'हो म देशमा केही गर्न नसकेरै पर-देश पसें' :गोकर्ण अधिकारी

Posted on: January 08, 2017 | views: 3124

त्यतिखेर म पर-देश पस्ने पक्का भयो, जब पानी पोखरीमा रहेको जापानी दूतावासले मलाई जापान बसाईको एक बर्षे अनुमतिपत्र दियो ।

भित्रि चाहना भन्दा पारिवारिक इच्छा अनि मित्र मदनको पहलमा पर देश पस्ने कुरा ख्यालख्यालमै सुरु भएको थियो । एक सरो कागजात पठाउनु बाहेक भाषा, भिषा र काम सिक्ने मेरो तयारी देश छाड्नु एक महिना अभिसम्म शुन्य जस्तै थियो ।

सिमित परिवारका सदस्य, एकाध मित्र बाहेक मैले खुलेर परदेश पस्ने र पसेको कुरा अहिलेसम्म पनि कसैलाई भनेको थिइन । कारण, पर देशमा पस्नु पर्दाको यो पिडा परचक्रीलाई मात्रै थाहा हुँदो रहेछ । र त म पिडाका खातमाथि मुस्कानको एक थुंगा हाँसो फोटाहरुमा पोतेर म पोखिरहन सकिराखेको छैन ।

एनजिओको जागिर, राम्रै नयाँ मोटरसाईकलको दैनिक यात्रा, अनलाईन वेवसाइट चलाउन आफ्नै कार्यालय अरुले हेर्दा रहर लाग्दो मेरो दैनिकि मलाई भने औषत लागिरहेको थियो । सहकर्मी साथिहरुको लागि लोभलाग्दो त्यो खालको जागिरबाट राजिनामा दिएर आफ्नै व्यवसाय सुरुगर्ने अठोटले मैले काम छाडेको थिएं, जापानको भिषा लाग्नु भन्दा एक महिना अघिनै ।

खाइपाइ आएको जागिर पनि छोडेपछि अनलाईन मिडियामै केही गर्ने अठोटले कार्यालय व्यवस्थापन, काम गर्न मान्छे राखिसकेको म जापानको लागि मैले गरेको निवेदन जापान सरकारले स्विकृत गरेको यताको खवरपछि उता बिचलित हुन पुगें ।

एउटा अध्यायको सुरु हुँदै गर्दा दोस्रो अध्याय सुरु हुँदा म बाध्य भएर पहिलो अध्यायलाई अल्पविराम लगाउन तिर लागें र पर देशको पोका पन्तुरा कस्नतिर लागें ।

हप्तादिन अघिनै परिवार, आफन्त, नातागोता भेटेको मैले उड्नु केही अघि मात्र केही मित्रहरुलाई खवर गरें देशमा केही गर्न नसकेर म पर देश पसें है भनेर ।

मैले देशबाट के पाएं हैन, देशलाई के दिन सकें भन्ने उक्तिलाई उतिबेलै देखी मानेको मैले कहिल्यै देशलाई सरापेर पराया देशको न भक्ति गाएको छु न त जुठोपुरो नै खाएको । किनकि मैले मुखमा रामराम बोलेर बगलीमा भारुराम गर्ने धमला चाटुकारिताबाट कहिल्यै केही सिकिन र सिक्न चाहिन जो मेरो गुरुले मलाई व्यवसायिक पत्रकारिताको सुरुवातदेखी आज उप्रान्त कम बोलेरै धेरै सिकाइरहेका छन् ।

यो साँच्चो हो कि देशमा केही गर्न नसकेर परदेश पसेका हुतिहाराहरु मैले भन्ने गरेको त्यो पंक्तिमा अहिले म आफैं उभिएको छु । देशमा केही गर्न रुपैयाँ निकाल्न नसक्ने ठान्नेहरु पर देश पस्न दशौं लाख खर्चन तयार त्यो भिंडको एक सदस्य म पनि बनिसकेको छु । फरक यत्ति हो मेरो कर्म क्षेत्रको रुपमा रहेको एक पत्रकार प्रेम बानियाँ म पर देश पसेको झण्डै एक बर्षपछि पसे, म बर्षदिन अघि नै ।

काठमाडौंका अग्ला बग्रेल्ती घरहरुदेखेर मेरो परिवारले आफ्नै सानो छानोको आसमा म परदेश पसिदिए हुन्थ्यो भन्ने मनसाय राख्ने गरेको मैले नबुझेको होइन । मेरो साथिले पढाइले मात्र पार नलाग्ने देखेपछि पछिको लागि पैसा कमाउन देश छाडेर आए हुन्थ्यो भन्ने गरेको पनि मैले बुझेकै थिएं । तर यत्ति न उनिहरुले बुझे न मैले बुझाउन सकें देश दुख्दा रुने मेरो मन परदेशमा पैसासँग साटेर न खुशी पाउन सक्छु न भोलिको सपनामा बर्तमानको सपनालाई सति पठाउन नै । जसै गरेपनि अन्तत म पर देश पसें र आज दिन गन्दा ३ सय ७६ दिन दिन भएछ ।

मेरो पर देश यात्राको बिदाईमा बुवा आमाको खुशी मिश्रित त्यो आँसु, परिवारको आँखामा छचल्किएको मायाँ र आशा, एउटा साथिको बिछोडमा बिमानस्थलसम्म आएका मित्रहरुको त्यो साथ र मैले मातृभूमि छाडेको त्यो पल एकएक गरेर मानसपटलमा दृश्य बनेर झन् पछि झन् ताजा बन्दै बसिरहेको भान हुन्छ । जब हरेक रात यि पलहरु मेरो लक्ष्य र मातृभूमि सम्झाउन सपनी बनेर आइरहन्छन् ।

तुलसा मठको माटो समात्दै यहाँ देश बोकेर बाँचिरहेको म त्यो दिन विछिप्त भएं जुन दिन मेरो एक मित्रले देश छाडेको म जस्ताहरुले देशमा बसेर बर्बाद गर्नेका बिरुद्ध समेत बोल्ने अधिकार हुन्न भन्दै मेरो यो आलेखको शिर्षक आसयमा मलाई सम्झाए ।

बाँकी आलेख दोस्रो भागबाट "मेरो जापान यात्रा" शिर्षकमा प्रकाशित हुनेछ ...