जनसांस्कृतिक योद्धा सम्मानको ऐतिहासिकता -खेम थपलिया

Posted on: May 04, 2017 | views: 243

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजना तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा २०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमलमा ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

वर्षौंदेखि जनवादी गीत, सङ्गीत र कलाको माध्यमबाट आमूल परिवर्तनकारी कम्युनिस्ट आन्दोलनमा योगदान पु‍¥याएबापत कदरस्वरूप नेपाल कम्युनिस्ट पार्टीले पाँच स्रस्टालाई सम्मान गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनवादी गायकहरू रायन श्रेष्ठ, जेवी टुहुरे, खुसीराम पाख्रिन, जीवन शर्मा र कवि पूर्णविरामलाई खादा ओढाएर जनही २५ हजार नगदसहित सम्मानपत्र प्रदान ग‍र्नुभएको थियो । यो कार्यक्रम नेपालको जनसांस्कृतिक आन्दोलनमा एउटा कोशेढुङ्गा बन्न पुगेको छ ।


जनसांस्कृतिक आन्दोलन

प्रगतिवादी साहित्यिक–सांस्कृतिक आन्दोलन गतिशील यथार्थको दृष्टिकोणसित अन्तर्सम्बन्धित छ । यसको दार्शनिक आधार ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । यो सदैव वैज्ञानिक, ऊध्र्वगामी र अग्रगामी हुन्छ । लेनिनले क्रान्तिकारी मजदुर–किसानहरू नै साँचो अर्थमा महान् कलाका अधिकारी हुन् भन्नुभएको छ । माक्र्सले यसको उत्पत्तिको कारकको रूपमा मानवीय श्रमिक क्रियाकलापकै प्रतिफललाई बताउनुभएको थियो । वास्तवमा कला–साहित्य सामाजिक जीवन र वस्तुगत यथार्थको कलात्मक प्रतिबिम्बन हो ।

सोभियत सङ्घमा समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि लेनिनले समाजवादी–यथार्थवादी कला–साहित्यको आवश्यकताबोध गर्दै टाल्स्टाय, चेर्नोशेब्स्की, दोस्तोबस्की, हर्जेनलगायत साहित्यकारका साहित्यिक कृतिलाई ठूलो परिमाणमा प्रकाशन/बितरण गर्नुपर्ने बताउनुभएको थियो । सम्पूर्ण जनवादी साहित्य पार्टी साहित्य हुनुपर्ने कुरामा लेनिनको जोड थियो । सांस्कृतिक आन्दोलनको सञ्चालन पार्टी साहित्यले मात्र गर्न सक्तछ । यो वर्गसङ्घर्षको अभिन्न अङ्ग हो । प्रतिक्रान्तिकारी सङ्कटलाई क्रान्तिकारी सङ्कटले नजितेसम्म यो यात्रा जारी रहन्छ । लुना चाल्स्र्कीले भन्नुभएको छ, “साहित्यको काम नयाँ मानिस र नवीन जीवनपद्धतिको स्थापना प्रक्रियामा शक्ति र ओज थप्नु हो ।” नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिद्वारा आयोजित ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम सोही दिशातिरको एउटा महत्वपूर्ण खुट्किलो हो ।    

नेपालको साहित्यिक–सांस्कृतिक आन्दोलन कमरेड माओको येनान प्रवचनबाट गहिरोगरी प्रभावित छ । ‘येनान गोष्ठीमा साहित्य र कलाको प्रवचन’ नेपालका समाजवादी–यथार्थवादी लेखक–साहित्यकारहरूका लागि आधारभूत पाठ्यक्रम बन्न पुगेको छ । महान् जनयुद्धमा नेपालका जनसंस्कृतिकर्मीहरू कलम र बन्दुक एकैसाथ लिएर वर्गसङ्घर्षमा होमिएर सांस्कृतिक पल्टनको भूमिका पूरा गरेका थिए । मेक्सिम गोर्की, हार्वड फास्ट, लु सुन, प्रेमचन्दहरूबाट पनि नेपालका साहित्यकार–संस्कृतिकर्मीहरू काफी मात्रामा प्रभावित छन् । विक्रमको बीसौँ दसकमा नेपाली साहित्यकार–संस्कृतिकर्मीहरू नक्सलवादी आन्दोलनबाट पनि प्रभावित भए ।

