देश बेच्ने लाइसेन्स र स्थानीय निर्वाचन –खेम थपलिया

Posted on: May 12, 2017 | views: 383

प्रचण्ड नेतृत्वको सरकारले गर्न लागेका स्थानीय निकायको निर्वाचनको विपक्षमा ठूलो जनमत सिर्जना हुँदै गएको छ । जनताले कथित स्थानीय निर्वाचनको विरुद्धमा उच्चस्तरका प्रतिरोधात्मक सङ्घर्ष गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध प्रचण्ड सरकारले युद्धकै घोषणा गरेसरह व्यापक दमन र धरपकड अभियान चलाएको छ ।

यस्तो बेलामा भोट दिनु भनेको दलाल सत्ताका संसदीय दल र तिनका नेतालाई देश बेच्ने लाइसेन्स दिनु हो भन्ने कुरामा जनस्तरमा व्यापक वृद्धि हुँदै गएको छ । यो निर्वाचनले सिंहदरबारभित्रका दलालहरूलाई गाउँ–गाउँमा पु¥याउने भएकाले यसका विरुद्ध स्थानीय निर्वाचन खारेजी अभियान व्यापक र सार्थक बन्दै गएको छ । यो निर्वाचनले क्रान्तिकारी ध्रुवीकरणलाई नै मद्दत पु¥याउँदै दलालहरू एकातिर र जनता तथा क्रान्तिकारी शक्ति अर्कोतिर भएका छन् । यसले नेपाली क्रान्तिलाई नजिक ल्याएको छ ।

नेपाली राजनीति विश्वक्रान्तिको आधारइलाका बनाउने महान् उद्देश्यका साथ सञ्चालित नेपाली जनयुद्धले एक दशकको समग्रयुद्धको रूपमा शानदार ढङ्गले फड्को मार्दै करिब १० वर्षको अत्यासलाग्दो सङ्क्रमणकाल र कथित स्थानीय निर्वाचनको खारेजी अभियानमा व्यापक जनप्रतिरोधको शृङ्खला हुँदै अघि बढिरहेको छ । दक्षिणपन्थीहरू, यथास्थितिवादीहरू, अवसरवादीहरूका सबैखाले षड्यन्त्रहरूलाई चिर्दै, तिनका कथित गढहरू भत्काउँदै जनताको मुक्ति आन्दोलनका सच्चा हिमायतीहरू यतिखेर नेपालमा क्रान्तिको नयाँ आधार निर्माण गर्ने तहसम्म आइपुगेका हुन् ।

कथित स्थानीय निर्वाचन २०७४ मा दक्षिणपन्थी नवसंशोधनवादीहरू र यथास्थितिवादीहरूको विजयको नौटङ्की गरिँदैछ र यसले क्रान्तिकारी शक्तिलाई फेरि एकपटक गम्भीर बनाएको छ । यसको साथै, नेपाली जनताको मात्रै नभएर संसारभरका श्रमिक, मजदुर तथा सम्पूर्ण सर्वहारावर्गको गौरवको विषय बनेको नेपालीक्रान्तिलाई तार्किक निष्कर्षमा पु¥याउन फेरि एकपटक नयाँ शिराबाट सोच्न आवश्यक छ भन्ने कुराको पनि यसले सङ्केत गरेको छ । त्याग, तपस्या र बलिदानका दृष्टिले, शौर्य, साहस र वीरताको दृष्टिले, वैचारिक विकासको दृष्टिले नेपाली जनताको आशा र भरोसाको केन्द्रबिन्दु भनेको नेपाल कम्युनिस्ट पार्टी नै हो ।

