष  म्यानमारको नयाँवर्ष अप्रिल १७ बाट सुरु भएको र राष्ट्रिय मेलमिलाप कायम गर्न तथा म्यानमारका जनताका हृदयमा शान्ति छाइरहोस भन्ने शुभकामनाका साथै राजनीतिक विवादमा मुछिएर आस्थाका बन्दी बनाइएका मध्ये ८३ जनालाई क्षमादान गरी मुक्त गरिएको राष्ट्रपतिको आदेशमा उल्लेख गरिएको छ ।

गत अप्रिल ८ का दिन पनि १९९ जना राजनीतिक तथा मानवअधिकारकर्मी एवम् विद्यार्थीहरू समेतलाई मुलुकका विभिन्न कारागारबाट मुक्त गरिएको थियो ।

विदेशमन्त्री तथा राज्य परिषद्का अध्यक्ष लोकप्रिय नेतृ आङ सान सुकीको विशेष अनुरोधमा राष्ट्रपति क्षमादान आदेश दिनुभएको समेत जनाएको छ ।

प्रहरीस्रोतका अनुसार कारागार मुक्त भएकाहरूमध्ये ३६ जना महिला र दुई बालबालिका समेत रहेका थिए  ।

म्यानमारमा नयाँ सरकारले कार्यभार सम्हालेपछि गत अप्रिल ८ बाट  आस्थाका बन्दी मुक्त गर्ने कार्य सुरु गरिएको छ  ।

ती बन्दीमा अधिकांशलाई राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचारप्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले थुनामा राखेको बताइएको छ ।

अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । यसरी पक्राउ परेर बन्दी बनाइएकामा अधिकाशं नेतृ आङ सान सुकीको दलका नेता कार्यकर्ता रहेका छन् । तीन महिना अघि भएको निर्वाचन अघि सम्म नेतृ सुकी राजनीतिक बन्दीका रुपमा थिइन् भने उनको पार्टी समेत प्रतिवन्धीत रहेको थियो ।