व्यवस्था बदलिँदैमा इतिहास बदल्न खोजेर राष्ट्रनिर्माता पृथ्वीको योगदान भुल्नु दुर्भाग्यपूर्ण

Posted on: January 10, 2017 | views: 528

काठमाडौं—करिव १ दशक अघि सम्म पौष २७ गतेका दिन देशव्यापी रुपमा सार्वजनिक बिदा सहित मनाईने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस गणतन्त्र घोषणा पछिको सरकारले औपचारिक रुपमा राजतन्त्रकालीन तमाम निर्णयसँगै खारेज गरे पनि केही राजनीतिक दल र कतै नागरिक स्तरबाट देश विदेशमा हाल सम्म पनि मनाईरहेको परिवेशमा यस वर्षको २९५ औं अझ विशेष हुने परिस्थिति देखिएको छ।


आजका दिनमा झन्झन् राष्ट्रको सार्वभौमसत्ता कमजोर हुँदै जाँदा त्यस्तै राष्ट्रिय एकतामा विभिन्न राष्ट्रिय अन्तर्रास्ट्रिय तत्वबाट प्रहार भइ त्यसको जग मक्किँदा वर्तमान समयमा पृथ्वीनारायण नारायण शाहको नेपाल एकीकरण र राष्ट्रिय एकताको महत्व अझ बढेर गएको छ समयान्तरमा यसको सान्दर्भिकता सिद्ध हुँदै गईरहेको छ।


आज भन्दा २९५ वर्ष अघि गोरखामा जन्मिएर केवल २० वर्षको उमेरमा नै राजगद्दी सम्हालेका उनको त्यो वीरता र राजपाठ संचालनको चातुर्यता आजका पुस्ताका लागि कुनै दैव्यशक्तिको प्रभाव भन्दा कम छैन जसले तत्कालीन परिस्थितिमा बाईसे चौविसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरि आजको एकीकृत नेपालको स्वरुप दिए जून भूगोलमा हामी अहिले छौँ ।


त्यसको जग बसाल्ने महान कार्य उनको दूरदर्शिताको प्रतिफल थियो यदि उनले त्यसो नगरेको भए त्यसपछी संसारभर चलेका औपनिवेशिकताको हुरीले नेपाललाई कि त भारतमा लगेर गाभिदिन्थ्यो कि त तिब्बत तिर रहन्थ्यो । यो तथ्यपरक इतिहासलाई आज हामीले जनताको स्तरबाट अवमूल्यन गरिरहेका छौं जून निकै दुर्भाग्यपूर्ण छ।


गणतन्त्रको उपलब्धि सँगै इतिहासलाई जसरी अनेकन कुतर्क र सिद्धान्तका आधारमा अपव्याख्या गर्दै बदनियत मात्र गरिएन भर्खरै जारी भएको संविधानमा समेत यहि अपमानलाइ लिपिबद्द गरियो । ताकी यसबाट आगामी दिनमा आउने सन्ततिलाई सत्यता बाट वन्चित गरियोस् र इतिहास प्रती उनीहरूको गौरव नभई घृणा होस् यसलाई सिमित व्यक्तिले नेपाल माथी लादे जसलाई जनताले अनुमोदन गर्यौं।


भनिन्छ कुनै पनि राष्ट्रलाई कमजोर बनाई त्यसको अस्तित्व मेट्ने कोसिस गरिन्छ भने सबैभन्दा पहिले त्यसको इतिहासलाई बदनियत गर्दै मेटाउने कोसिस गरिन्छ जसमा आफ्ना मौलिकता सबै मेटिन्छन जहाँ बिगतप्रती आफ्नो गौरव हुँदैन ठीक यस्तै प्रयोग नेपालमा पनि हो। यहाँ गणतन्त्रवादी हुनु राजतन्त्रको विरोध र इतिहासको अपमानलाई मात्र मापदण्ड तय गरियो अनि यसैको आधारमा देशका बौद्धिक व्यक्ती समेत आफूलाई राजतन्त्रवादीको ट्याग हटाई गणतन्त्रवादी मुकुट पहिरिन चुपचाप बसे ।