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट नेपालका साहित्यकार–संस्कृतिकर्मीहरू प्रभावित नहुने त कुरै भएन । नेपालका साहित्यकार–संस्कृतिकर्मीहरूले पारिस्पारिक रूपमा सो ऐतिहासिक विरासतबाट प्रशस्त ऊर्जा ग्रहण गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी तिनै ऐतिहासिक कडीलाई एकीकृत जनक्रान्तिमार्फत जोड्न चाहन्छ । सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी तथा सबैखाले शोषण दमनको अन्त्य गरेर नेपालमा जनगणतन्त्र स्थापना गर्ने लक्ष्य पूरा गर्नका लागि ‘रातो लालटिन’ र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ का आदर्शलाई पछ्याउनु अनिवार्य छ । ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम पनि जनसांस्कृतिक आन्दोलनको अभिन्न अङ्ग हो । 


सम्मानित स्रष्टाको भनाइ

‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रममा सम्मान ग्रहण गर्दै राल्फा आन्दोलनका हस्ती रायन श्रेष्ठले आफू ओखलढुङ्गाबाट त्यतिबेलाको काठमाडौंमा गीत गाउनकै लागि आएको समय स्मरण गर्नुभयो । उहाँले रामेश श्रेष्ठसँगै रेडियो नेपालमा गीत गाउन जाँदा उनले गाएको गीतलाई राजावादीहरूले फेर्न लगाएको सम्झना पनि गर्नुभयो । उहाँले अरू कम्युनिस्ट पार्टी जस्तो विकृतिको दलदलमा नफसी आन्दोलनलाई अघि बढाउन नेपाल कम्युनिस्ट पार्टीलाई आग्रह पनि गर्नुभयो । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ जस्ता लोकप्रिय र चर्चित गीत गाउनुभएका जनगायक रायनले २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेर प्रजातन्त्रको हत्या गरेको र आफ्ना जनवादी गीतहरू सेन्सरमा परेको गुनासो गर्नुभयो । उहाँको देशमा गणतन्त्र आइसक्दा पनि जनवादी गायकहरूको सडकमै रहेको गुनासो थियो । कार्यक्रममा उहाँले भन्नुभयो, “आजसम्म पनि म सेन्सरमै छु ।

यो देशमा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र नै आए पनि जनवादी गायकहरू सडकमै रहन्छन् । आज पनि जनताका गीतले रेडियो नेपाल र नेपालका टेलिभिजनहरूमा स्थान पाएका छैनन् ।” उहाँले अहिलेका कम्युनिस्ट पार्टीहरू जिउँदो लासजस्तै भएको यथार्थ पनि राख्नुभयो । जनवादी गायक रायनले विप्लव नेतृत्व कम्युनिस्ट पार्टीलाई विगतका अरू पार्टीजस्तै नबिग्रन सुझाव दिनुभयो । रायन श्रेष्ठले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले नेपालमा रहेका बिग्रिएका कम्युनिस्ट पार्टीजस्तै नहोस् भन्दै सो पार्टीलाई जनताको सपना पूरा गर्ने अभियानमा सफलताको शुभकामनासमेत दिनुभयो ।

