केपी ओलीलाई ‘लखेट्ने’ बेला भइसक्यो र ?

Posted on: May 03, 2016 | views: 420

विष्णु रिजाल - प्रधानमन्त्री केपी शर्मा ओलीले शासन सम्हालेको तीन महिना पनि पुगेको छैन । एकदमै प्रतिकूल अवस्थामा घीनलाग्दा भित्री र बाहिरी चलखेललाई चिरेर उहाँ सत्तामा पुग्दा मुलुकको स्थिति जस्तो थियो, त्यसमा आजसम्म ताात्विक सुधार आएको छैन । कसैबाट लुकाउनुपर्ने कुरा छैन, यसको कारण पनि सबैलाई थाहा छ । नेपालमा संविधान जारी गर्दा आफ्नो मानमर्दन भएको ठानिरहेको भारतले नाकाबन्दी खोलेको छैन । बरु कार्यकर्ता नआएर निराश बनेका मधेसी दल थाकिहाल्लान् तर भारतले आफ्नो बनिबनाउ वक्तव्यमा कुनै सुधार ल्याएको छैन ।

स्वतः स्पष्ट छ : हामी भारतनिर्भर भएकै कारण हाम्रो अर्थतन्त्र सम्पूर्ण रुपमा भारतसँग गाँसिएको छ । जुन देशमा आयातमुखी अर्थतन्त्र हुन्छ र देशका सम्पूर्ण आर्थिक क्रियाकलाप आयातित वस्तुको व्यापारमा निर्भर हुन्छन्, त्यस देशले नाकाबन्दी हुँदा कस्तो अवस्था भोग्नुपर्छ ? अहिले हामीले राम्ररी थाहा पाएका छौँ ।
यस सन्दर्भलाई अलग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले केही काम गर्न सक्नुभएन भनेर आलोचना गर्नु न्यायसंगत हुँदैन ।
पक्कै पनि केपी ओलीप्रति मानिसहरुका धेरै अपेक्षा थिए । विगतमा उहाँले निर्माण गरेको दृढ व्यक्तित्वको आलोकमा ती अपेक्षाहरु स्वाभाविक थिए । उहाँ सत्तामा आउनुभयो भने विगतदेखि नै हुनैपर्ने तर हुन नसकेका कामहरु दृढतापूर्वक गर्नुहुनेछ भन्ने सकारात्मक वातावरण नभएको होइन ।
साथै, यो कुरा पनि भुल्नु हुँदैन, त्यसो गर्नका लागि बलियो सरकार हुनुपर्छ, जुन उहाँसँग छैन । प्रधानमन्त्री निर्वाचित हुँदा उहाँले ३ सय ३८ मत पाउनुभएको थियो । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा सत्ताधारी गठबन्धनको मत घटेर ३ सय २७ मा झरिसकेको छ ।
तीन सीट भएको नेकपा (संयुक्त) ले हालै समर्थन फिर्ता लिएपछि त्यो संख्या ३ सय २४ मा सीमित भएको छ । भनेजति मन्त्रालय, राज्यमन्त्री र सहायकमन्त्री राख्ने होइन भने २५ सिट भएको कमल थापाले आफ्नै जहाजमा प्वाल पार्ने पुरानो कला प्रयोग नगर्ने कुरै छैन । अनि रोजेका मन्त्रालय नदिँदासम्म १३ सिट भएका विजय गच्छदार र ११ सिट भएका राप्रपाले ओलीलाई कुन सिद्धान्तमा उभिएर साथ दिन्छन् र ?