त्यसै अनुसार नै ठाउँ ठाउँका शालिक उनका नामबाट नामाकरण गरिएका राष्ट्रिय धरोहर अनि हरेक सरकारी कार्यालयबाट तस्वीर र नाम हटाउन उर्दी जारी गरियो यसैको प्रभाव आममानिसको घरघर सम्म पनि पर्यो त्यहाँ बाट समेत निकालियो सँगै आमनागरिकको मनबाट निकाल्न खोजेको प्रयास सफल हुन सकेन र त आज नागरिक यसरी आफ्नो स्तरमा यसको अस्तित्व जोगाउन लागिपरेका छन। तर तत्कालीन शैन्य नेतृत्वको अडान र आजको शैन्यबलका संस्थापक सेनापतीका रुपमा नेपाली सेनाले हटाउन मानेन र अझै जंगी अड्डामा त्यो देख्न सकिन्छ तर पछि एकाध स्थानमा शालिक समेत पुनर्निर्माण गरिए।


आजका तमाम गणतन्त्रवादीको तर्क छ कि उनी निरंकुश , तानाशाह , नरसंहारका नाईके , जातीय विभेदका नाईके जस्ता यी सबैलाई आधार बनाएर उनको योगदान हामीले बिर्सन सक्दैनौं र यिनका आधारमा न उनको योगदान नै कमजोर हुन्छ। आज भन्दा करिव २७५ वर्ष पहिलेको परिस्थितिमा आजका गणतन्त्र भन्ने कतै अस्तित्वमा थिएनन र साथै संसारले पनि राजा बिनाको राज्यको परिकल्पना गर्न सक्दैनथ्यो कुनै राज्यले तब मात्र राज्यको दर्जा पाउंथ्यो जहाँ राजा हुन्थे त्यही परिस्थितिमा उदाएका हुन पृथ्वीनारायण शाह ।


जसले तत्कालीन समयमा सबै अस्त्र प्रयोग गरि राज्य एकीकरण गरे धेरै शैन्य युद्ध त थोरै सम्झौता समेतले आजको एकीकरणको जग बसाले तर नेपालको दुर्भाग्य नै भन्नु पर्छ उनी निकै कम समय मात्र जिवित रहे तर देशका राजा नै अग्रपंक्तिमा सेनापती झैँ खटिएर आफैले युद्ध गरे। त्यो समयमा राष्ट्र बन्ने परिपाटी त्यही थियो त्यसै गरि नै बनेका हुन आजका अस्तीत्वमा रहेका अधिकांश राज्य।


विश्वशान्ति र सार्वभौम राष्ट्रमाथी बिनाकारण तेस्रो राष्ट्रमाथी आक्रमण नगर्ने अवधारणा त दोश्रो बिश्वयुद्द पछि संयुक्तराष्ट्र संघको गठनसँग मात्रै शुरु भएको हो यद्यपि सत्याग्रहबाटै स्वतन्त्र राष्ट्रको अस्तित्व बनाउने भारतले आफ्नो स्वतन्त्रता आन्दोलन पश्चात् पनि हैदरावाद लगायतका केही राज्यलाई भारतमा बिलाउन शैन्ययुद्द गरेकै हो। उक्त समय हत्याहिंसा र शैन्यहस्तक्षेप नै शक्तिसन्तुलनको एकमात्र अस्त्र थियो यहि अस्त्र आजपनी छ त्यसैले यी सबै आधारमा आजका आरोपलाई सिधै नकार्न सकिन्छ उनी आजको आधुनिक नेपालका राष्ट्रनिर्माता नै हुन।