उहाँले नेपालमा आफूले धेरै कम्युनिस्टलाई नजिकबाट हेर्ने मौका पाएको तर सबै कम्युनिस्ट पार्टी पथ–विचलित भएर नेपाली जनताको परिवर्तनको चाहना पूरा हुन नसकेकोले विप्लव नेतृत्व कम्युनिस्ट पार्टीलाई विगतका शिक्षाबाट पाठ सिकेर अगाडि बढ्न पनि सुझाव दिनुभयो । उहाँको भनाइ थियो, “अरू सबै कम्युनिस्ट पार्टीहरू बिग्रिए तर अब यो नेपाल कम्युनिस्ट पार्टी बिग्रिएको देख्न नपरोस् । नेपाली जनताले यही पार्टीबाट ठूलो आशा गरेकोले यो पार्टीे अरू पार्टीले जस्तै जनताको सपनामा धोका नदिइयोस् ।” आफूले सत्तामा रहेका थुप्रै कम्युनिस्ट नामका पार्टीहरूको सम्मानलाई बहिष्कार गरेको स्मरण सुनाउनु हुँदै रायनले नेपाल कम्युनिस्ट पार्टीले गर्ने सम्मानलाई निकै गम्भीरतापूर्वक अध्ययन गरेर सम्मान स्वीकार गरेको बताउनुभयो ।

रायनले भ्रष्टहरूको हातबाट सम्मानित हुनुभन्दा नहुनु राम्रो भन्नु हुँदै स्वच्छ र सफा हात भएका मान्छेहरूको सम्मान पाउनु राम्रो हुने निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टीको सम्मानलाई स्वीकार गरेको स्मरण गर्नुभयो । सम्मान कार्यक्रममा रायनले आफ्नो लामो जीवनको इतिहासमा धेरै कम्युनिस्ट पार्टीलाई प्रत्यक्ष नजिकबाट हेर्ने मौका पाएको तर सबै किनिएर बिग्रिएको तितो अनुभव सुनाउँदा कार्यक्रममा सहभागीलाई निकै भावविह्वल बनाएको थियो । कार्यक्रममा उहाँले रातो झन्डाको गीत गाउनुभएको थियो ।

जनगायक जेवी टुहुरेले कम्युनिस्ट पार्टीहरूभित्र बलियो एकता हुने हो भने यो देशको मुहार परिवर्तन गर्न सकिने धारणा राख्नुभयो । उहाँले ‘जनता सबै देशलाई, देश–जनतालाई कोही पनि आफ्नो हुन्‍न भ्रष्टाचारीलाई’ बोलको गीत प्रस्तुत गर्नुभयो । साथै, जनगायक खुसीराम पाख्रिनले ‘युवाहरू हो, यो देश तिम्रै हो, नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो’ बोलको गीत प्रस्तुत गर्नुभयो ।

माओवादी शान्ति–प्रक्रियामा आएपछि आन्दोलन छिन्‍नभिन्‍न भएको उहाँको दुखेसो थियो । उहाँले कलाकारको आँखामा अनिश्चित भविष्य देख्दा आफूलाई रुन मन लाग्‍ने कुरा पनि बताउनुभयो । आफू सधैँ क्रान्तिको पक्षमा रहेको र क्रान्ति गर्ने जुनसुकै पार्टीलाई आफ्नो साथ र समर्थन रहने कुरा बताउनुभएको थियो । आफ्नो दिमागबाट क्रान्तिको सपना नहटेको कुरा पनि राख्नुभएको थियो । सम्मानित भएपछि सहिद पितासमेत रहनुभएका पाख्रिनले भन्नुभयो, “म सहिदको बुबा भएकोले पनि क्रान्ति गर्ने पार्टी र नेतृत्वलाई मेरो सधैँ साथ रहनेछ ।” नेपाल कम्युनिस्ट पार्टीले आफूहरूजस्ता स्रष्टालाई सम्मान गर्ने संस्कृति थालनी गरेकोमा विशेष आभार पनि व्यक्त गर्नुभयो ।

