स्रष्टा, सिर्जना र प्रतिरोधका स्वरहरू -खेम थपलिया

Posted on: May 24, 2017 | views: 353

नेपालका जनपक्षीय स्रष्टाहरू सुन्दर सपनाका निम्ति संसदीय दलाल पुँजीवादविरुद्ध सङ्घर्ष गरिरहेका छन् । संसारभर सपनाकै लागि असली सर्जकले प्रतिरोध गर्दै आएका छन् । स्रष्टा स्वप्न–हन्ताका विरुद्ध जाइलाग्छ । कवि पास सुन्दर सपनाका लागि लड्नुभयो । कवि इच्छुकले पनि सुन्दर सपनाका लागि उच्च सहादत स्वीकार्नुभयो । उहाँको प्रतिरोधको उच्चता निकै माथि छ ।

त्यसैले कवि दिनकरले भन्नुभएको सम्झना आउँछ, “कविता बौद्धिक प्रतिरोध हो ।” दलाल संसदीय सत्ताद्वारा लादिएको कथित स्थानीय निर्वाचनका क्रममा शासकद्वारा देशमा हत्या, आतङ्क, दमन, धरपकड, खानतलासी तीव्र पारिएको यतिबेला लेखक–साहित्यकारहरू पनि झन् प्रतिरोधी बनेका छन् । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताले त्यसको कडा मुकाबिला गरेका छन्, सशक्त प्रतिरोध गरेका छन् ।

यो अभियानमा सिङ्गो पार्टी–पङ्क्ति, देशभक्त तथा प्रगतिशील शक्ति एवम् आमूल परिवर्तनप्रेमी जनसमुदायको दृढतापूर्वक साथ–समर्थन रहेको छ । यसमा लेखक, साहित्यकार, कलाकार, बौद्धिक तथा प्राज्ञिक समुदायको हार्दिक ऐक्यवद्धतासहित अतुलनीय योगदान रहेको छ । सत्ताको रछ्यानमा उम्रिएको ‘प्रतिक्रियावादी दलाल संसदीय झारपात’ लाई ध्वंस पार्न एकीकृत जनक्रान्तिको कार्यदिशालाई अङ्गीकार गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनार्थ यसपटक सर्जकीय भूमिका मुखर भएको छ ।  

नेपालमा सर्जकहरूले साहित्यका माध्यमबाट लिच्छवीकालदेखि नै प्रतिरोधी चेतना मुखरित गर्न थालेका हुन् । सुगौलीसन्धि (सन् १८१६) पश्चात नेपाली राजनीतिमा तीव्र ध्रुवीकृत भएको ‘राष्ट्रवादी धारा’ र ‘राष्ट्रघाती धारा’ को प्रतिबिम्बन नेपाली कला–साहित्यको क्षेत्रमा पनि गहिरोगरी प¥यो । राणाशाहीविरुद्धको लेखकीय प्रतिरोधमा कृष्णलाल अधिकारी कहिल्यै नछुट्ने नाम हो । गोपालप्रसादले दिल्ली–सम्झौतालाई धोकापूर्ण ठान्दै ‘आमाको सपना’ कविता लेख्नुभयो । युद्धप्रसाद मिश्र ‘भोका र नाङ्गा उठ’ भन्दै कवितामा सामन्तवादका विरुद्ध यसरी जुर्मुराउनुभयो ः

खोक्रा पेट अनाज भेट नहुने भोका र नाङ्गा उठ

कोदाला उठ बन्चरा र हँसिया नाम्ला र डोका उठ

साहुका करकापका कठीनता भोग्नेहरू हो उठ

ताकेका जिमिदारले युवतीका लोग्नेहरू हो उठ ।

गोकुल जोशी, केवलपुरे किसान आदि स्रष्टाले पञ्चायती व्यवस्थाको व्यापक भण्डाफोर गर्नुभयो । केवलपुरे किसान २०४६ सालको सम्झौताप्रति सङ्केत कवितामा यसो भन्नुभयो ः

आउँदैन र सत्र साल निश्चित टुङ्गो क्यै छ

रक्सीचाहिँ गयो भनौँ बोतल बट्टा त्यै छ ।

माछो–माछो भ्यागुतो भन्दाभन्दै भ्यागुतो पो आयो

सहिदको त्यत्रो रगत भन्नुस् कसले खायो । 

यतिबेला पाब्लो नेरुदाको यो भनाइ निकै स्मरणीय हुन आउँछ, “मलाई अक्टोबरक्रान्तिले गहिरो निद्राबाट झक्झक्याइदियो ।” यो कुरा निकै महत्वकारी छ । हुन पनि हरेक क्रान्ति, वर्गसङ्घर्ष÷जनसङ्घर्षले जनपक्षीय स्रष्टाहरूलाई गहिरोगरी छुने गर्दछ । महान् अक्टोबर क्रान्तिदेखि चिनियाँ क्रान्तिसम्म पनि त त्यही भयो । नेपालको जनयुद्धको समयमा पनि त्यही भयो ।

