मायाँको बाहनामा यसरी हुन्छ महिला हिंसा : सुस्मिता न्यौपाने

Posted on: November 24, 2016 | views: 3978

हिजो दिउँसो तिरको कुरा हो , म परिक्षा सकाएर हिड्दै कोठा भएतिर आउँदै थिएँ । धेरै टाढा नभएकोले गाडी चढिन । कलंकी चोकबाट बाफल सम्म हिड्नुपर्ने । रोडको साईडमा हिड्दै थिएँ, पछाडिबाट अकस्मात् एउटा मोटरसाइकलले हर्न बजायो । गल्ती गरेँ क्यारे जस्तो लागेर अलि छेउतिर लागेँ । मोटरसाइकल मेरो नजिकैबाट मतिर हेर्दैहेर्दै बिस्तारै अघि बढ्यो । मैँले पनि हेरेँ, मास्क लगाएको हेलमेट लगाएको मान्छेको आँखा मात्रै देखिन्थे त्यो पनि गिद्दे दृष्टिले मतिरै हेर्दै गरेका । उ अगाडि बढ्यो र केही सेकेन्ड हिडेर रोकिराखेको गाडिहरुको आडमा पुगेर बाइक रोक्यो । म हिड्दै त्यहीँ पुगेँ । शुरुमा सोचेँ, कोही चिनेको मान्छे पो हो कि ? बोलुला झै गरेर मैतिर उही दृष्टिमा हेर्दै थियो तर उ मलाई अपरिचित लाग्यो, अघि बढेँ । फेरि केही अगाडि उसैगरी बाइक रोक्यो, अब भने मलाई उ माथि शंका लाग्यो त्यो भएपटि नहेरे जसरी बाटो लागेँ तर खै कुन्नि के भनेर उस्ले मलाई बोलायो र नजिकै बाइक ल्याइपुर्यायो । मैलेपनि खाँउला झै गरि हेरिदिएँ बल्ल उ अघि बढ्दैथियो । संयोगबस मेरो दाजु बाइक लिएर आइपुग्नुभयो र म पछाडि बसेर बाटो लागेँ त्यसपछि त्यो मान्छेलाई मैले देखिन ।


म क्याम्पस गएर नियमित पढ्न थालेको धेरै भएको छैन । एम.एड. दोस्रो वर्षकी विद्यार्थी । सामान्यतया: यति पढाइ हुनेलाई उच्च शिक्षा पाएका शिक्षित ब्यक्ति भनिन्छ । हरेक दिन क्याम्पस जाँदा लामो कुर्ता सुरुवाल लगाएर पछाडि ब्याग भिरेर सामान्य रुपमा जाने गर्छु । एकदिन दुईदिन गर्दै सँगै अध्ययन गर्ने साथिसङ्गीहरु परिचित हुन थाले । सामाजिक सञ्जाल फेसबुकको व्यापक प्रयोगबाट म पनि अछुतो छैन । केही पुरुष मित्रहरूले सबैभन्दा पहिले साथी बन्ने अनुरोध गर्नुभयो, स्विकारेँ । नियमित सामान्य गफगाफ हुन थाले । सबै मित्रहरूसँग पढाइका, क्याम्पसका, परिक्षाका विषयमा विषेश कुरा हुन्थे । ती मध्ये एकजना साथी अलिक बढि नै नियमितता देखाउनुहुन्थ्यो । उहाँ फेसबुकमा पनि ब्युटि भनेर सम्बोधन गर्ने गर्नुहुन्थ्यो । ननिको लागेर नभन्नुस् भन्दा पनि उहाँ भनिरहनुहुन्थ्यो । केहिदिन अघिको कुरा हो, म टाउको दुखेर थलिएको थिए । केहिबेर सुतेर फेसबुक चलाउने सोचेँ । उनैको सन्देश थियो, के छ खबर ? परिक्षा कस्तो चल्दैछ आदि । प्रतिउत्तर दिए । अनलाइन नै रहेछन् । गफ सुरु गरिहाले । केहिबेरको कुराकानी पछि टाउको दुखेको जनाउँदै मैले बिदा भएर फेसबुक बन्द गरेँ । भोलिपल्ट फेसबुक खोल्दा उनको सन्देश थियो, " लामो हाँसो । केरा लिएर आउँ त भेट्न ? " यो कस्तो प्रकारको समवेदना हो ? टाउको दुखाइ बताएपछि हाँस्नु, त्यसपछि केरा लिएर भेट्न आउँछु भन्नुलाई मैँले कसरी बुझ्ने ? टाउको दुखाइको औषधी के हो मलाई थाहा छ, न कि केरा । तुरुन्तै जवाफ दिएँ, भो खाँचो छैन तिमी जस्ता साथी । दुई अर्थी कुरा गरेर मजा लिन खोज्छौ ? अर्कोको दुख हाँसेर उडाउछौ ?