अर्का जनवादी गायक जीवन शर्माले पुरानो परम्परा तोडिएको र कलाकारलाई सम्मान गर्ने पार्टी पनि यो देशमा रहेछ भन्‍ने प्रमाणित भएको भन्दै खुसी व्यक्त गर्नुभयो । शर्माले जनवादी सत्ता ल्याउनका लागि निरन्तर क्रान्तिमा लाग्‍न नेताहरूलाई सुझाव पनि दिनुभयो । शर्माले ‘सिमली छायामा बसी’ बोलको गाउन थालेपछि हल जुरुक्क उठेर नाचेको थियो । सो नाचमा महासचिव विप्लवले पनि केहीबेर साथ दिनुभयो । अन्तमा, चर्चित कवि पूर्णविरामले जोशिलो आवाजमा ‘अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ’ शीर्षकको कविता सुनाउनुभयो । उहाँको कवितात्मक भावले पूरै हललाई स्तब्ध र आक्रोशित बनाएको थियो । सम्मान कार्यक्रममा पूर्णविरामले वाचन गर्नुभएको ‘अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ’ एक अंश हेरौँ ः

“यो तातो अलकत्राभन्दा पनि तातो

मनहरू पोल्ने आगोको भट्टी जस्तो छ

जाकेरीहरूले पाएका छन् भीसी तक्माहरू

र, वीर सिपाहीहरूको रोदनले वातावरणहरू भरिभराउ भएका छन् 

भैँसीको टाउको शरीरमा झुन्ड्याउनेहरूलाई

अलपत्रमा परेको युद्धको नतिजा राम्रो छ

मानिसको नै टाउको बोकेर विचरण गर्न चाहनेलाई

यो हेमलकभन्दा पनि एकदमै विषाक्त छ

अलपत्रमा परेको युद्धको नतिजा यस्तै छ ।”

असल संस्कृति तथा स्रष्टाको पक्षपोषण र खराब संस्कृति तथा स्रष्टालाई यथासम्भव रूपान्तरणका लागि प्रेरित गर्नु, रूपान्तरण असम्भव भए ध्वंस गर्नु ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रमको अन्तर्वस्तु हो । जनताको शक्तिलाई विशाल प्रवाहमा परिचालित गर्नु महान् सांस्कृतिक क्रान्तिको एउटा आयाम हो । पहाडहरूलाई हटाउन सक्ने, समुद्रलाई सुकाउन सक्ने, हजारौं चट्याङहरू बराबरको तागत भएको यसले सामन्तवाद, पुँजीवाद र संशोधनवादका पुराना नराम्रा र दानवी अवशेषलाई बढारेर लैजान तथा जनताको महान् गाथाको दस्ताबेजीकरण गर्न साहित्यकार–संस्कृतिकर्मीको ठूलो भूमिका हुन्छ ।

फेरि एकपटक कला–साहित्यको माध्यमबाट समाजवादी शिविरबाट प्रतिक्रियावादी शिविरमाथि भीषण हमला गर्ने आँट नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । समकालीन नेपाली राजनीतिक–सांस्कृतिक परिस्थितिको यतिबेला आगो खाएर अँगार ओकल्ने समय पनि हो । यसले सुन्दर कम्युनिस्ट समाज, कम्युनिस्ट संस्कृतिको स्थापना गर्ने उद्देश्य बोकेको छ । सिर्जनाबाट परजीवीवर्गका विरुद्ध लडिरहेका जनताले प्रेरणा र ऊर्जा पाउनैपर्छ । सोही प्रेरणा र ऊर्जा–प्राप्ति ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रमको अभिलाषा हो ।  


पार्टी महासचिवको उद्घोष

महान् गुरु कार्ल माक्र्सले भन्नुभएको थियो, “व्यवहार नै सत्य जाँच्ने आधार हो ।” नेपालको जनसांस्कृतिक आन्दोलनमा सिद्धान्त र व्यवहारका बीच भयङ्कर अनमेल देखिँदै आएको छ । नेपाल कम्युनिस्ट पार्टी सिद्धान्तलाई व्यवहारको कसीमा जाँच्न चाहन्छ । निश्चय पनि नेपालको जनसांस्कृतिक आन्दोलनमा यावत् यक्ष प्रश्नहरू नभएका होइनन् । हामीले तिनको क्रमशः उत्तर दिंदै जान पनि आवश्यक छ ।