केपी ओलीले मन्त्रिपरिषद् ठूलो बनाएर राष्ट्रिय ढुकुटीमा क्षति पुर्‍याउनुभयो भनेर चिन्ता व्यक्त गर्ने प्रमुख विपक्षी नेपाली कांग्रेस नै यसका लागि मुख्य जिम्मेवार छ
केपी ओलीको सरकारले मुख्यरुपमा काम गर्न नसक्नुको कारण एमाओवादी हो । किनभने, जति पनि महत्वपूर्ण मन्त्रालय छन्, ती सबै एमाओवादीले कब्जा गरेको छ । देशको शान्ति सुरक्षाको हालत यस्तो छ, कालोबजारी चरमचुलीमा छ, खुलेआम तस्करी भइरहेको छ । त्यसको जिम्मा गृहमन्त्रालयअन्तर्गत पर्छ, जुन एमाओवादीले सम्हालिरहेको छ । अनि पेट्रोलिय पदार्थमा अनियमिता, कालोबजारी र अनियमित किनबेच वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत भइरहेको छ, त्यो पनि एमाओवादीकै जिम्मामा छ ।
शिक्षा, वन, सामान्य प्रशासन जस्ता जनतासँग प्रत्यक्ष जोडिएका मन्त्रालय पनि एमाओवादीले नै सम्हालिरहेको छ । अब केपी ओलीसँग राम्ररी काम गर्नूस् है भनेर निर्देशन दिनुबाहेक गर्ने काम नै के छ र ?
केपी ओलीले मन्त्रिपरिषद् ठूलो बनाएर राष्ट्रिय ढुकुटीमा क्षति पुर्‍याउनुभयो भनेर चिन्ता व्यक्त गर्ने प्रमुख विपक्षी नेपाली कांग्रेस नै यसका लागि मुख्य जिम्मेवार छ । पूर्वसहमति अनुसार कांग्रेस, एमाले र एमाओवादीको सरकार बनेको भए २५ जना भन्दा बढीको मन्त्रिपरिषद बनाउनु नै पर्ने थिएन ।
भ्यागुता जोडेर धानी पुर्‍याउनुपर्दा कस्तोे हालत हुन्छ भन्ने शेरबहादुर देउवाहरुले यति छिटै बिर्सनु नपर्ने हो । प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा भनी पनि सक्नुभएको छ, यति ठूलो मन्त्रिपरिषद् बनाउने रहर थिएन ।
यसबीचमा प्रतिपक्षीको अस्वाभाविक असहयोगका बावजुद सरकारले केही काम थालनी गरेको छ । पुनर्निर्माण प्राधिकरणमा आफ्नै पार्टीको कार्यकर्तालाई प्रमुख कार्यकारी अधिकृत बनाउनुपर्छ भनेर कांग्रेसले महिनौँसम्म विधेयक नै पारित गर्न दिएन ।
मोहराका रुपमा अघि सारिएका मधेसी दलहरुलाई विश्वासमा लिएर सरकारले विधेयक पारित गराएको छ र क्षमतावान युवालाई त्यसको कार्यकारी प्रमुख बनाएको छ । अब नयाँ ऐन बमोजिम प्राधिकरणले पूर्णता लिनेछ र पुनर्निर्माणका कामले गति लिनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
प्रधानमन्त्री भएपछि केही औपचारिक र परम्परागत काममा सहभागी हुनुपर्छ भन्ने सामान्य ज्ञानमाथि पनि पर्दा हालेर प्रधानमन्त्री ओलीले स-साना कार्यक्रममा समय खर्च गरेको आलोचना पनि भइरहेको छ । कतिपय त व्यक्तिका स्वभाव र रुचिका कुरा पनि हुन्छन् । त्यही भएर केपी ओली अरु नेताहरुभन्दा भिन्न हुनुुहुन्छ ।
केपी ओलीको सरकारले मुख्यरुपमा काम गर्न नसक्नुको कारण एमाओवादी हो । किनभने, जति पनि महत्वपूर्ण मन्त्रालय छन्, ती सबै एमाओवादीले कब्जा गरेको छ
उखान टुक्का प्रयोग गर्ने, ठट्टा गर्ने, कलाकारहरुलाई बढी माया गर्ने, मन परेको मानिससँग कुरा गर्न थालेपछि समय बितेको पत्तै नपाउने, त्यही कारणले अर्को कार्यक्रम प्रभावित हुने जस्ता उहाँका केही सदाबहार विशेषतालाई अब आलोचनाका विषय बनाएर समय खर्चिनुको अर्थ छैन ।
सुरुको सय दिनलाई सरकारको हनिमुनका रुपमा लिइन्छ । त्यस अवधिमा रिक्त स्थानमा नियुक्तिहरु गर्ने, कर्मचारीहरुलाई प्रशिक्षित गर्ने, काम गर्ने सहजताका लागि उनीहरुलाई सरुवा गर्ने, काम गर्ने वातावरण बनाउने र अबको कामको दिशा यो हो भनेर संकेत गर्ने अवधिका रुपमा दुनियाँभर सय दिनलाई लिने गरिन्छ ।
तर, नेपालमा चाहिँ भन्नलाई सय दिन भन्ने तर सय दिन नकट्दै सरकारको आलोचना गरिहाल्ने अभ्यास छ । भारतले केही पनि गर्न नदिने नीति अंगीकार गरेर केपी ओलीका खुट्टा बाँधेको छ, अनि यस्तो बेलामा केपी ओली दौडिन सक्नुहुँदोरहेनछ भनेर आलोचना गर्नु न्यायोचित होला र ?