अहिले कथित स्थानीय निर्वाचन खारेजी अभियानको सङ्घर्षको पनि यही कुरा लागू भएको छ । सतहमा हेर्दा नेकपाको नेतृत्वमा भइरहेको निर्वाचन खारेजी अभियान सामान्य परिघटना जस्तो लाग्न सक्तछ तर यथार्थमा यो क्रान्ति हो, वर्गसङ्घर्ष हो । यो अभियानमा सर्जकहरू आ–आफ्ना सिर्जनामार्फत प्रतिरोध मात्रै गरेका छैनन्, उनीहरू भौतिक रूपमा प्रतिरोध गरेका छन् । यही प्रतिरोधका कारण दलाल संसदीय सरकारले दर्जनौं कवि, लेखक–साहित्यकारलाई पक्राउ गरेर हिरासतमा राखेको छ । उसले वाक्–स्वतन्त्रता लुटेको छ; सामान्य प्रजातान्त्रिक र मौलिक अधिकार पनि खोसेको छ । झुट्ठा मुद्दा लगाइएको छ ।

सरकारले श्वेतआतङ्क मच्चाइएको छ, कलमलाई तोप र सिर्जनालाई बम देख्न थालेको छ, पत्रकारलाई भयानक सत्रु देख्न थालेको छ, जनतालाई ज्यानी–दुश्मन देख्न थालेको छ । यी र यस्तै यस्तै परिघटनाले प्रचण्ड र उनको नेतृत्वमा रहेको सरकारको दिवालियापनलाई राम्ररी नै उजागर गरिदिएको छ । दानवी कानुनका फलामे–साङ्लालाई चुँडाउन सङ्घर्षबाहेक अरू केही विकल्प छैन र हुँदैन पनि । मानिस किन ज्यानको बाजी राखेर सङ्घर्षमा होमिन्छ ? पुँजीवादी चमकधमकलाई च्यातचुत पार्दै मानिस किन सङ्घर्ष, बलिदान र मुक्तिको गीत गाउँछ ? केवलपुरे किसानले ‘सङ्घर्षको ठीक गर’ भन्ने गीत त्यत्तिकै गाउनुभएको थिएन ।

कवितासित मानिसको नजिकको साइनो हुन्छ । कविले समाजका प्रत्येक चीजलाई सूक्ष्म ढङ्गले हेरिरहेको हुन्छ । भियतनामी सर्जक फान न्छुआनले “कवितासँग मानिसको सबैभन्दा नजिकको नाता हुन्छ” भनेर यसै भन्नुभएको होइन । त्यही नजिकको साइनोले उसलाई छापामार हुन बाध्य बनाउँछ । त्यही नजिकको सम्बन्धले प्रतिरोधी बनाउँछ । त्यही नजिकको सम्बन्धले आगो र बारुदसित खेल्न मन पराउँछ । त्यसैले त जनयुद्धमा लेखक–कलाकारहरू छापामार हुनुभएको थियो, अहिले पनि योक्रममा भिन्न स्वरूपमा जारी छ । अनि त राजबहादुर कुँवर यसरी छापामारको काव्यिक–व्यञ्जना गर्न पुग्नुहुन्छ ः 