कैंयन् पारिस्थितिक र कैयन् वैयक्तिक स्वार्थका कारण यौद्धिक विरासतलाई चौबाटोको धुलोमा फ्याँकिए पनि रक्तरञ्जित झन्डा हिजो पनि खडा थियो, आज पनि खडा छ र भोलि पनि खडा रहनेछ । हामीले एकीकृत जनक्रान्तिको आलोकमा एक्काइसौँ शताब्दीको एकीकृत र केन्द्रीकृत सांस्कृतिक आन्दोलनको विकास तथा विश्वभरका जनसांस्कृतिक सामथ्र्यको पहिचान गर्नैपर्दछ । ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम जनसांस्कृतिक सामथ्र्यको पहिचानसित पनि सम्बन्धित छ । पार्टी महासचिवको मन्तव्यको सार यही कुरासित सम्बन्धित छ ।  

‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो, नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्ट आन्दोलनमा लागेर सांस्कृतिक क्षेत्रबाट योगदान गरेका योद्धालाई आन्दोलन सफल भएपछि सडकमा छोडिदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “उहाँहरू कम्युनिस्ट आन्दोलनको धरोहर हो, पार्टीको सङ्कीर्ण घेराभन्दा माथि उठेर उहाँहरूको सम्मान हुनुपर्छ ।” क्रान्ति र परिवर्तनका लागि सिङ्गो जीवन समर्पित गरेका कलाकारहरूलाई राज्यले उचित सम्मान दिन नसकेको कुरा बताउँदै उहाँले कलाकारहरूको उचित सम्मानको दायित्व आफ्नो काँधमा आएको बताउनुभयो । महासचिव विप्लवले आन्दोलन हुँदासम्म आर्थिक हिसाबले समान हैसियतमा रहेता पनि आन्दोलन सफल भएपछि नेता मालिक बन्‍ने र कार्यकर्ताहरू आफ्नो गुजारा चलाउनका लागि नेताको दैलो चाहर्नुपर्ने अवस्था कम्युनिस्ट आन्दोलन विचलनको भद्दा स्वरूप भएको बताउनुभयो । अहिलेको सरकार र नेताहरू विदेशी इशारामा चलेको बताउनु हुँदै महासचिव विप्लवले स्थानीय तह निर्वाचनले देशका समस्याहरू समाधान गर्न नसक्ने विचार पनि व्यक्त गर्नुभयो ।

बेरोजगारी, बेथिति र असमानताको अन्त्य नहुँदासम्म यो देशको समस्या समाधान नहुने भन्दै उहाँले एकीकृत जनक्रान्तिद्वारा नेपालमा क्रान्ति सम्पन्न गर्न सकिने विश्वास दिलाउनुभयो । आफूहरू कम्युनिस्ट आदर्श र नैतिक मूल्य मान्यतासहितको राजनीति गर्न खोजिरहे पनि सत्ता र शक्तिको आडमा आफ्नो पार्टीमाथि दमन भइरहेको बताउनु हुँदै विप्लवले शक्ति र अहङ्कार प्रदर्शन गर्दै आफूहरूमाथि दमन भइरहे बन्दुक बोकेर मुकाविला गर्न तयार रहेको पनि उद्घोष गर्नुभयो । सम्मानित स्रष्टाहरूतर्फ सङ्केत गर्दै महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भइछाड्ने, कथम्कदाचित त्यसो हुन नसकेमा आफू र आफ्नो पार्टी निरन्तर क्रान्तिमा रहने विश्वास दिलाउनुभयो । देश र जनताका निम्ति बलिदानको कोटा आफैँबाट चुक्ता गर्नुपरे पनि आफू तयार रहेको प्रतिवद्धता पनि महासचिव विप्लवले व्यक्त गर्नुभयो । 

दर्शकद्वारा खचाखच भरिएको जमलस्थित राष्ट्रिय नाचघरको सभाकक्षमा भएको ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारे काका, सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष टेक बलम्पाकीले गर्नुभएको थियो । पार्टीका स्थायी समिति सदस्य कमरेड कञ्चनको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा स्थायी समिति सदस्यद्वय कमरेड सुदर्शन र कमरेड विषमको पनि उपस्थिति थियो । 


