भारीमाथि नानी बोकेर

Posted on: February 17, 2017 | views: 634

छेटु शेर्पा-
एक मन (४० केजी) को भारीमाथि सातमहिने छोरालाई कोक्रोमा बोकेर हिँडेकी हटिया– २ हुङगुङकी फुटिक भोटेलाई आफ्नो स्वास्थ्यको ख्याल छैन । सात महिनाकी सुत्केरी उनी गह्रौँ भारीको ढाकर बोक्छिन् र पाँच दिनमा घर पुग्छिन् ।


साथमा भारी अनि भारीमाथि कोक्रो बोकेर उनी दुई दिन लगाएर खाँदबारी आउँछिन् । अनि फेरि सामग्री खरिद गरेर पाँचाँै दिनमा घर पुग्छिन् ।

खाँदबारीबाट भोटखोला क्षेत्र जाने क्रममा गह्रौँ भारीको ढाकर अनि ढाकरमाथि नानीसहितको कोक्रो बोकेर हिँड्ने महिला यहाँ प्रसस्तै भेटिन्छन् । यस क्षेत्रमा यस्तो कामलाई स्वाभाविक र सामान्य रूपमा लिइन्छ । यस्तो कामलाई कुनै पनि पुरुषले साह्रो–गाह्रो परेको ठान्दैन ।

उत्पादित अन्नले तीन महिना पनि खान नपुग्ने भोटखोला क्षेत्रमा खाद्यान्नको जहिले पनि अभाव हुने गर्छ । हातमुख जोड्नै समस्या भएपछि यहाँका महिला खाद्यान्न र अत्यावश्यक सामग्री खरिद गर्न सदरमुकाम खाँदबारीमा आउने गर्छन् ।

पुरुषहरू मजदुरी गर्न अयन्त्र र विशेषतः व्यापार–व्यवसायका लागि भारततिर जाने गरेका कारण यहाँका महिलाले घरपरिवार आफैँ चलाउनुपर्छ । अभावैअभावको जीवन, त्यो पनि एक्लै बाँच्नुपर्दा महिलाले अत्यन्तै दुःख पाउँछन् । यतिसम्म कि कतिपय अवस्थामा ६ वर्षमाथिको बच्चाले घर सम्हाल्नुपर्ने अवस्था आउँछ ।

फुटिक भोटे पनि सात वर्षीया छोरीलाई घर हेर्ने जिम्मा लगाएर किनमेलका लागि सदरमुकाम हिँडेकी हुन् । फुटिक भन्छिन, ‘घरमा दुईवटा गाई र दर्जनभन्दा बढी कुखुरा छन् । तिनको रेखदेख मात्रै होइन, घर पूरै सम्हाल्ने सातवर्षे कलिली छोरीले हो ।’

ठूलो भारी त्यसमाथि कलिलो बालक बोकेर उकालो चढ्दै गरेकी उनले छोरा भोक लागेर रुन थालेपछि भारी बिसाएर बाटोमै स्तनपान गराइन् । उनको बाध्यता कस्तोसम्म छ भने घरमा चाहिने सामग्री सकिनेबित्तिकै सात महिनाको नाबालक छोरो बोकेर घामपानीको वास्ता नगरी फेरि सदरमुकामतिर हिँड्नुपर्छ । बच्चालाई माया गर्ने भनेको बिसौनी र चौताराहरूमा स्तनपान गराउँदा हो ।

विपन्नता, चेतनाको अभाव, सानै उमेरमा विवाह गर्ने, सन्तान धेरै जन्माउने र बाबुले आफ्नो जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिका कारण भोटखोलाका धेरै महिलाले घरधन्दादेखि घरखर्चसमेत आफैँ जुटाउनुपर्छ । यस क्षेत्रका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन् । गाउँघरमा बसेका कतिपय पुरुष पनि जुवातास खेलेर समय खेर फालिरहेका हुन्छन् । जिल्लामा सक्रिय महिला अधिकारकर्मी सुनिता काफ्ले पुरुषले घरको कामको जिम्मेवारी राम्ररी पूरा नगरिदिँदा महिलाको अवस्था कमजोर भएको र स्वास्थ्यमा समस्या देखिएको बताउँछिन् ।

पूर्वी नेपालको कर्णाली भनेर चिनिने हटिया, चेपुवा, किमाथाङ्का र पावाखोला (भोटखोला) गाविसका ८० प्रतिशत महिला निरक्षर छन् । चेतनाको अभाव, घरनजिक विद्यालय नहुनु, अभिभावक निरक्षर हुनु आदि कारणले विद्यालय भर्ना हुन नसकेका यहाँका बालिकाको कलिलै उमेरमा विवाह हुने गर्दछ । विवाहपछि सम्पूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्दा उनीहरूको स्वास्थ्यमा समस्या आउने गरेको छ ।

पावाखोला गाविसका पूर्वअध्यक्ष वाङदाबी भोटेले महिलाको क्षमता विकासका लागि कार्यक्रमहरू भित्र्याउन कोसिस गरिरहेको बताए । यता महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सुनिता सुवेदी भने महिलाको क्षेत्रमा विभिन्न कार्यक्रम लाने प्रयास भइरहेको बताउँछिन् । सुवेदी भन्छिन्, ‘भोटखोलामा म आफँै पुगेँ । यस क्षेत्रका महिलाको अवस्था दर्दनाक रहेको देखेँ ।’

हुन पनि सामाजिक कामदेखि घरसम्म सबै महिलाले नै सम्हालेका छन् । दोहोरो कामको मारले गर्दा उनीहरूको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । स्त्रीप्रधान रहेको भोटे समाजमा महिला अन्य जातको भन्दा बढी परिश्रम गरिरहेका हुन्छन् । चेपुवा गाविसका सचिव बुद्धिबहादुर घिमिरे भन्छन्, ‘पुरुषलाई अन्य काममा लगाएर आफूले घरबार चलाउने प्रचलन रहेछ । त्यसैले पनि होला यहाँका महिलामा सुत्केरी अवस्थामा पनि स्वास्थ्य, पौष्टिक खानपानको चासो नगर्ने प्रवृत्ति रहेछ ।’
(सञ्चारिका फिचर सेवा/छेटु संखुवासभाका पत्रकार हुन् ।)