प्रत्येक मान्छेभित्र छापामार हुन्छ, छापामार

प्रत्येक छापामारभित्र मान्छे हुन्छ, मान्छे

छापामार नभई स्वाभिमानी मान्छे बाँच्नै सक्दैन

मूर्दाहरू मात्र छापामार हुन सक्दैनन्

लासहरू मात्र छापामार हुन सक्दैनन् ।

देशमा कथित स्थानीय निर्वाचनको नौटङ्की मध्यान्तरमा उभिएको छ । पहिलो चरणको खारेजी अभियानमा राज्यले नेपाल कम्युनिस्ट पार्टी नेता र कार्यकर्ताविरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । सरकारले केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज सन्देश पौडेल, वैकल्पिक केन्द्रीय सदस्यहरू नारायण महर्जन, मकर गुरुङ र जिल्ला इन्चार्ज तथा सेक्रेटरीहरू देवकला अधिकारी, लक्ष्मण उप्रेती, अर्जुन योगी, दीपक श्रेष्ठ, रविकिरण, नन्दलाल तिवारी, उदय राई, सागर तिमल्सिना, चन्द्र बुढा, राजन धनुके, गोकुल पराजुली, मोहन राई, हरिकृष्ण घिमिरे, दीपक श्रेष्ठ, उपत्यका ब्युरो सदस्य सुदर्शन मङ्गोलसहित सयौं नेता–कार्यकर्ता र जनतालाई गिरफ्तार गरेर यातना दिएको छ, बेपत्ता पारेको छ । सरकारी यो रवैया अझै तीव्रतामा बढिरहेको छ । 

सङ्घर्षका पनि आफ्नै पद्धति हुन्छन् । यसका आफ्नैखालका मूल्य पनि हुन्छन् । सङ्घर्षमा तिनको पालनाको अपेक्षा पनि गरिन्छ, जुन कुरा स्वाभाविक हो तर सरकारले अभियानका क्रममा केही आचश्चर्यलाग्दा घटना घटाएको छ । चितवन–खैरहनीमा आफ्नै घरमा मध्यरातमा सुतिरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीकी चितवन जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य सिसम शाहीलाई नाबालक छोराछोरी (सुजित १० वर्ष, सुवासना ४ वर्ष) सहित प्रहरीले छापामार शैलीमा गिरफ्तार गरेर मानसिक यातना दिइयो । त्यस्तै, सुनसरी–धरानमा सरकारले २ वर्षिया बालिका ग्रिसिका राईको बिचल्ली बनाइदियो ।

जब कलाकारसमेत रहनुभएका कमरेड सुरज राई र खड्कुमारी राईलाई सरकारले पक्राउ ग¥यो, तब सुरु भए ग्रिसिकाका दुःखका दिन । उनीहरूले बालिका ग्रिसिकाको अभिभावकत्वलाई कुनै मतलव गरेनन् । अन्ततः उनलाई पनि प्रहरी कार्यालयमा पु¥याइयो । यो दृश्यले जो कोही पनि एकपटक हृ्दय चस्स भएर आउँछ तर सरकारले यो कार्यलाई आफ्नो बहादुरी ठानेको छ । कैयौं ठाउँमा सामना सांस्कृतिक परिवारको साङ्गीतिक कार्यक्रम रोकियो ।

कलाकारहरूलाई धम्क्याइयो । अखिल नेपाल जनसांस्कृतिक महसङ्घका कतिपय कमरेडहरूलाई पक्राउ गरिएको छ, कतिपयलाई घर छोड्न बाध्य पारिएको छ, कतिपयलाई दुश्मनका आँखा छलीछली हिंड्न बाध्य पारिएको छ । यसरी सरकारले पूरै जनयुद्धकालीन झझल्को दिलाएको छ । सरकारले पूर्वदेखि पश्चिमसम्म यस्तै–यस्तै घटना घटाएको छ । राज्यले देशभर श्वेत–आतङ्क मच्चाएको छ । सरकारको पुनः एकपटक आफ्नो दलाली–फासीवादी असली चरित्र देखाएको छ । 

नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय निर्वाचन खारेजी अभियान घोषणा गरेपछि विभिन्न स्रष्टाहरूले सोही अभियानलाई सहयोग पुग्नेगरी साहित्यिक–सिर्जना गर्नुभएको छ । देवनारायण शाह लेख्नुहुन्छ ः

उठ जाग ओ भोकाएको बन्दी

अब तानौँ रातो तरबार

युद्ध अन्तिम दिऊँ ज्यान

बलिदान तिम्रो उच्च महान् । 

सामाजिक सञ्जालमा प्रतिरोधी रचना बाक्लै प्रस्तुत भइरहेका छन् । ती रचना निकै शक्तिशाली पनि बनेका छन् । संसदीय दल र तिनका नेताको नैतिक धरातललाई ती रचनाहरूले व्यापक भण्डाफोर गरेका छन् । जनताका प्रतिरोधी चेतना र दलालसत्ताका विरुद्ध गरिएका सशक्त प्रतिवादलाई पनि ती रचनाले बोलेका छन् । कवि नारायण नेपालको एक अंश हेरौँ ः