यसका अबका प्रत्येक पाइलाहरू विशेष महत्वका हुनेछन् । ‘जनयुद्ध एउटा समग्र युद्ध हो र सारतः यो सांस्कृतिक क्रान्ति हो’ भन्दै आएको यो पङ्क्तिले आफ्नो क्रान्तिकारी स्पिरिटलाई कायम राख्न आवश्यक छ । वर्गसङ्घर्षका अनेकौँ रूपहरू हुन सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुकूलता र प्रतिकूलताको गम्भीर विश्लेषण गर्दै वर्गसङ्घर्षलाई जारी राख्नुपर्दछ । नेपाली जनताका असीमित सपनाहरू, आकाङ्क्षाहरू छन् । यसलाई पूरा गर्न आफैँभित्र रहेका गलगाँड र गणेश संस्कृतिको अन्त्य गर्दै र क्रान्तिकारी पङ्क्तिलाई, नेतृत्वलाई टापु–टापुमा परिणत गर्ने खेललाई पराजित गर्दै टापुकृत नेतृत्व र पार्टीलाई एकीकृत बनाउन आवश्य छ । अबका क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिन जरुरी छ । यो स्वाभिमान, अग्रगमन र समृद्धिसित जोडिएको विषय हो । 

स्वाभिमान र अभिमान भिन्न भिन्न कुरा हुन् । क्रान्तिकारी पार्टी र कार्यकर्ताका लागि स्वाभिमान नभई नहुने कुरा हो भने जब स्वाभिमानको बढोत्तरीले अभिमानमा फड्को मार्छ, त्यसपछि त्यसले नकारात्मक परिणामभन्दा अरू केही दि“दैन । अभिमान सुकेको खरमा सल्केको आगो हो, जसले परिणाम खरानीकरणबाहेक केही हुँदैन । अहिले दक्षिणपन्थी नवसंशोधनवादीहरू यही परिस्थितिका बीचबाट गुज्रिरहेका छन् तर जनताले त नेपाल कम्युनिस्ट पार्टीलाई जनमुक्तिको पक्षमा समर्पित र नयाँ नेपालको सुस्पष्ट दृष्टिकोण भएको पार्टीको रूपमा बुझेका छन् ।

यो बुझाइ र विश्वासलाई उसले कुनै पनि हालतमा कमजोर बन्न दिनुहँुदैन । ‘नानीको पाइन हेर्ने’ मुडमा प्रतिक्रियावादीहरू पुग्नु र तिनको पृष्ठपोषक बन्ने लालसा देखाउनुले प्रचण्ड र माओवादी केन्द्रको यस्तो हविगत भएको कुरामा कुनै शङ्का छैन । जनता अहिले आफ्नो भूमिकाको खोजीमा, आफ्नो स्वत्वको रक्षामा संश्लेषित हुन खोजिरहेका छन् । जनताको यो संश्लेषित मनोभावनाले क्रान्तिको नयाँ आधारको माग गर्दछ । यो जनतासित पार्टीको नङ र मासुको सम्बन्ध कायम गर्ने एउटा आधार पनि हो । स्थानीय तह निर्वाचनको खारेजी आन्दोलन र त्यसमा जनताले गरेको सशक्त प्रतिरोधी आन्दोलनले नेपालीक्रान्तिको नयाँ आधार निर्माण गर्ने मार्ग प्रसस्त गरेको छ ।

नयाँ परिवेशमा पार्टीभित्रका इमानदार कार्यकर्ता पङ्क्तिलाई पनि ‘म कहाँ छु’ भन्ने अन्यमनस्कता र अकर्मण्यता पैदा हुन सक्छ । यस्तै, अकर्मन्यता र अन्योलले सोभियत सङ्घको विघटन भएको थियो । यस्तो विघटनकारी प्रवृत्तिका अन्त्यका निम्ति नियमित प्रशिक्षणको आवश्यकता पर्दछ । सिङ्गो क्रान्तिकारी पङ्क्तिमा, उसका दिल–दिमागमा पार्टीको कार्यनीति, रणनीति, ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने राजनीतिक चेतना भइरहनुपर्दछ । जनताको पक्षमा पार्टी र पार्टीको नेतृत्वलाई बारम्बार सल्लाह, सुझाव दिइरहने संस्कृतिको विकास गरिनुपर्दछ ।

