पुर्ख्यौली टेन्सन -गोकर्ण अधिकारी

Posted on: May 02, 2016 | views: 836

जापान आएको करिव तीन महिना पछि मन छुने गरि केही लेख्न मध्यरात जुरेको शब्द हो 'पुर्ख्यौली टेन्सन' । दाजु प्रल्हादसिंह महत र उहाँको साथिबाट ।

भाषागत कठिनाई, सिपमा अर्धदक्ष हुँदा भोगेको कठिनाईसँगै म यो तीन महिना म सँगै रहेका त्यस्ता अनगिन्ति पुर्ख्यौली टेन्सनका खातहरुले कत्ति... रोएं । सायद मातृभूमि बाहिर म जस्तै तमाम प्रवासी नेपालीले भोगेको पिडा हुनुपर्छ यो ।
घर, समाज र देशको पुर्ख्र्यौली टेन्सनका खातहरुले थिचोरेर आँशुका घुट्काहरु पिउने बानि हुँदो रहेश पर-देशमा ।

हाम्रा पुर्ख्यौली टेन्सन

मेरो हजुरबा त मैले देख्न पाईन । हजुरआमाको त्यो छहारी र त्यो चाउरिएका हातको ममता कहिल्यै स्पर्श गर्नै पाइन ।
त्यसमाथि आफु केही गर्न सक्छु भन्ने आँट पलाउँदै गर्दा भएको मातृ वात्सल्य समेत गुमाउन पुगेको मैले त्यसपछि बल्ल पुर्ख्यौली टेन्सन का खातहरुको भेउ पाएं ।

मेरो हजुरबा ऋणको त्यो खात पल्टाउँदा पल्टाउँदै अल्पायुमै परमधाम हुनुभयो । मेरा बा बेला बेलामा भन्ने गर्नुहुन्छ ब्रतबन्ध मात्र गरेको मैले त्यतिखेर कसरी सम्हालिएर गृहस्थी सम्हालें तिमिहरुलाई त्यो दुख के था ? त्यसमाथि बाउ मरेको किरिया खर्च समेतको ऋण थाप्लोमा परेको थियो ।

हजुरबाले आफुले बोकेको ऋण सँगै आफ्नो मृत्युको त्यो ऋण थपेर दिनुभएको नासो मेरो वुवाले जेनतेन तिरि नसक्दै हामी परिवारमा सात जना पुग्यौं ।
आमा भित्रिएपछि थपिएका तीन छोरी र दुई छोराको कर्ममा उहि पुर्ख्यौली टेन्सन बने हुर्काउने, बढाउने, पढाउने र ठूलो मान्छे बनाउने सपना ।

आफ्ना सपना र आकांक्षाहरुलाई मैन जस्तै बनेर पगाल्दै र आफुलाई सिध्याउँदै गएकी मेरी आमाको त्यो ममता त्यतिखेर सम्म मैले कहिल्यै अनुभुत हुनेगरि चिन्न सकिन जतिखेर अस्पतालको शैइ्याबाट अन्तिम पटक आमा म तिर बलिन्द्र धारा आशुँ बहाउँदै हेरिरहनुभएको थियो ।

पुर्ख्यौली टेन्सनको त्यो सागर बाबाको भाग समेत खोसेर आफुले लिनुभएकी आमा बित्नुभएपछि एकैपटक त्यो खात बा माथि पर्यो ।
सँगै विस्तारै केही दिंदै र केही लिंदै मैले बोकिरहेछु र थप्दैछु पुर्ख्यौली टेन्सनका खातहरु ।

सायद बा ले उतिबेला उहाँ म जत्रो हुँदा यस्तै टेन्सन लिनुभएको थियो होला । जुन हामीलाई नागरिक भएर साझा रुपमा पुर्ख्यौली टेन्सन नासोको रुपमा मिलिराखेको छ ।

बा को राजनीति प्रतिको अहिलेको चेतले पनि म ठम्याउन सक्छु अहिले केपी ओलीले भारतसँग बिजुली किन्ने सम्झौता गरेको राम्रो खवर सुनाएपनि केही महिना बिजुली किनेर बर्षभरीको पोल गाडेका ठाउँहरुको भाडा तिर्नुपर्ने गाँठी कुरालाई उहाँ आफ्नै ढंगले अन्दाज गर्नसक्नुहुन्थ्यो ।
टनकपुर, महाकाली बेच्ने बापती जिउँदा लाश र लाउडा देखी सुस्तासम्म सखाप पारेका मरेका लाशहरुले थुपारेको पुर्ख्यौली टेन्सन मेरै बा को यौवन कालमा भएको हो ।

