‘बलात्कार पीडित’ र ‘डाक्टर’ ले पाउने भए नोबेल शान्ति पुरस्कार

Posted on: October 07, 2018 | views: 415

काठमाडौ ।  सपना आफैमा ठूलो वा सानो हुँदैन । मानिसले सोच्छ कसरी त्यसैमा भर पर्छ सपनाको आकार । गम्भीरतापूर्वक लिए त्यही जीवन हुन्छ, सामान्यतया लिए घटनामै सीमित हुन्छ सपना । त्यही घटनामा नै सीमित हुने सपना पनि कसैले चुडिदियो भने के होला जीवन ?

एउटा सपना थियो इराकी बालिका नदिया मुरादको पनि । सके इतिहासको शिक्षिका बन्ने, नसके ब्युटी पार्लर खोल्ने । तर, त्यही सपनाको संसारलाई पनि इराकको एउटा सानो गाउँमा मध्यपूर्वमा चलेको धार्मिक सशस्त्र युद्धले खरानी पारिदियो । त्यही युद्धमा सपनासँगै मुरादको सिँगो परिवार र व्यक्तिगत जीवन जलेर सकिए । अनि, सुरु भयो उनको जीवनको नयाँ अध्याय ।

दक्षिणी इराकको सानो गाउँ कोचोको एउटा गोठाले किसान परिवारमा जन्मिएर हुर्किन्, नदिया मुराद । याजिदी धार्मिक समुदायको त्यो परिवारमा भाइबहिनीसँग सुख सयलको जिन्दगी चलिरहेको थियो उनको ।

मध्यपूर्वमा धार्मिक द्वन्द्व चलिरहेको थियो । नदिया भर्खर २१ वर्ष पुगेकी थिइन् । १५ अगस्ट २०१४ को एक दिन, विद्रोही पक्ष ‘इस्लामिक स्टेट’का लडाकुहरुले गाउँ पसे । बस्ती नै सखाप हुने गरी आम नरसंहार मच्चाए । उनीहरुले वृद्ध मान्छेहरुलाई धर्म परिवर्तन गर्न जबर्जस्ती गरे । नमान्नेको जीवनलिला समाप्त पारिदिए । युवालाई आफ्नो युद्धमा सँगै हिडाले र युवतीलाई ‘यौन दाष’ बन्न बाध्य पारे । उनीहरुले नरसंहारमा नदियाका ६ जना दाजुभाइ मारिदिए र आमाको पनि कत्लेआम गरे । तर, नदियालाई मारेनन् । उनी मात्रै होइन, अरु हजारौँ युवती पनि बाँचे । उनीहरु बाँचेनन् मात्रै जीवनको नयाँ यात्रा पनि त्यहीँबाट सुरु गरे । नदिया र अरु हजारौँ याजिदी युवतीहरु युद्धरत क्षेत्र मोसुल लगिए र यौन दाष बन्न बाध्य पारिए ।

उनलाई लडाकुहरुले बन्दी बनाए । कुटपीट गरे । पटकपटक बलात्कार गरे । उनका अरु साथीसंगीलाई त्यस्तै व्यवहार मोसुलमा भइरहेको थियो । हरेकलाई आफ्नो जीवनको आघात माया थियो । घर र परिवार त सखाप भइसकेको थियो तर, जीवनको आशा भने बाँकी नै थियो । जलेर खरानी भइसकेको पारिवारिक संसारलाई बिर्सिएर नदियाले एक दिन इस्लामिक लडाकुहरुबाट स्वतन्त्र हुने योजना बनाइन् । नदिया इस्लामिक स्टेटको कब्जाबाट भागेर सहरको एउटा सुन्नी मुस्लिम परिवारको शरणमा पुगिन् । त्यही मुस्लिम परिवारको जेठो छोराले उनको जीवन रक्षाका लागि खतरा मोले । र उनी बाच्न सफल भइन् । यसको बारेमा नदियाले आफ्नो पुस्तक ‘द लास्ट गर्ल’मा प्रशस्तै उल्लेख गरेकी छन् ।

आज, नदियाको कहानी ‘इस्लामकि स्टेट’को क्रुरताको साक्षी बनेको छ । बलात्कारबाट बाँचेको एउटा शरणार्थी जीवनले सारा दुनियाँलाई याजिदी बस्तीमा चलेको नरसंहारप्रति ध्यान आकर्षण गर्न बाध्य पारिदिएको छ । नदियाको कहानीले यतीबेला मध्यपूर्वको द्वन्द्वमा हराएको एउटा देशप्रतिको प्रेम, त्यो देशका कमजोर समुदायको अवस्था र युद्धले छुटिएको परिवारको वास्तविकतालाई प्रतिबिम्बित गरेको छ । नदिया भने यतीबेला द्वन्द्वमा यौन हिंसाको सिकार भएका महिलाको अधिकारको पक्षमा लडिरहेकी छन् ।

दयाले बनेका डाक्टर

मध्य अफ्रिकी मुलुक कङ्गो वर्षौँदेखि गृहयुद्धको चपेटामा छ । डा. डेनिस मुकवेगेका पिता प्रोटेस्टेन्ट समुदायका पादरी थिए । मुकवेगे बालापनमा पितासँगै टोलटोलमा बिरामी भेट्न जान्थे । भेट्न गएका बिरामीहरुको अवस्था देखेपछि उनलाई लाग्थ्यो ‘म डाक्टर बन्छु ।’