पार्टी भनेको एनजीओ–आईएनजीओ होइन जसले जनताको रगत चुसेर नाफाका लागि जे पनि गरोस् । क्रान्तिलाई माथि उठाउन जनविश्वासको आवश्यकता पर्दछ । इमानदारिता, पारदर्शिता र जवाफदेहिता जनविश्वासको प्रमुख आधार हो । जनताले आमूल परिवर्तनकारी शक्तिको पहिचान गरिसकेका छन् । देश र जनताका विरुद्ध सबै किसिमका भ्रमहरू चिर्दै अघि बढेर मात्र महान् सहिदहरूका रगतको रखवारी हुन सक्छ । नेपाली राजनीतिको यो विशिष्ट परिस्थितिको सही सदुपयोग गर्न सकियो भने नेपालीक्रान्तिले छलाङ मार्ने प्रवल सम्भावना छ ।

क्रान्तिले मात्र नेपाली जनताको दुःसाध्यपूर्ण जीवनलाई समृद्ध बनाउन सक्छ । क्रान्ति गर्न क्रान्तिकारी नैतिकता र अनुशासनको निकै महत्व हुन्छ । पुष्पकमल दाहालको वैचारिक–राजनीतिक–दार्शनिक र नैतिक स्खलन विशेष स्मरणीय छ । माओको ‘जनता नै क्रान्तिकारी संस्कृतिको कहिल्यै नसुक्ने मुहान् हुन्’ भन्ने कुरालाई दाहालले नजरअन्दाज गरे । वास्तवमा सर्वहारावादी सारसहित सयौँ फूलहरूलाई फक्रिन दिनुको विकल्प छैन । विनासको सिद्धान्त अवसरवादी–प्रतिगामी नियममा आधारित हुन्छ । आलोचना–आत्मालोचना– रूपान्तरण अन्तर्सङ्घर्षको क्रान्तिकारी विधि हो । यसको रचनात्मक स्वरूप हुन्छ । यसले व्यक्तिमा क्रान्तिकारी रूपान्तरण गर्दछ । त्यसैले हामीले विनासको सिद्धान्त होइन, विकास–प्रगतिको सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ । 

पार्टीमा बेला–बेलामा क्रान्तिकारी नैतिकता तथा अनुशासन कमजोर हुने गर्दछ । लेनिनले रूसी क्रान्तिको सफलतामा क्रान्तिकारी नैतिकता तथा फलामे अनुशासनको आधारभूत महत्व रहेको बताएका थिए । ढाँटछल, ईष्र्या, अहङ्कार, उत्ताउलोपन, गैर–जिम्मेवार बन्नु, कथनी र करनीमा विरोधाभास हुनु, सङ्गठनलाई बजारीकरण गर्नु, सत्रुप्रति लगाव, चाकडी प्रदर्शन गर्नु अनुशासनविहीनताका चरम अभिव्यक्ति हुन् । क्रान्ति सम्पन्न गर्नाका लागि क्रान्तिकारी नैतिक मूल्य–मान्यतालाई गहिरोसँग आत्मसात् गर्नु र क्रान्तिकारी अनुशासनलाई द¥होसँग अवलम्बन गर्नु अपरिहार्य छ ।

महान् सर्वहारा सांस्कृतिक क्रान्ति विचार, भावना, आदत तथा संस्कारमाथि विजय प्राप्त गर्दै अघि बढ्ने तथा पुँँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले राज्यसत्ता कब्जा गर्दा नगर्दै पार्टीभित्रका फोहोर–मैलाले दुश्मनका रूपमा विकास गरिसक्छ भन्ने कुरा रूस, चीनलगायतका देशमा भएका प्रतिक्रान्तिका घटनाहरूले पुष्टि गरेको छ । पार्टी, आन्दोलन र जनसमुदायका बीचमा रहेका यस्ता मैला साफ गर्ने वैज्ञानिक विधिलाई सचेत र कलात्मक रूपले अगाडि बढाउन आवश्यक छ । सर्वहाराक्रान्तिको औचित्य न्यायसङ्गत छ । नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को सफल क्रियान्वयनको प्रश्न पनि क्रान्तिकारी नैतिकता र अनुशासनसित असाध्यै गहिरो रूपमा जोडिएको छ ।

