'शिव रात्री' शिवजी' अनि म !!!

Posted on: May 02, 2016 | views: 474

                        बिहानको ४ बज्दा घडिको सुइ कहाँ कहाँ हुन्छ लगबग भुलिसके मैले तर आज 'महाशिवरात्री'     साथीहरु सँग पशुपती जाने योजना अनुरुप ४ बजे नउठी भएन । ३/४ जनाको योजना बल्खु बाट रिङ्गरोडको गाडी चढेर पशुपती जाने अनि भित्रै पसेर दर्शन गर्ने । हामी लगबग ५;१५ मा मात्र पशुपती पुग्यौ । मन्दिर पस्नेको लाइन देख्दा अब भित्र दर्शन गर्ने आट आएन लागेउ बागमती पुलपारी पट्टी ।

                         कोही खरानी घसेर सेताम्य भएका, कोहीको आफु भन्दा ठुलो कपालका लट्टा पालेका, कोही पूर्ण नांगा कोहि अर्ध नांगा बिचित्र बिचित्र थरीका 'बाबाजी'हरु को उपस्थिती देख्न पाइन्थ्यो। चिलिममा भरिएको गाँजा आफ्नै तालमा तान्दै थिए बाबाजीहरु अनि उनिहरुका वरिपरि झुम्म परेर बसेको हामी जस्तै तन्देरीहरुको जमात जसका आँखा लठ्ठ थिए ।

