कामरेड, कता पुग्यो वर्ग विश्लेषण ?? -बाबुलाल भण्डारी

Posted on: July 21, 2016 | views: 557

दोश्रो संविधान सभा चुनावको माहोलमा राजनैतिक सरगर्मी उच्च थियो । का. प्रचण्ड आफूप्रति विशेष अनुराग राख्ने वुद्धिजिवी समूह सहित मत निर्माणमा देश दौडाहामा हुनुहुन्थ्यो । वुद्धिजिवी र राजनैतिक विशलेषकहरु माओवादी पार्टीले दुई तिहाई स्थान जित्ने ठोकुवा गर्दै का. प्रचण्डलाई आत्मरती दिलाउदै थिए । तर मत परिणामका प्रारंभिक प्रवृत्तिकै बिच वहांहरु मतगणना स्थल नै छोडेर बाहिरिने अवस्था आयो ।

कसैले लेखेको छ , राजनेता आफ्नो अनुयायीको पनि अनुयायी हुन्छ रे ! नेतालाई अक्सर अगाडी देख्छौं हामी तर वास्तविकता त्यसो हुन्न । नेता वास्तवमा त्यही हो जसले समय भन्दा पहिले मान्छे कता गईरहेका छन् भन्ने थाह पाउंछ र त्यसै अनुसार चल्छ । यही नै उसको कुशलता पनि हो । पराजित नेता त्यो हो जसले मानिस कहां जादैछन् भन्ने नाडी छाम्न सक्तैन , चाटुकार माथि बढ्ता भर पर्छ , घमण्ड गर्छ र परिणाम देखिइ सकेपछि वल्ल आफु एक्लै परेको चाल पाउंछ ।

प्रचण्डको नामसंगै जोडेर यसरी सावधान गर्नुको एउटै तात्पर्य यही हो कि उनी नेपालको बाम आन्दोलनका एउटा अत्यन्तै आशालाग्दा अनुहार हुन् र देशभक्त, जनवादी र प्रगतिशील जनमतका उनीसंग धेरै अपेक्षाहरु छन् ।

अहिले चमत्कारी नेता क.प्रचण्डले बाम गठबन्धनको सरकारबाट बाहिरिने निर्णय सहित प्र.म ओलीे सरकार विरुद्ध ब्यवस्थापिका संसदमा एकाएक अविश्वासको प्रस्ताव दर्ता गरेर अर्को कलावाजी देखाएका छन् र जनमत उनको उग्र विरोध र समर्थनमा तिव्र ध्रुविकरण भइरहेको छ ।

का.ओलीमा एकलौटी स्वेच्छाचारी प्रवृत्ति रहेको र गठवन्धनको संस्कार र मान्यता प्रतिकूल चल्ने स्वभाव भनिए पनि माओवादी केन्द्र र क.प्रचण्डको मुख्य गुनासो ओलीले भद्रसहमति अनुसार सत्ता हस्तान्तरणमा आनाकानी गर्नु हो भन्ने स्पष्ट छ । नेकपा एमालेका अन्य शिर्ष नेताहरुको वकपत्र र गत बैशाखमा विकसित घटनाक्रमले पुष्टि गरिसकेको जगजाहेर कुराबाट पछि हट्नु प्र.म. ओलीको राजनैतिक इमानदारिता पटक्कै होइन ।

अन्तिम घडीमा आफूले राजिनामा गरी उनले विद्यमान गठवन्धनलाई बचाउन र आफ्नो पार्टीको हितलाई प्राथमिकतामा राख्न सक्थे । तर उनमा यति उदारता र दुरदर्शिता देखा परेन र उनी सत्ता मोहमा लिप्त हुंदै आफ्नो कर्तव्य पुरा नगर्ने अकर्मण्यता अर्थात “अमिसन” गर्न पुगे । यता ओलीले आफ्नै वाचा अनुसार गर्नुपर्ने कुरा नगरेर अमिसन गरे भने प्रचण्डले अझ अगाडि बढेर गर्न नहुने काम गरेर “कमिसन” गरे ।