अनुशासनहीन जमात जतिसुकै बृहत् भए पनि त्यसले क्रान्ति सम्पन्न गर्न सक्तैन । यो कुरा स्पष्ट छ कि नेपालको कथि स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले आह्वान् गरेको कथित निर्वाचन खारेजी अभियानले नेपालमा नयाँ क्रान्तिको ढोका खोलेको छ । देशभर जनताले गरेका उच्चस्तरका प्रतिरोधात्मक प्रस्तुतिलाई क्रान्तिकारीहरूले संस्थागत गर्नुपर्छ । मूलतः यो जनप्रतिरोध नेपाली नयाँ क्रान्तिको नयाँ आधार हो । महान् जनताले गरेको प्रतिरोधको उच्च मूल्याङ्कन गर्दै त्यसको दस्ताबेजीकरण गर्न आवश्यक छ । यो प्रतिरोधका क्रममा विविध किसिमले योगदान पु¥याउने र बलिदान गर्ने महान् योद्धाहरूको सम्मान आवश्यक छ । क्रान्तिकारी आदर्शलाई जीवित राख्न सके नेपाली धर्तीमा क्रान्ति सजिलै हुर्कने कुरामा कुनै दुविधा छैन । अधुरो रहेको नेपाली क्रान्तिलाई पूरा गर्ने महाअभियानमा यो निर्वाचन खारेजी अभियान विशेष महत्वकारी हुने विश्वास सबैले लिएका छन् । 

वास्तवमा उचित समयमा ध्वंसात्मक कारबाही सही हुने कुरा विश्व इतिहासले प्रमाणित गर्दै आएको छ । ध्वंस र निर्माण द्वन्द्ववादमा आधारित छ । यो निर्वाचन खारेजी अभियानले जनताको सामरिक क्षमताको उच्चातालाई नै मुखरित गरेको छ । यसले नेपाली जनताको मानसिक स्थितिको उत्कट चाहना र चित्र पनि प्रस्तुत गरेको छ । नेपाली जनता क्रान्तिकारी छन्, उत्पीडनका विरुद्ध, सामन्ती र शोषणका विरुद्ध, पुँजीपतिवर्गका विरुद्ध अन्त्यसम्म पनि लड्न तयार छन् भन्ने कुरा पनि यो प्रतिरोधात्मक अभियानले प्रमाणित गरेको छ । यो माओवादी आन्दोलन आमूल परिवर्तनका खातिर चलाइएको राजनीतिक क्रान्ति थियो भन्ने कुराको पुनर्पुष्टि पनि हो ।

यसमा जनताका अत्यावश्यक तथा महानतम् आकाङ्क्षाहरू प्रतिबिम्बित भएका छन् । जसरी इतिहासकारहरू पेरिस कम्युनसम्बन्धी स–साना कुराहरूको पनि खोजी गर्छन्, त्यसैगरी यो कथित स्थानीय निर्वाचन खारेजी अभियानसित सम्बन्धित घटनाहरूको पनि एकदिन खोजबिन हुनेछ । क्रान्तिको निर्णायक बिन्दुमा यो महŒवपूर्ण कोशेढुङ्गा सावित हुनेछ । वस्तुतः यो निर्वाचन खारेजी अभियानले जनतालाई शक्तिशाली बनाएको छ । दलाल पुँजीवादी सत्ता र तिनका मतियारलाई कमजोर र हतोत्साही बनाएको छ । साथै, कथित स्थानीय निर्वाचन अभियानका क्रममा क्रान्तिकारी शिरिव तथा जनताका तर्फबाट प्रस्तुत भएका वीरता, साहस, कौशलमा हामीले गौरव गर्नैपर्दछ । एकपटक समवेत स्वरमा भनौँ– कथित स्थानीय निर्वाचन मूर्दावाद ! कथित स्थानीय निर्वाचन खारेजी अभियान जिन्दावाद !!

२९ वैशाख, २०७४