जापानमा मध्यरात ७.१ को शक्तिशालि भूकम्प, कम्तिमा एकको मृत्यु(UPDATE)

Posted on: May 02, 2016 | views: 822

४ बैशाख, टोकियो ।
हिजो मात्र ६.४ रेक्टर स्केलको दुई शक्तिशाली भूकम्प गएको जापानमा आज फेरी ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

जापानको भूकम्प मापन केन्द्र जापान मेटोलोजिकल एजेन्सीका अनुसार भूकम्पको केन्द्र कुमामोतो केन क्षेत्र रहेको छ । भूकम्पले पारेको असर र क्षतिको बारेमा विवरण आउन बाँकी रहेको छ ।

मध्यरात १ बजेर २५ मिनेटमा गएको भूकम्प पछि कुमामोतो केन कुमामोतो चिहो क्षेत्रका सर्वसाधारण घर छाडेर बाहिर निस्किएका छन् ।

हिजो मात्र जापानको क्युसु क्षेत्रलाई केन्द्र बनाएर गएको पहिलो ६.४ रेक्टर स्केलको भूकम्पको धक्का र त्यसपछि पराकम्पन सोही मात्राको सहित दुई दर्जन बढी पराकम्पन गइरहेको समयमा आएको अर्को शक्तिशालि भूकम्प पछि जापानको जनजीवन थप सतर्क बनेको छ ।

हिजो गएको भूकम्पमा परि कम्तिमा ९ जनाको मृत्यु र १ हजार बढी व्यक्ति घाइते भएको जापान सरकारले बताएको छ । मृत्यु हुने सबै जापानी नागरिक रहेका छन् । झण्डै ५० हजार बढी व्यक्तिले गएको रात घर बाहिर भूकम्प प्रभावितहरुलाई बनाइएको अस्थायी टहरामा रात बिताएका थिए । कतिपय आजपनि घर बाहिर नै रहेका छन् ।

हिजो गएको भूकम्पको असरबाट कोही पनी नेपाली हताहती नभएपनि एक जना सामान्य घाइते भएको र क्यु क्षेत्रमा सञ्चालित नेपालीहरुको रेष्टुरेण्टमा क्षती पुगेको एनआरएन जापानका अध्यक्ष सुदन थापाले जानकारी दिएका छन् ।

UPDATE
 

भूकम्पपछि कुमामोतो क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । जापानी अधिकारीहरुले माइक तथा रेडियो, टेलिभिजन र मोवाइलमा सन्देश पठाएर समुन्द्र नजिकका बासिन्दालाई तत्काल सो क्षेत्रबाट हट्न भनेको छ । मध्यरातको समयमा भूकम्प गएकाले थप विवरणहरु आउन बाँकी रहेको छ ।

यद्यपी भूकम्पको केही ठाउँमा भौतिक क्षति पुगेको जानकारी आएपनि मानवीय क्षतिको विवरण नआइसकेको जापानमा विभिन्न अनलाईनहरुले लेखेका छन् ।

यस्तै ७.१ रेक्टरको शक्तिशालि भूकम्प पछि यस क्षेत्रमा थप ६, ५ र ४ रेक्टर स्केल र सो भन्दा तलका एक दर्जन बढी पराकम्पनहरु डेढ घण्टाको बिचमा गएका छन् । यस्तो पराकम्पन जाने क्रम जारी रहेको भन्दै जापानी अधिकारीहरुले सुरक्षित रुपमा घर बाहिर रहन कुमामोतो र आसपासका नागरिकलाई आग्रह गरेका छन् ।

UPDATE

नेपाली राजदूतावास सक्रिय, समस्या परे खवर गर्न अनुरोध
हिजो क्युसु क्षेत्रमा गएको भूकम्प लगत्तै नेपालीहरुलाई समस्या परेमा सहयोगको लागि खवर गर्न आग्रह गरेको जापानको राजदूतावासले मध्यरात भएपनि आज गएको ७.१ रेक्टरको भूकम्प लगत्तै कुनै समस्या परेमा दूतावासमा सम्पर्क राख्न आग्रह गरेको छ ।

जापानका लागी कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले मध्यरात टपनेपालन्युजडटकमसँग कुरा गर्दै शक्तिशालि भूकम्पबाट जापानमा रहेका नेपालीहरु कुनै समस्यामा परेको भए दूतावासमा सम्पर्क राख्न आग्रह गर्नुभएको छ ।
साथै कावा राजदूत राजभण्डारीले जापानलाई परेको यो प्राकृतिक विपत्तिको घडिमा नेपाल साथ रहेको बताउनुभयो ।

शनिवार शुक्रबार छोएपनि मध्यरात गएको भूकम्पपछि नेपाली राजदूतावासले आफ्नो फेसबुक मार्फत जापानमा रहेका नेपालीहरुलाई कुनै समस्या परेको भए दूतावास वा गैर आवसिय नेपाली संघ एनआरएन मार्फत पनि सहयोग माग्न आग्रह गर्दै यस्तो लेखेको छ...

भर्खरको अपडेट अनुसार जापानको कुमामोतोमा 7.1 रेक्टर स्केलको भुकम्प गएको र सो को कारण सुनामीको खतरा देखिएको जानकारी प्राप्त भएको छ । त्यस क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली सकुशल हुनुहुन्छ भन्ने कामना गर्दछौं । साथै, सबैजना होशियार भई केही परेमा एन अार एन तथा दुतावासमा सम्पर्क गर्न हुन अनुरोध छ ।-Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館

सुनामीको चेतावनी फिर्ता, कम्तिमा एक जनाको मृत्यु

यसैबिच ७.१ रेक्टर स्केलको भूकम्पपछि जारी गरिएको सुनामीको चेतावनी झण्डै २ घण्टापछि जापान सरकारले फिर्ता लिएको छ । सुनामीको खतरा टरेको जापानी अधिकारीहरुले बताएका छन् ।

यसैबिच भूकम्पमा परि कम्तिमा एक जनाको मृत्यु भएको खवर बाहिर आएको छ । तर मृत्यु भएका व्यक्ति तथा अन्य विवरण भने सार्वजनिक भएका छैनन् ।
थप विवरणहरुको लागि टपनेपालन्युजडटकम वेवसाइट र हाम्रो फेसबुकपेज लाईक गरेर फलो गर्दै रहनुहोला ।