उनको यो कमिसनलाई महाभूल भन्न सकिन्छ । तर्क जसरी पनि गर्न सकिएला तर राष्ट्रिय स्वाधिनताको पक्षमा विदेशी हस्तक्षेपका विरुद्घ दृढ रुपमा उभिएको आफु समेतको सजातिय बामपन्थी गठवन्धन हठात् अनपेक्षित रुपले तोडेर आफैले यथास्थितीवादी भनेको विजातिय तप्कासंग गठजोड गर्नु र मुलुकलाई थप अनिश्चय र अस्थिरता तर्फ आफ्नै हातले धकेल्नु माक्र्सवाद र क्रान्तिको नियम अन्तर्गत पर्दैन ।

उहाँकै दस्तावेजले किटान गरेको प्रधान अन्तर्विरोध हुने मुख्य दुस्मन कित्ता सँग मधुमासको केमिकल मिष्ट्री वा केमेष्ट्री अवश्य रहस्यमय हुनु पर्छ । माओवादी केन्द्रको वर्गस्वार्थ फेरिएको छैन भने जनवादी क्रान्तीकारी अग्रगमनको धार र पश्चगमनको धारको समागम पछि नदीको वहाव कसरी र कता होला, अस्पष्ट छ ।

एउटा जुझारु मओवादी पार्टीले प्रधान अन्तर्विरोधको सञ्चालन सम्वन्धमा खुद अध्यक्ष माओकै प्रस्थापनाको प्रतिकुल जानु कति सुहाउँदो होला ! सत्तालाई वर्ग संघर्षको नियम बाहिर गएर बुझ्न र बुझाउन थालियो भने अनर्थ मात्र हुन्छ र यो बाटोबाट वहाँले परिवर्तनका एजेन्डालाई संष्लेषण गर्न र सार्थकता दिन सक्नु हुन्न । ने.का.ले माओवादी केन्द्रसँग कार्यगत एकतामा जोडिन चाहनु र विद्यमान गठवन्धन तोड्न खोज्नु कुनै आश्चर्य हुन्न किनकी ऊ हिजो पनि अत्यन्त रहस्यमय ढङ्गले राष्ट्रिय सहमतिको विपक्षमा उभिएकै हो ।

तर, प्रचण्डको वाध्यता के हो, जनतामा खुल्दुली छ । हामीले चिनेका प्रचण्ड भिन्दै धातुले बनेका थिए । उनले विदेशी प्रभुका गलत मानसुवा अगाडि झुक्नु भन्दा पदत्याग गर्न श्रेय ठान्थे । नेपाल दुई ढुङ्गा विचको तरुल होइन डाइनामाइट हो भन्ने गर्जना गर्थे र अवाञ्छित चर्को दवावलाई शसक्त प्रतिकार गर्दे संविधान घोषणाको अगुवाई गर्थे । होइन, ने.का र हिजोको एमाले जस्तै सत्ता प्राप्तीको लागि जे जस्तो कदम पनि अब जायज हुन्छ भन्ने माओवादी मान्यता बनेको हो भने अव वाकी रहने के हो ?

जति भोक लागे पनि दुबै हातले कसैले खान्न र खानु पनि हुन्न ,तर देखियो त्यस्तै । यसैपनि कुनैपनि विकल्प पहिलेको समिकरण भन्दा प्रगतिशिल हुनै पर्छ र जनताको तहबाटै त्यो देखिनु पनि पर्छ । तर अब बन्ने समिकरणमा यसको छनक सम्म देखिन्न । आज मुलुक साँच्चिकै कठिन मोडमा छ , शान्ति र स्वाधिनता माथि नाङ्गो आक्रमण भईरहेको छ र राजनैतिक संकट गहिरिदै गएको छ । यस्तो संवेदनशिल घडीमा आफुभन्दा पार्टी र पार्टीभन्दा मुलुक सोचिनुपर्छ । देशभक्त प्रगतिशिल शक्तिहरुको बृहत राष्ट्रिय एकता , सहमति र सहकार्य नै समस्या समाधानको एक मात्र बाटो हो भन्ने कुरा जनजनलाई थाह छ ।

