पूर्व मूमा बडामहारानी बारे वरिष्ठ पत्रकार व्याकुल पाठकको मर्म स्पर्शी भावना

Posted on: August 23, 2016 | views: 733

जो जससँग सम्बन्धित छ !
यदि मेरी आमा भइदिनु भएको भए उहाँले उपयोग गर्ने रासनपानी, घरभाडा, बिजुली, औषधिउपचार सबै हामी दाजुभाइ मिलेरै बेहोर्ने थियौं ।

४४ वर्षको उमेरमा विधवा हुनुभएको मेरी आमा विष्णुदेवी २०७२ मंसिरमा ८४ वर्षको उमेरमा ब्रह्मलीन हुनुभयो । विभिन्न रोगका कारण उहाँ २० वर्षसम्म नियमित उपचारमा हुनुहुन्थ्यो । उहाँको अधिकांश उपचार मनमोहन कार्डियोथोरासिक एण्ड भाष्कुलर सेन्टर (त्रिवि टिचिंग परिसर, महाराजगन्ज)मा भयो ।

त्यहाँ सरकारले ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई उपचार र अस्पतालको फार्मेसीमा उपलब्ध औषधि नि:शुल्क दिने व्यवस्था मिलाएको रहेछ । हाम्रो निम्नमध्यमवर्गीय परिवार हो । अस्पताल जाँदा जाँदा हामीले हामीभन्दा पनि निमुखा जनता देख्यौं र त्यो सुविधा हामीलाईभन्दा उहाँहरूलाई बढी आवश्यक ठान्यौं । त्यसैले कहिल्यै त्यो सुविधा उपयोग गरेनौं ।

मनमोहन अधिकारीले वृध्दभत्ता घोषणा गरेको मितिदेखि नै हाम्री आमा राज्यले दिएको त्यो सुविधा लिन योग्य हुनुहुन्थ्यो । 'सरखारले दिएको सुविधा लिनु पर्छ' भन्ने उहाँको धारणा थियो तर आमाको दशधारा दूधको भारा तिर्न पनि आमाको लालनपालन गर्नु हामी छोराहरूको कर्तव्य हो भनेपछि वृध्दभत्ता नलिन उहाँ सहमत हुनु भएको थियो ।

यो हामीले हामीसँग पैसा धेरै भएर अथवा प्रचारका लागि गरेका थिएनौं । आफ्नै व्यवसाय शुरू गर्नुभन्दा अगाडि म सरकारले तोकेको न्युनतम पारिश्रमिकभन्दा पनि कम तलब तीन-चार महिनामा एकपटक थाप्ने अफिसमा काम गर्थें । दाजुहरूको कमाइ पनि त्यति राम्रो थिएन।अंश र दाइजो नपाएका छोरीहरूले पनि सघाए आमाको उपचारमा । ऋण गरियो कयौं पटक तर आमाको उपचार र लालनपालनका लागि भनेर व्यक्ति वा सरकार कसैसँग एक पैसा अनुदान मागिएन ।

जन्म दिने आमाबुबा भनेका साक्षात् भगवान हुन् । भगवानलाई चढाउने प्रसाद सकेसम्म अनुदानको लिएर जानु हुँदैन । यो मान्यता अनुसार आमाबुबाको उपचार-स्याहार-सम्मान गर्ने छोराछोरी, बुहारी धेरै भेटेको छु । हामीले त केही गर्न सकिएन भन्ने लागिरहेको छ !

यो मेरो परिवारको निजी कुरा सार्वजनिक गर्न चाहन्नथें । तर यो मुलुकको एकजना सम्मानित अग्रज जेष्ठ नागरिकलाई बिजुली नि:शुल्क दिनु पर्छ कि पर्दैन भन्ने बहस गरमा गरम रूपमा उठेकोले जनमत निर्माणमा सहायक होला भनेर यति लेख्ने धृष्टता गरेको हुँ । यसलाई कसैको विरोध र समर्थनको रूपमा नलिइदिनु हेला ।

मलाई लाग्छ सरकारले सुविधा दिने नै निर्णय गरेको भए पनि उपचार, आवास, बिजुली, गाडीको सुविधा आफ्नै खर्चबाट बेहोर्न नसक्ने पूर्वपदाधिकारी नेपालमा कोही पनि छैनन् । किनकि पदमा रहँदा नै उहाँहरूले प्रशस्त कमाइसक्नु भएको हुन्छ । उसले पाउने मैले किन नपाउने भन्ने ढंगले होइन उसले लिए पनि म लिन्न, राज्यको त्यो सुविधा मलाईभन्दा ज्यादा जनतालाई छ भन्ने साच्चिकै सम्मानित राजनेताको जन्म कहिले होला नेपालमा ?
मेरो एउटा प्रश्न छ- मान्छे जति धनी र ठूलो पदमा पुग्छ, उति लोभीपापी हुन्छ किन ?

पत्रकार पाठकले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको बिचार साभार गरिएको हो ।