हिजो टाउको आज भोट सके जति ल्याऊ

मै हँु भन्ने कामरेडहरू रुखमा छाप लाऊ

बाँच्नेहरूले यस्तो गरे मर्नेले के पाए

फेरि पनि महान् भन्दै उनै यता आए ।

चुनाव लड्ने भोट छाडी पेस्तोल ताकाताक

रारागाउँ मुगुतिर पुलिसहरू गर्छन् भागभाग

कालिकोट भो रणमैदान राइफल तानातान भो

मकवानपुरको हाँडीखोला गोली हानाहान भो ।

जसले कुनै बेला क्रान्तिको नेतृत्व गर्नुभयो, उहाँले नै अहिले सबै कुरा पानीमा बगाइदिनुभएको छ । उहाँ निरन्तर कमजोर मात्रै बन्नुभएको छैन, उहाँँका हरेक कुराहरू पाखण्ड सावित बन्दै गएका छन् । यसले जनपक्षीय स्रष्टालाई नराम्ररी चिमोटेको छ अनि आस्था घिमिरे गजलमा यो भन्नुहुन्छ ः

सिद्धान्त र कार्यदिशा लुटाउनु कमजोरी थ्यो

जनताको पार्टी पहिल्यै फुटाउनु कमजोरी थ्यो

कहाँ जित हुन्छ अनि खोक्रो आदर्शले

दुश्मनसँग गठबन्धन जुटाउनु कमजोरी थ्यो

अँगालेर वर्गदुश्मन जनतालाई गोली ठोकी

क्रान्ति गर्छु भन्नेहरूलाई कुटाउनु कमजोरी थ्यो । 

सरकारले कालिकोटमा धनरूप बटालाको हत्या ग¥यो । सरकारले त्यहाँ फासी दमन ग¥यो । सिङ्गो कालिकोटे जनतालाई सरकारले दुश्मन देख्न थाल्यो । सेना र प्रहरी लगाएर व्यापक धरपकड ग¥यो तर पनि त्यहाँका जनताको क्रान्तिप्रतिको चाहना र प्रतिवद्धतामा कुनै कमी आएन । मुक्ति गैरेजस्ता स्रष्टाहरू यसरी आफ्ना भावना व्यक्त गनुर्हुन्छ ः 

हिजो पूर्वको गोरखाबाट रम्तेलको दीप बोलेको थियो

आज पश्चिमको कालिकोटबाट बटालाको दीप बलिसक्यो

तिमी प्रज्वलित दीपहरू इतिहासमा युगान्तकारी बनिरहनेछौ 

अब सधैँ ननिभ्नेगरी विश्वको विजय दीप बलिरहनेछौ ।

यो निर्वाचनमा सरकारको सांस्कृतिक तथा नैतिक धरातल धेरै नै कमजोर देखियो । हुन त संसद्वादको विशेषता नै नैतिकहीनता हो । एमालेले राप्रपासित चुनावी तालमेल ग¥यो । माओवादी केन्द्रीले नेपाली कांग्रेससित चुनावी तालमेल ग¥यो । यो तालमेल कुनै पनि हालतमा सैद्धान्तिक र वैचारिक थिएन । यो त जसरी पनि निर्वाचन जित्ने र जनतालाई बेवकूफ बनाउने चालबाजी थियो । यसले यी दलहरूको नैतिक, वैचारिक तथा सांस्कृतिक धरालतलाई उजागर गरिदिएको छ । खाने बेलामा संसद्वादीहरू एक भएको हल्ला गर्दछन् तर भागबण्डा मिलेन् वा आफूले सोचेको जस्तो भएन भने यिनीहरू एक–आपसमा खनिन्छन् र मारकाट गर्छन् । एकले अर्कोको ज्यान लिन पनि पछि पर्दैनन् । संसदीय दलालहरूका झगडालाई लिएर अहिले सामाजिक सञ्जालमा कविहरूले त्यस्ता केही रचना प्रस्तुत गरिरहेका छन् । एउटा चर्चित गीत हेरौँ ः