जनताको स्तरबाट हेर्दा दाहालको पछिल्लो कदमले २६ वर्षमा २५ सरकार भोग्ने जनतामा राम्रो सन्देश दिएको छैन र राष्ट्रवादी प्रगतिशिल तप्का वेहद निराश छ जुन शुभ संकेत अवश्य होइन । यसको उल्टो मुलुकको दुगर्ति चाहने शक्तिहरुमा हर्षवडाई र भोजभतेर चलिरहेको छ र यो अकारण होइन भन्नेमा प्रचण्ड जस्तो भुक्तभोगी अवश्य वेखवर हुनु हुन्न । “गलत समयको सहि कदम पनि परिणामत ः गलतै हुन्छ” र “वेला हेर विशेष हेर तेरो हातको लौरो मलाई दे ” भन्ने दुई उखान त्यत्तिकै वनेका होइनन् ।

अव वन्ने समिकरणले रुपान्तरित संसदको वाँकी १८ महिने अबधिमा संविधान संसोधन र संक्रमण कालको जटिलतालाई मुलुकले नहार्ने गरी चिर्न सक्छ ? इतिहासले उनीसंग कुनै दिन अवश्य जवाफ माग्ने छ । उनको कदमको पछाडि कस्को, कस्तो सल्लाह वा प्रेरणा थियो भन्ने कुराले अर्थ राख्दैन । बरु उनको कृत्यले जनसमाजमा के कस्तो भावनात्मक छाप छोड्छ, मुख्य कुरा यहि हो ।

जनताको राजनिती गर्नेहरुको सम्पत्ति र बिपत्ति दुबै जनता नै हुन् । भोली उनी र उनको पार्टीको अनुमोदन हुने ठाउँ पनि जनताको अदालत नै हो । आजको जमानामा कुनै रोल्पा छैन जहाँबाट निरन्तर वालाराम घर्ती मगर र कुनै धनुषा छैन जहाँबाट निर्विकल्प हेम बहादुर मल्ल विजयी भईरहोस् । ०६४ र ०७० का चुनाबी झाँकी उनले आफैले देखि सकेका छन् । जनताको मन भाँचियो भने उनको केन्द्रिय समिती दश हजारको भए पनि त्राण मिल्ने छैन । नयाँ समिकरण भित्र शरीर प्रचण्डको र आत्मा देउवाको हुने बुद्घिजिवी बृत्तबाट टिप्पणी आउन थालि सकेका छन् ।

०५९ मा माओवादीलाई आतंककारी घोषण गरी उहाँहरुकै विरुद्ध रेडकर्नर नोटिस जारी गराउने र टाउकाको मुल्य तोक्ने संगको प्रणय शूत्र कति पो दिगो होला ! अनि संसद भित्रको सामर्थ्यको आधारमा नयाँ गठवन्धन भित्र माओवादी केन्द्रको वजन कति होला र एउटा प्रधानमन्त्रीको रुपमा उनको स्वायत्तता र प्रभाव कति बन्ला, राम्रो सोंच विचार पुगेकै देखिन्न । यसले आफु र पार्टीलाई कहां पुर्‍याउला भन्ने जोड घटाउ नगरी तत्कालिन लाभ हेर्दै उनले आफ्नो र पार्टी भविष्यलाई दाउमा लगाएका छन् , जो धेरै महंगो पर्न सक्तछ । रह्यो कुरा ओली सरकारले राम्रो काम गर्न सकेन भन्ने । यो अक्षरश: सत्य हो ।

यसै गठबन्धनका शूत्रधार क.प्रचण्ड र गठबन्धनको प्रमुख घटक माओवादी केन्द्र यस्तो दोषबाट आफै कसरी मुक्त हुन्छ ? वास्तवमै बुद्घिमानले शत्रुबाट पनि फाइदा लिन्छ, मुर्खले आफ्नै मित्रबाटै पनि घाटा नै खान्छ । सरकारबाट बाहिरिंदा मात्र पनि ओलीलाई बाध्य पारी सजिलै मनोरथ पुरा हुने स्थितीमा संसार बदल्ने शक्तिले एउटा ओलीलाई साइजमा ल्याउन नसक्नु आश्चर्य हो । एउटा कुरा के सत्य हो भने नेकपा एमालेलाई माक्र्सवादी पदावलीमा संसोधनवादी वा सुधारवादी भन्न सकिन्छ ,जो संग माओवादी केन्द्रका कार्यनिती, रणनीति र कार्यदिशाका विवादहरु छन् ।