हामी पनि कौनसा सप्रेका थियौ र एउटा साथीले निकालिहाल्यो 'पाइलट' चुरोटमा भरिएको दुई 'स्टिक जि' । ४ जनालाई लगबग एक 'ट्रिप' पुग्ने गरी। त्यो ताने पछी हामी पनि लाग्यौ हाम्रो लागि दिन स्वर्ग बनाइदिन लायक बाबाजी खोज्न । खोइ केटाहरु कताकता लागे मोबाइल छदै छ क्यारे भेट भै  हाल्छनी भन्ने लाग्यो ।
               यत्तिकैमा पछाडिबाट मलाई कसैले कोट्ट्याय झै लाग्यो, फर्केर हेरे अनुहार लाम्चो, माथिको जटा सर्लक्क बाधेको, हाइट मेरो भन्दा अग्लो, अर्ध नग्न, 6 'प्याक्स' त होइन तर 4 प्याक्स थियो क्यारे । "किउ क्या हुवा बाबा जी ?" मैले सोधे
 "मैले तलाई नै खोजेको हुँ"
 ए बुढा त नेपाली बाबाजी रहेछ कस्तो अचम्म लाग्यो अनि मन मन रिस पनि उथ्ठ्यो सिधै 'त' भन्यो बुढाले भनेर तर फेरी सोचे बाबाजीहरुको बानी यस्तै हो क्यारे भनेर ।
मैले भने "म सँग धेरै पैसा छैन है बाबाजी बरु छ भने अली अली बुटी चखाउनुस् न
।"
बुढाले भने "त किन चिन्ता लिग्छस, आजको दिन म तेरै लागि पृथ्वीमा झरेको हुँ।"
भने पछी यि नेपाली बाबाजी झ्याप रहेछन ।        
 बुढाले आफुले तानेको चिलिम म तर्फ तेर्साउदै भने "मनमा मेरो नाम जप अनि  तान यो मेरो प्रशाद"
हेर्दा दाम्मी देखिने लामो थियो त्यो 'पट' अहिले सम्म कतै कतै नदेखेको । बुढाले आफुलाई 'शिव' नै सोचेका रहेछन क्यारे मलाई मन मन हासो लाग्दै थियो तर मलाई बाल आफुलाई चाहिएको 'बुटी' हो त्यो फ्रीमा खान पाएपछी जे सुकै सोचोस् आफुलाई ।     मैले चिच्याइ  'जय भोलेनाथ' भनेर चिलिम मुख तर्फ बढाए, बुढाले प्याट्ट मेरो हातमा हानेर भने "मलाई यो नाम मन पर्दैन अर्को नाम जपेर तान" । मैले फेरी 'जय शम्भु' भने, यसपाली बुढा केही हसिलो देखिन्थे 'चल् तान अब तर अली बिस्तारै' भने बुढाले ।
बुढाले भने जस्तै गरी बिस्तारै ताने । कस्सम एस्तो मिठो 'टेस्ट' त अहिले सम्म कहिले पाएको थिइन ।  "बब्बाल अख्खा माल रहेछ बाबाजी यो त, कहाँ बाट ल्याउनु भयो?",
"कैलाशबाट ल्याएको धेरै कुरा नगर त खुरुखुरु तान, अरु एकदुइ ठाउँ भ्याउनु छ आज" । म पुरै फिलिली थिए अनि हास्ने बहाना खोज्दै थिए अब बुढालाई जिस्क्याउनु पर्ला जस्तो लाग्यो र भने
"अनि प्रभु पार्वती मातेलाई किन ल्याउनु भएन त?"
उनले अली चिन्तिन मुद्रमा भने "यो बेलामा जहिले ठुस्स्स पर्छी म सँग, ठाक्क ठुक्क झगडा पर्याछ, आउन मानिन् "
यसै बेला खै कुन चै को मिस्कल आयो मेरो मोबाइलमा । निकाले र हेरे नाम बिर्सें । वालपेपर मा भएको गणेशको फोटो हेर्दै केही भाबुक भए बुढा " यो काँन्छो बिहे गरे देखी एक पल्ट भेट्न कैलाश आएन, खै कहाँ बेपत्ता भएछ, आजकाल कहाँ छ कहाँ थाहै छैन।"
मेरो मोबाइल एसो समाएर भने "ल केटा मेरो किर्तन बजा अब" । पहिले पशुपती आउदा रेकर्ड गरेको 'शिव तान्डब' थियो बल्ल बल्ल खोजेर बजाइदिय ।
"अहिले उफ्रिने मूड छैन ल भैगो बन्द गर"   मैले त्यो गीत बन्द गरे अनि राखे खल्तिमा ।
"हाम्रो कैलाशमा पनि एसो मोबाइलको टावर हाल्न्नु पर्ने, यो नेपाल टेलिकमको खास राम्रो चल्दैन रे अनि त्यो अर्को 'एनसेल' अलिक महँगो पर्दो रहेछ त्यसैले अझै सोच्दै छु"
बुढालाई यसको बारेमा पनि ज्ञान रहेछ, म अचम्म पर्दै थिए ।
" यस्तै  मौका पारेर अली अली  खायौ भने त म पनि खुशी हुन्छु तर आजभोली १८+ नभएका सानासाना बच्चाहरुले पनि खान थाले मेरो प्रसाद, साह्रै चिन्ता लाग्न थाल्याछ मलाई, पहिले भएको 6 प्याक्स घटेर 4 प्याक्स भै सक्यो दुब्लाय म यही चिन्ताले गर्दा ।"
बुढा अली भाबुक देखिन्थे अनि फेरी थप्दै थिए " तेरो देशको कानुन पनि के हो खै खत्तम नै लाग्न थालि सक्यो, भईचालो नै ल्याउदी कि जस्तो लग्याथ्यो तर अझै १ चानस दिउ भनेर बस्याछु म अहिले सम्म"                 
          मलाई कता कता हासो त लाग्दै थियो तर साँचै होकी जस्तो पनि लाग्थ्यो । गाँजा धेरै तानेर होला मेरो मुख सुकेर च्याप च्याप भै सकेको थियो । बुढाको एउटा झोला थियो हेर्दा 'लेदर' को जस्तो तैपनि पानी छ कि झै लागेर "बाबाजी पानी छ भने दिनुस् न मुख सुक्यो" भने,   बुढाले त्यो झोलाबाट सानो करुवा जस्तो निकाले हेर्दा सुन जस्तो टल्किने थियो त्यो अनी थोरै पानी पनि । यती पानी ले के पुग्लार तैपनि  चल्छ भनेर अलग्ग पानी खान थाले। आहा कती मिठो पानी, खादा खादा पेट टन्न भरियो तर त्यो करुवामा पानी जत्तिको त्यत्ती नै थियो अनी बल्ल मलाई विश्वाश लाग्न थाल्यो स्वयम 'शिवजी' मेरो सामु प्रकट हुनु भएको रहेछ ।
                 