समय कालखण्ड अनुसार अन्तर्रास्ट्रिय राजनीतिमा समेत व्यवस्था परिवर्तन हुँदै गए क्रमशः राजतन्त्रको अस्तित्व संकटमा पर्दै जांदा नेपालमा समेत यसको प्रभाव पर्यो नेपालको जग बसालेर समृद्ध नेपालको कार्यभार आफ्ना सन्ततिमा सुम्पिएका पृथ्वीका सन्ततिले राज्यपाठ जनताका अपेक्षा अनुसार संचालन गर्न सकेनन् र जनताको निर्णय प्रक्रिया बाट औपचारिक रुपमा राजतन्त्र विदा भएको हो। स्मरण रहोस् राजतन्त्र ब्यवस्था बिदा भएको त्यसको समग्र इतिहास होइन जसले आजको जग बसालेर हामीलाई भूगोल , राष्ट्रियता र राष्ट्र दिए तिनलाई हामीले अलग व्यवस्थाका नाममा बिर्सनु भनेको आफ्नै राष्ट्रियता माथी र स्वयम् आफै माथीको अपमान हो।


त्यो समयमा उनले प्रतिपादन गरेका धेरै सिद्धान्त आज पनि हाम्रा लागि उत्तिकै सान्दर्भिक छन् उनका दिव्यउपदेश आज पनि हाम्रो नेपाललाई एकताको सुत्रमा सूत्रबद्ध गरि वैदेशिक नीति संचालन गर्न उपयोगी छन् अझ तिनै जगमा आज नेपालले आफ्नो वैदेशिक सम्बन्ध संचालन गरिरहेको छ भन्दा फरक पर्दैन तर छिमेकी संगको सम्बन्धमा हालका दिनमा लम्पसार परेकै हो । उनका दिव्यउपदेशका निति नमान्दाको परिणाम आज देशको एकता कमजोर र धार्मिकरुपमा समेत अन्यको हस्तक्षेपले सिंगो राज्य कमजोर हुंदैछ।


हरेक देशका आ–आफ्ना इतिहास छन् कुनै उपनिवेश बाट मुक्त भए भने केही तत्कालीन समयमा कायम रहेका कुनै देशबाट छुट्टिएर आफ्नो अस्तित्व कायम गरे त्यता व्यवस्था जुनसुकै होस् कसैले उपनिवेश बाट छुटकारा र कसैले कुनैबाट स्वतन्त्र बनाउनेलाई राष्ट्रपिताका दर्जा दिए। हाम्रो छिमेकमा भारतमा महात्मा गान्धी लाई त्यो दर्जा दिए जसले भारतलाई बेलायती उपनिवेश बाट मुक्त बनाए त्यस्तै बंगलादेशमा बंंगबन्धु शेख मुजीवुर रहमान जस्ले पाकिस्तान बाट स्वतन्त्र बंगलादेश बनाए ।


हाम्रो नेपालको जस्तै एकीकरण गरि नयाँ राज्य खडा गर्ने युएईका शेख जायद अल नाह्या पनि राजतन्त्रका राजा थिए त्यहाँ र हाम्रो अवस्था फरक होला तर आखिर राष्ट्रनिर्माता त हुन नै। के राजतन्त्रकालीन समयमा राजा भएकै कारण र नेपालमा गणतन्त्र स्थापना भएकैले उनले राष्ट्रनिर्माताको दर्जा नपाएर इतिहासलाई अपव्याख्या गरि अपमान सहनुपर्ने ? के उनले आजको नेपाल निर्माण गरेर हामीलाई दिएर अपराध गरे र त्यसैको सजाय हो हामीले अहिले उनलाई दिएको ? व्यवस्था जुनसुकै होस् देशमा इतिहास सधैंव गौरवान्वित हुन्छ त्यसैले राज्यलाई समेत दवाव दिई जनताको तहबाट उनलाई सम्झन बिर्सनु हुँदैन आजको यो पुस्ताले उनलाई सम्मान गरे मात्र इतिहास जोगिन्छ जून हाम्रो कर्तव्य पनि हो।

recentnepal.com