गाई तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टिकाको महत्व !

Posted on: November 01, 2016 | views: 810

शुभ दिपावली २०७२ सालको उपलक्ष्यमा संसारमा रहेका समस्त जीव मात्रमा माता लक्ष्मीले कल्याण गरुन भनि प्रार्थना गर्दछु।साथै जगतमा कसैलाई पनि दु:ख - कष्ट ,असैह्य - पिडा ,भोक - रोग - सोक,हिंसा ,छल - कपट खेप्न नपरोस्।सवै प्राणीमात्रमा गास - बास - कपास माता लक्ष्मीले पुर्याई दिउन।सवैमा दया - माया - करुणा - प्रेम -सद्भाव ,सद्बिचार - सद्ज्ञान , सामाजिक सेवा - परोपकारी भावना , राष्ट्रिय - भक्ति ,शान्ति - मेलमिलापको भावना बढेर जाओस् !सवैमा वैदिक सनातन धर्म प्रति आस्था - बिश्वास र श्रद्धा बढेर जाओस्।गरिवीको चपेटामा कसैले पनि बस्नु नपरोस्।देशले चाँडैनै निकास पाई नाकाबन्दी हटेर सर्व सुलभ रुपमा आफ्नो दैनिक उपभोग्य वस्तुहरु सहजै प्राप्तगर्न सकुन र सम्पूर्ण नेपालीहरुमा खुसीको वातावरण छाओस भनि सवैमा हार्दिक मंगलमय शुभकामना टक्र्याउँदछु ।

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ ।गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् ।गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ ।लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ ।कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।

यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।

गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्,यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोगगरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् ।नेपालका प्रमुख पर्वहरुमध्ये एक हो ।

तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ।नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ।नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ।वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरैगई भैलो खेल्ने चलन छ।यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ।यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
भैली र देउसीको महत्व !


अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए।श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर-घरमा, गल्ली-गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ।देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।


देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ, जो यस प्रकार छः
बताइन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादि लोकहरु हल्लिन थाले र देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्‍याउने आश्वासन दिए। त्यसपछि वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ' यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरुले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् ।

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।कार्तिकशुक्ल प्रतिपदा गोवर्धन पूजाको दिन ,यो दिन गाई ,गोरुको पूजा गरिन्छ।समुन्द्र मथनबाट निक्लिनु भएको कामधेनु गाईलाई लक्ष्मिको स्वरुप मानिन्छ।सर्वप्रथम नन्दबाबाले इन्द्रको पूजा गर्नु भएको थियो र भगवान श्रीकृष्णले थाहा पाएर त्यो इन्द्रको पूजा हटाई गोवर्धन पर्वतको पूजा गर्नु भएको थियो।गोवर्धन पर्वत स्वयम् परमात्मा भगवान श्रीकृष्ण बनि छपन्न भोग {छपन्न थरि भगवानलाई चढ्ने खानेकुराहरु}ग्रहण गर्नु भएको थियो।त्यसैले आजको दिन गाई ,गोवर्धनको पूजा सकेर प्रार्थना गर्नु पर्दछ।


"गोवर्धन धराधार गोकुल त्राणकारक।
विष्णुबाहुकृतोच्छ्राय गवां कोटिप्रदो भव।।
या लक्ष्मीर्लोकपालानं धेनुरुपेण संस्थिता।
घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु।।
गावो मे अग्रत:सन्तु गावो मे सन्तु पृष्ठत:/
गावो मे हृदय सन्तु गवां मध्ये वसाम्यहम्।।
- पृथ्वीको धारण गर्नुहुने गोवर्धन!हजुर गोकुलको रक्षक हुनुहुन्छ।भगवान श्रीकृष्णले हजुरलाई आफ्नु हातको कान्छी औंला माथि उठाउनु भएको थियो।हजुर मलाई कोटि-कोटि गाईहरु प्रदान गर्नुहोस किनकि लोकपालहरुको जो लक्ष्मी गाइकोरुपमा स्थित हुनुहुन्छ र यज्ञको लागि हजुर घ्यु प्रदान गर्नुहुन्छ वहाँले मेरो पापहरु नास गर्नुहुन्छ।मेरो अगाडी गाई,मेरो पछाडी गाई,मेरो हृदयमा गाइको निवास होस् तथा म गाइको बिचमा निवास गरौँ{बस्न सकौं}

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।

यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।

पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।

हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषत: रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिबाट लिइन्छ।

-पं बालमुकुन्द देवकोटा