                         मैले मेरा दुई हात जोडेर प्रणाम् गरे । बुढाले "छोड् नमस्कार गर्न" भनेर एक हात अगाडि बढाए र हात मिलाउन ईशारा गरे र भने "त्यस्तो चलन हाम्रो कैलाश तिर पनि हटी सक्यो केटो अब त यि यस्तै चल्छ।" मैले अप्ठेरो मानेर भएपनी हात मिलाए, बुढाको हात कडा थियो । "प्रभु तपाईंको हात किन यती कडा मैले प्रश्न गरे?" उनले भने " के गर्नु 'ब्रम्हाजि' रिटाएर्ड हुनु भयो अब खरानीको डल्लो घुमाउदै मान्छे बनाउने जिम्मा मेरो काधमा आएको छ आजकल, एकलट मेसिन चलाएर निकाल्ने गर्याथे तर तिनीहरुबाट खासै उपलब्धी भएन यो धर्तिमा, त्यसैले हातले गुनेका नै राम्रा निस्किने रहेछन भनेर हातैबाट बनाउने गर्याछु।      "मैले सोधे "अनी प्रभु हातबाट बनाएका सबै राम्रै बनेका छन त ?" बुढाले फेरी लामो ट्रिप तान्दै फ्याल्दै भने "कहिले काँही डल्लो सारो अनी गिलो भयो भने तेरो देशका नेता जस्तै प्रोडक्ट निस्किने गर्या छ नभए लमसम ठिकै छ अहिले सम्म।" मलाई पनि 'जि' ले ट्रिप दिदै थियो अनी फेरी अर्को प्रश्न गरे " प्रभु यो बाघको छाला नलगाएर किन धोती बेर्नु भएको त?" बुढा अली निरास हुँदै भने "के गर्नु केटो पहिले पहिले जस्तो मेरो चल्न छाड्यो,धर्तीमा आउँदा चेक पोस्टमा बसेकाहरु अली ज्याद्रो छन मलाई आउनै दिदैनन, अब बुढो हुनु भयो आराम गर्नुस् भन्छन त्यसैले कसैले नचिनुन भनेर नारद मुनीको धोती सापट मागेर काम चलाएको नि ,फेरी लाएर आइहाले पनि यहाँ तस्कर भनेर मलाई जेल चलान गर्लान छोड्दिने बहाना बनाएर घुस माग्लान तेरो देशको पैसा जताततै चल्दैन भनेर मैले ल्याएकै छैन त्यसैले नि।"
           दिन लगबग ढ्ल्दै थियो मैले भने "ल प्रभु आज तपाईं हाम्रो रुम तिर गएर बस्नुहोस् हजुरको सेवा गर्न चाहन्छु म"
"जान्न तेरो रूममा, चोखो निष्ठ पाक्दैन होला, पाहुना ल्याइस भनेर घर बेटी कराउने होलान, फेरी बिहानै उठेर नुहाउनु पर्छ पानी पनि छैन पिउने पानीमा रुघा लाग्ने किरा प्रसस्त हुन्छन फेरी यहाँ त, त्यसैले आज नाइट मै लाग्छु माथी, कतै जान्न आज"
हुन पनि हो जाउ भनेर मात्र के गर्नु आफ्नो समस्या आँफै सँग थियो फेरी, मैले भने "हजुर को जो मर्जी प्रभु"        
