जापानमा ज्वालामुखी विस्फोट, एकको मृत्यु कम्तिमा १२ जना घाइते

Posted on: January 23, 2018 | views: 6685

टोकियो ।
जापानको गुन्मा प्रान्तमा मंगलबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटबाट गएको हिमपहिरोमा परी कम्तिमा एक जनाको मृत्यु भएको छ ।

हिम पहिरोमा परेर १२ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भिर रहेको छ । केही व्यक्ति हराइरहेको आशंका गरिएको जापानी संचार माध्यमहरुले उल्लेख गरेका छन् ।


२१६० मिटरको ज्वालामुखी कुसात्सु शिराने मंगलबार विहान विस्फोट भएको जापानी मौसमविज्ञान विभागले बताएको छ । अझै पनि विस्फोट हुनसक्ने र विस्फोटनबाट चुचुरोबाट २ किमिसम्म चट्टान खस्न सक्ने विभागले चेतावनी जारी गरेको छ ।

हिमपहिरो ज्वालामुखीको कारण भएको पुष्टि भएको छैन तर दुवै एकपछि अर्को निरन्तर भएका थिए ।
पुरिएकामध्ये ६ जना जापानको सेल्फ डिफेन्स फोर्सका सदस्य रहेका छन् । उनीहरु तालिम गर्ने क्रममा पुरिएको रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले बताएका छन् ।

घाइते सवैको उद्धार गरिएपनि गम्भिर एकको उपचारका क्रममा निधन भएको बताइएको छ । ज्वालामुखीय चट्टानले चोट लागेर कम्तिमा १२ जना घाइते भएको जापानी सञ्चार माध्यम जापान टाइम्सले उल्लेख गरेको छ ।

एनएचके टेलिभिजनले दुइजना गम्भिर घाइते भएको र तीन जनालाइ गम्भिर चोटपटक लागेको उल्लेख गरेको छ । एसडिएफका सदस्य लगायत हिमपहिरोमा पुरिएकाहरुलाइ उद्धारकर्ताले बाहिर निकालेका थिए ।

जापानमा ११० वटा सक्रिय ज्वालामुखी रहेको र पछिल्लो पटक २०१४ सेप्टेम्बरमा विशाल विस्फोटन हुदा ६२ जनाको मृत्यु भएको थियो ।