जापानमा भूकम्पमा परि कम्तिमा ९ को मृत्यु, हजार बढी घाईते

Posted on: May 03, 2016 | views: 424

मदन पाठक-३ बैशाख, टोकियो ।
जापानको क्युसु क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पमा परि कम्तिमा ९ जनाको मृत्यु भएको छ । भूकम्पमा परि ७ सय ६५ जना घाईते भएका छन् भने केहीको अवस्था गम्भिर रहेको छ ।

६.४ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएका पराकम्पनका मासिकि कुमामोतो क्षेत्रमा केही घरहरु ढल्नुका साथै आगलागी समेत हुन पुगेको छ । सरकारले घाइते भएर अस्पताल लैजानुपर्नेगरि ७६५ जना भएपनि सामान्य घाइते समेत गरि १ हजार बढी घाइते भएको जनाएको छ ।

जापानी समाचार संस्था एनएचकेका अनुसार बिहिबार राती ९ बजेर ३१ मिनेटमा आएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्का पछि मध्यरात पुन सोही मात्राको पराकम्पन गएको छ ।

 

पहिलो भूकम्पपछि आएका पराकम्पनले बढी असर पारेको समाचारमा जनाइएको छ । भूकम्पका कारण विद्युत सर्ट भई क्युसु क्षेत्रको एक घरमा आगलागी भएको थियो भने पहिलो भूकम्पपछि मृत्यु नभएपनि घाइते भएका खवरहरु बाहिर आएका थिए ।

६.४ रेक्टर स्केलको भूकम्पको धक्का गएपनि भूकम्पको केन्द्रविन्दु स्थल नजिक ७ रेक्टर स्केलसम्मका अधिकतम धक्का महशुस गरिएको एनएचकेले प्रशारण गरेको छ ।

भूकम्पको धक्का र लगातार शुक्रबार बिहान ५ बजेसम्म आएका पराकम्पनका कारण दशौंहजार व्यक्तिले घर बाहिरै रात विताएका छन् ।

जापानटाइम्स अनलाईनका अनुसार आज बिहानसम्ममा ४४ हजार ४ सय व्यक्तिले विभिन्न स्थानमा सरकार तथा समुदायस्तरमा खडा गरिएका सुरक्षित केन्द्रमा आश्रय लिएका छन् ।

कुमामोतो अस्पतालका अनुसार २ सय ८० व्यक्ति गम्भिर घाइते छन् र उनिहरुको उपचार भइरहेको छ । घाइते भएकाहरुको स्थानिय तीन अस्पतालमा उपचार भइरहेको छ ।


जापानी प्रधानमन्त्री सिन्ओ आवेले भूकम्पपछि तत्काल उद्धार र भूकम्पले पारेको असरका बारेमा जानकारी माग गरेका छन् । उनले राष्टिय आपतकालित केन्द्रलाई उद्धारमा खटिन निर्देशन दिएका छन् ।

भूकम्प पछिको क्षति र अवस्थाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जापानका प्रतिरक्षामन्त्री जेन नाकातानीका अनुसार ३ सय ५० बढी सैनिकलाई उद्दारको लागी खटाइएको छ । साथै आवश्यकता अनुसार उद्धारको लागि हेलिकोप्टर र आवश्यक प्रवन्ध मिलाउन भनिसकिएको छ ।

पहिलो भूकम्पको धक्का पछि ६.४ कै पराकम्पन मध्यरात १२ बजेर ७ मिनेटमा जाँदा स्थानियमा थप भय पैदा भएको थियो । सरकारले भूकम्पपछि त्यस क्षेत्रमा सुरक्षित रहने स्थान र उपायहरु सञ्चारमाध्यम मार्फत लगातार प्रशारण गरिरहेको छ ।

भूकम्पमा परि मृत्यु भएको खवर हालसम्म ९ जनाको भएपनि घटनाको स्पष्ट र सबै जानकारी रातीको समयमा भएकाले नआइसकेको र संकलन कार्य भइरहेको प्रतिरक्षा मन्त्रालयले जनाएको छ ।

भूकम्पका कारण तत्काल सुनामी वा ज्वालामुखीको कुनै सम्भावना नरहेकाले शान्त र संयम रही उद्दार र पूर्ववत रुपमा काममा फर्कन जापान सरकारले आग्रह गरेको छ ।