घाँडो बनेको एउटा धुर्त छली छिमेकीले मेरो बा को पुस्तालाई यौवन कालमा नाकाबन्दीले टेन्सन दिलाएको थियो भने म त्यही पुर्ख्यौली टेन्सन आत्मसाथ गर्दै अहिले उस्तै नाकाबन्दीका रुपहरु झेलिरहेको छु । मुर्त, अमुर्त ।

हजुरबा लाई जिजि बाउले पुर्ख्यौली टेन्सनको रुपमा के के सुम्पेर गए ठोकुवा गरेर भन्न नसकेपनि मलाई थाहा छ मेरा बालाई उहाँले जे छाड्नुभयो उहि बोक्नुभएको थियो । त्यसको मात्रा फरक भएपनि ।
जुन मेरा बाले केही कुरा घटाएर केही थपेर अब मलाई किस्ता किस्तामा सुम्पँदै गइराख्नुभएको छ ।

पुर्ख्यौली टेन्सन हाम्रो लिखित अलिखित भागको पुस्तान्तरण हो । जुन केही हामीले भूमि, भूगोल लगायतले स्वत पाएका छौं भने केही लिखित रुपमा थोपरिँदै र थपिँदै गइरहेको छ ।

नालापानी देखी काला पानीसम्म सम्म आइपुग्दा बिरहरुका रगतले रक्त रञ्जित भएर सिमा हुँदै शिरमाथि थोपरिएका हाम्रा पुर्ख्यौली टेन्सन त्यसपछि घट्नुपर्नेमा बढ्दो छ ।

राम्रो संगित निकाल्ने लोभमा बाँदरले गाईनेका बाजा खोस्दै धुन चाखे जसरी राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रका अनेक व्यवस्था चाख्न लगाइंदै हामीमाथि निरन्तर टेन्सन थोपरिँदै आइएको छ । एउटै पुर्खाका साशकहरुले । राणा, शाह, कोइराला र यिनकै पुस्ताले ।
फरक यत्तिहो यि पुर्खाको घेरामा कहिले नेपाल त कहिले देउवा, कहिले दाहाल त कहिले भट्टराई, अनि कहिले खनाल, चन्द र विष्टहरुसँगै घेरामा महतो, झा, यादव, कर्ण र मण्डलहरु कहिले दरवार त कहिले सिमा पारिका मण्डले बनेर मडारिरहेछन् ।

कस्तो बिडम्वना देश हाँक्ने नेताको ठाउँमा देश ताक्ने बैरीलाई नै देश बेच्न खोज्ने डाँकाहरु पटक पटक साशक बनिरहन्छन् ।
छाप लगाएर गलहत्याइएका भ्रष्टहरु नेता बनेर उदाइरहन्छन् । सिमा चिथोर्दा छेक्ने भन्दा परायाका पाउ सेक्ने शरमखोरहरु अनेक रुपमा उदाइरहेछन् ।

कस्तो टेन्सन् शासकले राम्रो त गर्दैन तर नराम्रो नगरिदिए मात्र पनि खुशी हुनुपर्ने बाध्यतामा हुन्छौं हामी, जहिले पनि ।
यति नालायक शासक सायदै होलान् धरतीमा, जसले देश घात गर्छ भन्ने डर हरेक पल नागरिकमा भइरहन्छ ।

कहिलेसम्म यस्तो र यस्ता खालको पुर्ख्र्यौली टेन्सन बोकिरहनु पर्ला हामीले । सम्झँदा मात्र पनि टेन्सनले रिंगटा लागेर आउँछ ।

विदेशका विकास र प्रविधि हेर्यो हामी कति पुछारमा छौं सम्झेर भकानो फुट्छ ।
तर त्यहि विकास देखेर बखान गाउने भेँडाका बथान भन्दा अधकल्चो हाम्रो नेतृत्व फगत भाषण बाहेक कहिल्यै कामै गर्दैन ।

मैले बुझाएको कर बटुलेर लाख बार बुट बजार्दा केही लाखको बाटो खनिँदा उसैको घरबारी बेचेर दयाले दिएजसरी एउटा नेता आएर मेरो पहलमा ल्याएं भनेर भाषण गर्दा तालि पिट्नुपर्ने यो कस्तो प्रजातन्त्र र विकास भिरिरहेका छौं ।