               आँखा पुरै लठ्ठ, जिउ पनि लल्याक लुलुक भै सकेको थियो, कति जती तानेयौ कति कुनौ लेखा जोखा नै भएन । अब त बुढा पनि हलनचल भै सकेका थिए । म सोच्दै थिए जसो तसो चक्रपथको माइक्रो चढे  पछी म त घर सम्म पुगी  हाल्छु तर बुढाको पिर लाग्न थाल्यो  मलाई । मैले भने "प्रभु अब भयो नतानौ" बुढा जंगिदै भने "त जाठो आज मात्रै खाको, म एही खादा खादा बुढो भको अब नसिकान केटो मलाई" मलाई पनि रिस उठ्यो, पृथ्वीमा झरेर पुरै दिन म सँग बिताए पछी अलि कति भए पनि स्याहार गर्ने जिम्मा मेरो हुने सोचे  मैले अनि कट्किदै भने "धेरै भाङ खाएर बाटोमा ल्याङ ल्याङ गरेउ भने छोडेर हिन्दिने हो, आफ्नै 'नन्दी'लाई बोलाउ।" बुढा फेरी निराश भए अनि भने "नन्दी बिचरा पोहोर साल म संगै राजधानी आउँदा हरियो घाँस भन्दै  प्लाष्टिक खाएछ अहिले आन्द्राको अप्रेसन गरेर रेस्ट गर्दै छ कसरी आउँला र बरा" म अली सम्यम भएर भने "अनि प्रभु के मा जानु हुन्छ त ? "
"यमराजले राँगो पठाइदिन्छु भन्याछन त्यसैमा जाने हो, बिहान पनि त्यसैलाई ल्याएको, फेरी यता छोड्दिउ भने 'म:म' बनाइदेलान भनेर माथि नै पठाएको छु भरे आउछ होला।"
खुशी लाग्यो जे होस् बुढा पुरै बन्दोबस्त सँग आएका रहेछन ।
 "अब म लाग्छु प्रभु" मैले भने ।
"हुन्छ जा केटा अब छिट्टै पृथ्वीबाट इन्जिनिएर झिकाएर कैलाश तिर पनि 'इन्टरनेट' जोड्छु अनि टुइटरमा भेटौँला ।"
"प्रभुलाई त यो सब थाहा रहेछ है।"
"अनी किन थाहा नहोस् त, म पृथ्वीको हरेक गतिबिधी सँग अपडेट रहन्छु, अब टुइटर एकाउन्ट खोल्छु र तिमीहरु सँग नजिकिन्छु ।"
मलाई खुशी लाग्यो यो कुरा सुनेर अनि फेरी एक ट्रिप खाने रहर जाग्यो
प्रभु मलाई अब लास्ट ट्रीप खाने रहर भयो"
बुढाले भने "यो अलिक कडा स्वाट्ट तान मजा आउछ।"   बुढाले भने अनुरुप नै मैले स्वाट्ट ताने ।

मोबाइलमा कसैको घन्टी बज्यो ,म झसंग भए, दिउसो को ४ बजेको थियो र अहिले पनि बिहानको ४ बज्दा जस्तै नै हुने रहेछ सुइहरु । साथीको फोन रहेछ उठाए । "ओए उठिस ? साले त्यती धेरै खाने हो बल्ल बल्ल खोजेर ल्याको तलाई, होस् मै थिएनस त " भन्यो ।
मैले "अ उठे थ्यान्कस यार" एत्ती भनेर काट्दिए फोन ।
राती अबेर सम्म पनि छत् घुमेको जस्तो लाग्दै थियो । मैले सपना देखे कि साच्चै भयो अहिले सम्म पनि रनभुल्ल छु । अब टुइटरमा कुनै दिन प्रभुले  डिएम गरेर साच्चै  हो भनेछन भने यो सपना होइन  भन्ने ठन्ने छु ।

 जय शम्भु !!!