ऐतिहासिकता   

सांस्कृतिक क्रान्तिको गरिमामय दशकमा वासन्तिक उज्यालो थियो र चराचुरुङ्गी गाउँथे र झुम्थे । मजदुर, किसान, सेना महान् क्रान्तिकारी आन्दोलनमा संलग्न जाँगरिला सिपाहीहरूको वीरता र पुरुषार्थको लागि असीम प्रशंसा थियो । वाचन गर्न सकिनेभन्दा पनि बढी सैनिक काव्य र कविताहरू थिए ।

मजदुर, किसान र साथसाथै प्रविधि र राष्ट्रिय सुरक्षाका विकास र प्रविधि र राष्ट्रिय सुरक्षाका विकास र प्रगति अङ्कित तस्बिरहरू असङ्ख्य थिए । त्योभन्दा पनि बढी समाजवादको निर्माणको मार्गमा पुरानोलाई फाली नयाँलाई प्रादुर्भाव हुन दिने रमाइला, प्रोत्साहित पार्नेखालका क्रान्तिकारी साहित्यहरू थिए । तर आज पुँजीवादी पतीत अश्लील नाङ्गा तस्बिरहरू, कसिएको पाइन्ट, लामो कपाल, कालो चस्मा, डिस्को र छाडा सङ्गीतहरूको तस्करी र बजारीकरण भइरहेका छन् । सांस्कृतिक साम्राज्यवादको उद्दण्डता खपिनसक्नु भएको छ ।

एउटा उखान छ– बाइबलका शब्दहरू प्रयोग गरेर मानिसहरूलाई मूर्ख बनाउनमा सैतान नै सबभन्दा बढी सिपालु हुन्छन् । लेनिनले भन्नुभएको छ, “निरन्तर क्रान्ति जनताका लागि निरन्तर उत्सव पनि हो ।” नेपालमा प्रतिगमन–प्रतिक्रान्तिको कालो बादल मडारिइरहेको यतिबेला ‘एकीकृत जनक्रान्ति’ कार्यदिशाद्वारा क्रान्तिको सेवा गर्नेगरी जनताका कला–साहित्यको रक्षा र विकास गर्न आवश्यक छ । 

‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रमको ऐतिहासिक मूल्य रहेको कुरामा कुनै शङ्का छैन । सम्मानित स्रष्टाका विषयमा अनेक कोणबाट मूल्याङ्कन सकिएला ! यो सम्मान कार्यक्रमलाई पार्टी र व्यक्तिगत सीमाको सङ्कीर्ण घेराबाट माथि उठेर हेर्न आवश्यक छ । फेरि, मानिसको मूल्याङ्कन भन्ने कुरा निकै जटिल विषय हो । त्यसमाथि पनि जिउँदो मानिसको मूल्याङ्कन त झन् जटिल विषय हो । को कतिखेर के हुने हो, थाहै नहुने परिस्थिति विद्यमान छ ।

झन् कहिलेकाहीँ त यस्तो पनि देखिन्छ कि साहित्यकार–संस्कृतिकर्मीको मृत्युपछि उसको विचार र प्रतिवद्धतासँगै कतै कहीँ सरोकार नराख्ने मानिसहरूले उसको नामको ब्रान्ड प्रयोग गरेर पुरस्कार राख्छन्, पुरस्कार थाप्छन् र बजारमा कोकोहोलो मच्चाउँछन् । जीवनभर अपमान, अभाव र तिरस्कार खेप्नुपरेका स्रष्टाहरू, बाँचुन्जेल कहीँ कतै सम्झौता नगरेका साहित्यकार–संस्कृतिकर्मीले मरेपछि पनि बिजोग ब्यहोर्नुपर्दछ । हुन त मानिसहरू भन्छन्– ओखलमा टाउको राखेपछि मुसलको के डर !