नभन्दै पछि उनले चाहेको मेडिकल शिक्षा लिन उनकै स्विडीश पेन्टेकोस्टल मिसनले सहयोग गर्‍यो । उनले चिकित्सा पढ्ने अवसर पाएपछि स्त्री रोगका बारेमा अध्ययन गर्ने निर्णय गरे । उनको संस्था पान्जी फाउन्डेसनको वेबसाइटमा लेखिएको छ ‘त्यो निर्णय पनि उनले स्थानीय लेमेरा अस्पतालमा अपर्याप्त औषधोपचारका कारण बच्चा जन्माउन नसकेका महिलाहरुको खराब हालत देखेपछि लिएका थिए ।’

उनले स्त्री रोगको बारेमा अध्ययन सकाएपछि सन १९९९ मा स्त्री रोग तथा प्रसुतीसम्बन्धि उपचार गर्नुका साथै मातृ शिसु हेरचाह गर्ने उद्देश्यले एउटा क्लिनिक खोले । त्यही क्लिनिकबाट डाक्टर मुकवेगे र उनको टिमले अहिलेसम्म करिब ५० हजारभन्दा बढी यौन हिंसामा परेका महिलाहरुको उद्धार गरेको छ । उनको अस्पतालले बलात्कारपछि आवश्यक शारीरिक उपचार मात्रै होइन कानुनी, र सामाजिक तथा मनोवैज्ञानिक सेवा समेत निःशुल्क उपलब्ध गराइरहेको पान्जिको वेबसाइटमा उल्लेख गरिएको छ ।

‘डाक्टर मुकवेगेलाई गृहयुद्धले थिलथिलो बनेको कङ्गोका राज्य र विद्रोही कुनै पनि पक्षसँग डर थिएन । किनभने, उनले दुवै पक्षका द्वन्द्वका यौन हिंसा पीडितलाई उत्तिकै समान व्यवहार गरेका थिए’ भन्ने उनको संस्थाको दाबी छ ।

तर, सन २०१२ को अक्टोबरमा डा. मुकवेगे र उनको परिवारमाथि हत्या प्रयास भयो । उक्त घटनामा जोसेफ बिजिमाना नामका उनका एक जना विश्वसनिय साथी र सुरक्षा गार्डको गोली हानी हत्या भयो ।

त्यो घटना उनले देशमा जारी १६ वर्ष लामो गृहयुद्धको निन्दा गरेर संयुक्त राष्ट्र संघको एउटा कार्यक्रममा भाषण गरेको केही हप्तापछि भएको थियो । कङ्गोमा असुरक्षा बढ्दै गएपछि डा. मुकवेगे र उनको परिवारले देश छोड्ने निर्णय ग¥यो । तर, उनले उपचार गरेका हजारौँ बिरामी र सहयोगीहरुले उनलाई फेरि कङ्गो फर्केर जीवन बचाउने कार्यमा लाग्न आग्रह गरे । सन २०१३ मा वातावरण सहज बनेपछि उनलाई कङ्गोमा हजारौँ समर्थकहरुले भव्य स्वागत गरे ।

उनले देश छोडेको कठिन समयमा पनि मानव अधिकारकर्मी चिकित्सकहरुसँग मिलेर कङ्गोको गृहयुद्धमा यौन हिंसा पीडितलाई सेवा दिइरहे । डाक्डर मुकवेगे अहिले पनि ‘द्वन्द्वमा लैंगिक हिंसा र बलात्कार रोक्ने अन्तर्राष्ट्रिय अभियान’को सल्लाहकार समितिमा छन् । उनले ‘सशस्त्र द्वन्द्वमा यौन हिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्यका लागि गरेको प्रयत्न’का लागि धेरै अवार्डहरु प्राप्त गरिसकेका छन् ।

नोबेल शान्ति पुरस्कार वर्ष २०१८

वर्ष २०१८ को नोबेल शान्ति पुरस्कार यतीबेला यौन हिंसाविरुद्ध काम गरेका यिनै दई जना अभियन्ता नदिया मुराद र डा. डेनिस मुकवेगेले संयुक्त रुपमा प्राप्त गरेका छन् । ‘सशस्त्र द्वन्द्वमा यौन हिंसालाई हतियारका रुपमा प्रयोग गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रयत्न गरेकोले’ पुरस्कार दिने निर्णय गरेको नर्वेजियन समितिको पुरस्कार घोषणामा उल्लेख गरिएको छ ।

उस्तै कार्य तर, फरक जीवन र भोगाई बटुलेका दुई फरक मुलुकका यी सामाजिक अभियन्ताको यात्रा अहिले विश्व चर्चित ‘नोबेल शान्ति पुरस्कार’सम्म पुगेको छ ।

र नेपालमा

नेपालमा पछिल्लो समय दैनिक हुने महिला हिंसा र बलात्कारका घटनाको तथ्याङ्क डरलाग्दो छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डले अहिले नेपाली समाज आक्रान्त बनेको छ । करिब तीन महिना पुग्नै लाग्दा पनि बलात्कारी हत्याराको पत्ता नलाग्नु र दिनानुदिन बढी रहेको एसिड आक्रमण र महिला हिंसाका घटनाले डर लाग्दो सामाजिक चित्र प्रस्तुत गरिरहेको छ । नेपाली समाज र राज्यले पनि अब ‘नोबेल शान्ति पुरस्कार’बाट केही सिक्न सकिन्छ कि !