फेसबुक मै भएको अर्को घटनाको कुरा गर्दा एक नाम चलेको गैरसरकारी संस्थाका माथिल्ला तहका पुरुष कर्मचारी साथीको रुपमा थिए । उक्त संस्था सँग राम्रो चिनजान रहेपनि उनिसँग प्रत्यक्ष भेटघाट भएको थिएन । मैँले काम गर्ने संस्थामा मैले गरेको कामको उनले काम गर्ने संस्थामा निकै प्रशंसा हुन्थ्यो र यो जानकारी उनलाई थियो । त्यसैले पनि होला नियमित कुराकानी गर्नेमा उनी पनि पर्थे तर उनका सम्बोधन पनि उस्तै हुन्थ्यो । "ब्ल्याक ब्युटि, काली, राम्री" आदिआदि । म भने उनलाई सम्मानजनक शब्दहरुको प्रयोग गर्थें । कहिलेकाही त्यस्तो नभन्नुस् भन्दै गर्दा केही दिन नभन्ने र फेरि दोहोर्यादउने गर्थे उनी । वास्तवमा उनी थिए एक आठदश वर्षकी छोरीका बाबू । एकदिन उनले सिमा पार गरे । खास जसरी बुझ्यो कुराहरु त्यस्तै हुन्छन् भन्ने गरिन्छ तर मैँले जे बुझेँ त्यसले मैले आफुलाई हिंसा गरेको बुझेँ, असह्य भयो। "I love you Kali Beauty" उनको सन्देश । उनी ठुला मान्छे, के भनेर गालि गर्ने त ? कुनै दिन तपाईंको यो सन्देश काम लागोस्, मैले उत्तर दिएँ । उनी बल्ल हिचकिचाए, डराए । नरिसाउनुहोला, माफी पाउँ भनेर केहि समय हराए । आजभोलि उनले सन्देश शुरु गर्दा 'नमस्ते' बाट शुरु गर्छन् । महिला सशक्तीकरणका विषयलाई चर्को रुपमा उठाउने संस्थाका पहरेदार उनी आँफै यस्ता थिए भने अरुबाट के आशा गर्ने ?


६/७ कक्षातिर पढ्दा गुरुहरु हुनुहुन्थ्यो । हामी बिद्यार्थी उहाँहरू सँग ज्ञानगुनका कुरा सिक्थ्यौ । तर एक्लै फेला पर्दा उहाँहरू पनि मौकाको फाइदा लिइहाल्नुहुन्थ्यो । "कस्ले कपाल कोरिदियो? कसले गाजल लगाइदिएको ? जुम्रा हेरिदिन्छु।" भन्दै असहज लाग्ने तरिकाले शरीर छुन खोज्नुहुन्थ्यो उहाहरुमध्ये कोहि कोहि । यस्तो सधै त हुदैनथ्यो तर जे होस्, त्यसपछि ती गुरुहरुका छेउ पर्न, प्रश्नहरू सोध्न अनि गृहकार्य गरेर बुझाउन मन कहिलै लाग्दैन थियो । उहाहरुले बिर्सिपनि सक्नुभयो होला मैले यस्तो गरेथेँ भनेर अनि सायद उहाहरुलाई गलत गरेँ भनेर महसुस नै भएन होला । नत्र आजभोलि पनि नजिकका कतिपय साना नानीहरू हिचकिचाउँदै सकिनसकि गर्छन् उहीँ ब्यवहारका कुरा । सबै गुरुहरुले यसै गर्नुभएन तर हिंसाको अनुभव दिलाउन केही गुरुहरुका ती अनुहार नै काफि छन्, दिल खोलेर प्रतिभा प्रस्फुटनमा रोक्नका लागि, सिर्जनशीलतालाई खारिनुका सट्टा बन्द गराउनका लागि ।