हजुर बा मान्छे मरे पनि आत्मा मर्दैन भन्छन् आत्मा जिउँदो छ भने यो नाति तपाईको उही पुर्ख्र्यौली टेन्सन अझै बोकिरहेछ । खोरिया देखी खाडी र पर देशहरुमा ।

तल्लो बारिका सुर्काहरु बाँझा रहलान् भन्ने तपाईको समयको टेन्सन् अहिले मुर्त बनेको छ हजुरबा ।

पुर्ख्र्यौली टेन्सन सम्पत्तीमा पाएर थैलीमा ढोकाको साँचो कसे जसरी आफुलाई चितासम्म कस्ने बेलामा पनि तपाईले सन्तानको मायाँ र भविष्यका लागि आफुलाई जलाउनुभएको उहि टेन्सन अब तपाईको बुहारीको काँधमा पर्दैछ आमा ।

हो आमा उमेरमा पढ्ने रहर मार्नु परेपनि प्रौढ हुँदा अक्षर चिनेर धोको मेट्नु भएजस्तै अब तपाईकी बुहारी पढेको र पढ्ने रहर भएका सपनाहरु दराजको एउटा तखतामा थन्काएर तपाईले जस्तै सन्तानका सपनाहरुलाई साँचेर परभुमिमा पस्दैछे, एउटा पुर्ख्र्यौली टेन्सनको रुपमा आर्थिक बोझ छिचोल्न ।

दाजु अरब भासिँदा भत्किएको मेरो देश प्रेम आफैं पर देश पस्नुपर्दा कत्ति रोएको होला आमा । भूकम्पले भत्काएको घर, बुढेसकालमा सुखले बाच्ने बुवाको रहर र आकांक्षा पुरा गर्नु पुर्ख्र्यौली टेन्सन नभई कर्म बन्न पुगेको छ मेरो ।

२० बर्षे जीवनकालमा मैले पढेका पढाईका प्रमाणपत्र, प्रमाणपत्रको रुपमा हैन मैले मेरा सपनाहरु देशमा असरल्ल छाडेर पर देश आएको छु । जुन मेरो देशमा लाखौं म जस्ता युवाहरुले छाडेका र छाडिरहेका छन् ।

हो आमा म देश बनाउँछु भनेर कुनै समय झण्डा बोकेर जिन्दावाद र मुर्दावादमा हिँडेको मान्छे अहिले आफैंलाई बनाउन नसक्दा लक्ष्यबाट बहकिन पुगेको छु ।

हामीलाई स्वत प्राप्त पुर्ख्यौली टेन्सन र थपिएका अनगिन्ति टेन्सनको भारी मैले मेरो देश सम्झेर सँगै परदेश ल्याएको छु ।

तपाईले औंलाको कापबाट हेर्दै पुज्ने त्यही सुर्य र पुज्ने त्यही तुलसीको मोठलाई साक्षि राखेर मैले तपाईको हातले दिनहुँ छुने गरेको पवित्र माटो कसम बनाएर परदेश सँगै ल्याएको छु आमा ।

आपतमा जतिनै आत्तिए पनि म मेरो पुर्ख्र्यौली टेन्सन मात्र हैन आमा, मेरो देशमाथि थोपरिएको ति तमाम टेन्सन हटाउन आफ्नै देश जानेछु । जहाँ मैले तपाइको औंला समाउँदै ताते सिकेको थिएं ।

आफुले हुर्काएर पहिला बाबा भन्न सिकाउनु भएको तपाईको त्यो महानता र दुधको भारा तिर्न पनि मैले पर देश छाड्नै पर्छ ।

हुर्काउने, बढाउने, पढाउने र सक्षम बनाउने मेरो पुस्ताले बोकेको सपनाहरुको पुर्ख्र्यौली टेन्सन मेरै जीवन कालमा हटाउनुछ ।
अरु त के छ र नराम्रो छान्न पो मुश्किल हुन्छ नराम्रोको हुलमा राम्रो छान्न बेर लाग्ने छैन आमा ।

सपनाहरु देखाउँदै सपनाकै व्यापारमा भूलाइएको हाम्रो पुस्ता अब सचेत र सक्षम बनेको छ पर बैरीले दिएका टेन्सन र आफ्नाले थोपरेका पुर्ख्यौली टेन्सनका खातहरु हटाउन ।