थाहा पाइयो हेरेर आँखामा

छुरा हान्यो बसेर काखमा

अन्तै भोट हालेछ अन्तरघातीले ।

भेट हुँदा लम्पसार बन्नीले

धोका दियो आफ्नै हो भन्नीले

अन्तै भोट हालेछ अन्तरघातीले ।

थाहा पाइयो मतपत्र गनेर

छुरा हान्यो भोट अन्तै हानेर

खुराफातीले ... सूर्य भनेर 

अन्तै भोट हालेछ अन्तरघातीले ।

जनता निकै सचेत छन् तर पनि अझै सचेत हुन आवश्यक छ । कुनै न कुनै मेसोमेलो मिलाएर दलालहरूले जनतालाई भ्रममा पारेर आफ्नो दुनो सोझ्याउन खप्पीस हुन्छन् । भइरहेको पनि त्यस्तै त्यस्तै छ । यसै सन्दर्भमा साहित्यकार खगेन्द्र सङ्ग्रौलाले सार्वजनिक गर्नुभएको निर्वाचनको सन्दर्भमा यो भनाइ मननीय छ । उहाँले भन्नुभएको छ, “देश बेच्नेहरूलाई भोट दिनु जनताको बेइमानी हो । वर्षभरि सराप्ने, चुनावमा तिनैलाई ल्याप्चे ठोक्दिने !” सबै घटनाक्रमहरूले निर्वाचन खारेजी अभियानको औचित्यलाई पुष्टि गरेको छ । सुर्खेतका अग्रज कम्युनिस्ट नेता एवम् कवि लिलाधर गौतमले माओवादी केन्द्र, कांग्रेस र एमालेकै बुर्जुवा सत्तामा गएको भन्दै आफूले भोट नहाल्ने घोषणा गर्नुभयो । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवको “प्रचण्डदेखि किरणसम्मको विद्रोहको औचित्य संसदीय चुनावको विरुद्ध चुनाव खारेज अभियानमा व्यक्त भएको छ । यसलाई क्रान्तिसँग जोड्नुपर्छ” भनाइ निकै महत्वपूर्ण रहेको छ ।

भारतीय चर्चित लेखिका महाश्वेतादेवीले एकपटक भन्नुभएको थियो, “मरिसकेको सिनोलाई घिसारिरहेको जस्तो केही लासहरूले जिउँदो भएको स्वाङ पारिरहेका छन् ।” क्या गज्जबको भनाइ ! ठ्याक्कै त्यस्तै नेपालमा लासहरूको दलाल संसदीय व्यवस्था छ । स्थानीय निर्वाचन भनेको त्यही सिनोलाई घिसारिएको मात्र त हो नि ! तर पनि दलालहरू आफू जिउँदो भएको स्वाङ गरिरहेका छन् । मरिसकेको र चिाहनमा पुर्न मात्र बाँकी रहेको संसदीय व्यवस्थालाई ब्युँताउन चम्चाले पानी मुख खुवाउने दुष्प्रयास गरिरहेका छन् । क्रान्ति–स्वप्नद्रष्टाले यो मर्मलाई आत्मसात गर्न आवश्यक छ । अनि त कमरेड चारू मजुमदार यो भनाइ स्मरणमा ताजगी भएर आउँछ । उहाँ भन्नुहुन्छ, “जो सपना देख्दैन र अरूलाई पनि सपना देख्न सक्ने बनाउँदैन, ऊ कहिल्यै पनि क्रान्तिकारी हुन सक्तैन ।” यो निर्वाचन खारेजी अभियान आफू पनि सपना देख्ने र अरूलाई पनि सपना देख्न सक्ने बनाउने विषयसित सम्बन्धित छ ।

म्याक्सिम गोर्कीले भन्नुभएझैँ “श्रम–संसार क्रान्तिको आवश्यकताको बोधसम्म पुगेको छ । साहित्यको कर्तव्य त्यसको सहायता गर्नु हो; जसले विद्रोहको झन्डा उठाएको छ । जति सफलतापूर्वक त्यो सहयोग गरिनेछ, त्यत्तिकै छिटो ‘डगमगाइरहेको स्वर्ग’ सधैँको लागि पतन हुनेछ ।” हो, डगमगाइरहेको दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि हामीले आफ्नो प्रतिरोधरात्मक क्षमतालाई अझ माथि उठाउन आवश्यक छ । हाम्रो सिर्जनात्मक आवाजलाई अझ धारिलो र खारिलो बनाउन आवश्यक छ । दलाल प्रतिक्रियावादी सरकारले जति दमन गरे पनि, जति प्रतिवन्ध लगाए पनि जनताले आफ्नो परिवर्तनका स्वरहरू बन्द गर्नेछैनन् । परिवर्तका लागि उठेका पाइलाहरू रोकिनेछैनन् र परिवर्तनका लागि उठेका इन्क्लाबी–हातहरू अझै माथि माथि उठिरहनेछन् । अन्तमा, सुप्रसिद्ध माक्र्सवादी कवि तथा महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को कवितांश

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै

हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै

तिमी भन्छौ गाऊ न त गाऊ 

तर त्यो गीत नगाऊ

हामी भने त्यही गीत गाइरहन्छौँ ।