यस लेखलाबुई पढ्दै गर्दा कति पुरुषलाई लाग्ला यसले हाम्रो पर्दाफास गरि, अनि कतिले त्यो हिंसक गलत रहेछ भन्लान् र कोहिकोहिले आफैंले गरेका कृत्यहरु स्मरण नै गर्लान् । भने जो महिलाहरूले अध्ययन गर्लान् ती मध्ये कतिका समान भोगाइ हुनेछ यो कथा भने कतिले असल काम गर्न, शक्तिशाली हुन महिले भएकोले नरोकिने अन्दाज लगाउलान् । तिनै उच्च क्षमतावान केही महिलाहरुलाई पर सारेर बाँकी मध्यम र निम्न स्तरीय महिलाहरूको कुरा गर्ने हो भने यो भोगाइ यो पीडासँग मेल खानेछ र कतिपयका पीडा अझै दर्दनाक हुनेकुरामा दुईमत छैन जो शिक्षित पनि हुनुहुन्छ, अझ अशिक्षित र ग्रामीण भेगका महिलाहरूको भोगाइका पीडा त स्मरण गरिसाध्य छैन । जो महिलालाई हिंसा पिडित भएको थाहा छ उनी दुखले छट्पटिनेछिन भने पिडित भएको थाहै नपाउने चाहिँ चुपचाप रहनेछिन् अन्जान अबोध बालबालिका जसरी ।


उल्लेखित साझा समस्याहरू महिलाले महिला भएकै कारणबाट भोग्ने समस्याहरु हुन् । न त कुनै कानुनी रुपमा प्रमाण नै पुग्ने, न त समाज साक्षी राखेर दोषीलाई यसको दोष य१ हो भनेर औला उठाउन मिल्ने यस्ता हिंसात्मक अनगिन्ती पिडाबाट गुज्रिएर पनि यहि समाजमा आफ्नो स्थान, मान र नाम राख्न सक्नु वास्तवमा एक पुरुषले विना हिचकिचाहट शिखर चढेभन्दा कम छैन एक महिलाका लागि ।


हिंसा सहनु पनि गलत हो भन्ने गरिन्छ, कानुन प्रयोग नगर्नु पनि दोषी हुनु हो भन्ने गरिन्छ । तर कानुनले ठोस प्रमाण खोज्ने गरेको छ, महिलाका बेदना र भावनाको भाषा बुझ्दैन कानुन । यस्ता प्रकारका हिंसात्मक कृयाकलापको प्रमाणका रुपमा के प्रस्तुत गर्ने ? गाडिभित्र बनावटि असहजता सृजना गरेर महिलालाई दुख दिने पुरुषलाई कुन कर्तुत पेश गरेर सजाय दिलाउने ? बाटोमा केटिमान्छे हिड्दा छतबाट र झ्यालबाट तालि पिट्ने, सिठि बजाउने, जिब्रो पड्काउने केटाहरूलाई सजाय दिने कस्तो कानुन बनेको छ ? हर्न बजाउँदै केटीको अघिपछि गर्ने केटालाई कुन कठघरामा कसरी उभ्याउने ? नवबिबाहित पल्लाघरे दाजुले भाउजूको भन्दा तिम्रो प्रगति चाहन्छु तिमिलाई धेरै माया गर्छ भनिरहँदा गलत आफुलाई लाग्दालाग्दै पनि उ गलत हो भनेर महसुस कसरी गराउने ? यस्ता मानशिक हिंसापिडितहरुलाई सम्बोधन हुने कानुन कहाँ बनेको छ ? कस्को लागि लागू हुन्छ ? बास्तवमा हिंसा शारीरिक मात्र नभएर अन्य किसिमबाट पनि हुन्छ र सबै हिंसा दण्डनीय नभएको कुरा कानुन निर्माताहरुले बुझ्नु जरुरी छ । अन्तमा हिंसकहरुको बिकृत मनस्थितिको उपचार गराउनु नै हिंसा निर्मुल पार्ने अचुक उपचार हो कि ?

सुस्मिता न्यौपाने
कुमरी, नुवाकोट  
हाल : काठमाडौ ।