आज राज्यसत्ता पूँजीवादी हुने कि समाजवादी हुने भन्ने केन्द्रिय मुद्दा मान्ने हो भने एमाले मात्र होइन नयाँ जनवादलाई न्यूनम कार्यक्रम मान्ने सबै शक्ति संग माओवादी केन्द्रले एकता संघर्ष र रुपान्तरणका प्रकृया थाल्नु पर्छ । ठिक छ, वाम आन्दोलन भित्रका दुबै दक्षिणपन्थी र वामपन्थी विचलन र भड्काउ विरुद्घ माओले भने जस्तै एक हातले मुसार्ने र अर्को हातले घुस्सा लगाउन चुक्नु हंदैन । तर क्रान्ति, जनता र मुलुकलाई केन्द्रमा राखेर ति सबै संग एकता, मोर्चा बन्दी र सहकार्यको प्रयत्नद्वारा मात्र कम्युनिष्ट आन्दोलनलाई गति दिन सकिन्छ ।

अवसर, शक्ति, कर्तब्य र विवेकको सन्तुलन मिलाउन नसक्दा नै ६६ वर्षको इतिहास वोकेको दुई तिहाईको प्रचण्ड बहुमत र तिव्र आकर्षण हुने नेपालको वामपन्थी शक्तिले विगतमा ठुला ठुला क्षति बेहोरेको छ । सोभियत संघमा खुस्चेब कालमा २०औं पार्टी कांग्रेसको संसोधनबाद र देशिय रुपमा १७ सालको राजा महेन्द्रको अप्रजातान्त्रिक कदमबाट सुरुभएको पार्टीको तेश्रो महाधिवेशन पछिको विभाजनको श्रृङ्खलाले सबै हद पार गरेर १९९० सम्म ३९ वटा कम्युनिष्ट घटक जन्माइसकेको थियो । त्यस यता पनि विभाजनका कारणको पहिचान र एकताका जेनुइन प्रयासको सट्टा व्यक्तिगत अहम् , कुण्ठा र प्रतिष्ठा माथि टेक्दै परस्पर आरोप–प्रत्यारोप र चरित्र हत्या नै सबै बाम पार्टीहरुको आधारभूत चरित्र रहेको छ र अक्सर फुटहरु कार्यक्रम र सिद्यान्तको गुणात्मक अन्तरले नभर्ई कार्यनितीक प्रश्नको सेरोफेरोमा र ब्यावहारिक र सांगठनिक चरित्रका देखिएका छन् ।

ब्यावहारिकताको नाममा सिद्यान्तको पूर्ण तिलाञ्जली र सिद्यान्तको नाममा ब्यवहारको पूर्ण उपेक्षा हुने जडशूत्रबाद नेपाली कम्युनिष्ट आन्दोलनका अहिले पनि पेचिदा समस्या हुन् , यसमा विवाद छैन । तर विश्व साम्राज्यवादले यिनै हुने नहुने मतान्तरलाई चर्काएर आपसमा सधै लडाउन चाहन्छ र हामी जानेर वा नजानेर यसै षडयन्त्रको गोटी बनि रहन्छौं । जनता र देश प्रतिको जिम्मेवारी वोध सहित ठीक विश्लेषण र समयोचित निती लिन नसक्दा नै जनजिवनका समस्या समाधान देखि लिएर राष्ट्रिय अर्थतन्त्रको विकास र राष्ट्रियताको जगेर्ना गर्नमा हिजो देखि नै गंभिर कमजोरी रहि आएका छन् ।

यी यावत् कार्यभारलाई पर राखेर कुर्चीको निरर्थक दौडमा उद्यत हुनु गैर माक्र्सवादी सोंच र निम्न पूँजीवादी मनोगत चिन्तन मात्र हो यसले नेपालको वाम आन्दोलनलाई थप नोक्सान मात्र गर्छ र एकताको संभावनालाई कोशौं पर हुत्याइदिन्छ । अझै पनि भुल सुधारको संभावना चुकीसकेको छैन र १० वर्षे सशष्त्र जनयुद्घका कुशल सारथी क.प्रचण्डको अनुभब , नेतृत्व क्षमता र उचांई अरु सबै बाम शक्तिलाई एकतावद्घ गर्नमा उपयोग हुनु पर्छ , ९ महिने करार सेवाको दौडमा होइन ।