bishnu-rijal
विष्णु रिजाल
कठोरतापूर्वक भन्नैपर्ने हुन्छ, अबका दिनमा केपी ओलीसँग विगतमा जस्तो आशा नराखे हुन्छ । किनभने, उहाँको फरक व्यक्तित्व माओवादी उग्रवामपन्थको आलोचनाको जगमा निर्माण भएको हो भन्ने तथ्य सबैलाई थाहै छ । अरुले बोल्न नसकेका कुरा निडरतापूर्वक र सम्झौताहीन रुपमा बोलेकै कारण उहाँलाई माओवादी इतरका मानिसहरुले मन पराएका हुन् ।
सुरक्षा निकायले भरोसा गर्ने र लोकतान्त्रिक जगतले आशा गर्ने कारण पनि त्यही थियो । तर, अब त्यो अवस्था रहेन । एक त माओवादी स्वयम् हिजोको त्यो अवस्थामा रहेन भने दोस्रो उहाँ स्वयम् एमाओवादीको खुट्टामा उभिएर प्रधानमन्त्री बन्नुपर्‍यो । ‘उग्रपन्थी’हरुलाई मागेका मन्त्रालय दिनुपर्‍यो, ‘गुरिल्ला’लाई उपराष्ट्रपति बनाउनुपर्‍यो, ‘छापामार’लाई सभामुख बनाउनुपर्‍यो ।
विगतमा झलनाथ खनालले सातबुँदे सहमति गर्दा उहाँलाई उल्लीबिल्ली पार्ने ओली स्वयमले प्रधानमन्त्री हुनका लागि अनेक बुँदे सहमति गनुपर्‍यो । यी सबै परिस्थितिहरुका कारण केपी ओली विगतका छविभन्दा भिन्न ठाउँमा आइपुगेको तथ्यलाई बुझ्न आवश्यक छ ।
आमसञ्चार र सामाजिक सञ्जालमा केपी ओलीलाई लखेट्न सुरु भएको छ । विगतमा उहाँलाई भगवान मानेर देवत्वकरण गर्नेहरुले अहिले विद्रुप रुपमा चित्रित गर्न थालेका छन् । तर, अहिल्यै प्रधानमन्त्री ओलीको आलोचना गर्न बिल्कुल हतार हुन्छ ।
नाकाबन्दी ओलीका कारण सिर्जना भएको होइन र उहाँले चाहेर मात्रै जाँदैन पनि । यस्तो ध्रुवसत्य कुरा जगजाहेर हुँदाहुँदै ओलीको आलोचना गर्नु अन्याय हुन्छ ।
अहिले ओलीको तीब्र आलोचना गर्नुको अर्थ हुन्छः भारतसँग झुक, जे भन्छन्, त्यही मान र अडान लिएर गल्ती भयो भन ।
के हामी यसो भन्न चाहन्छौँ ?
(पत्रकार रिजाल बुधबार साप्ताहिकका सम्पादक हुन् )