नेपाल–भारतवीच उब्जिएको भूमि समस्या- प्रेमबहादुर शाही

Posted on: May 02, 2016 | views: 339

संसारका जुनसुकै देशहरूको आ–आफ्नै राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान र स्वतन्त्र पहिचान हुन्छ । त्यसैको लागि सबै देशहरूको सीमा रेखा छुट्टाइएको हुन्छ । त्यो सीमाना रेखा अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार आकाशदेखि पातलसम्म, तलदेखि माथिसम्म रेखाङ्कन गरिएको हुन्छ । सीमा रेखालाई अर्को कुनै पनि देशले जमिन मुनीबाट होस् वा आकाश माथिबाट पार गर्न पाउँदैनन् । कुनै पनि देशले सीमा रेखाको आत्मरक्षाको लागि देशको सेना, सुरक्षा फौज, सीमा सुरक्षा बल र अन्य सुरक्षाकर्मीहरू तैनाथ गर्ने गर्दछ । अर्को देशहरूले सीमा रेखा पार गर्ने खोजेमा त्यो देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता वा स्वाभिमान माथिको नाङ्गो आक्रमण मानिन्छ । त्यस बेला सीमा रेखा पार गर्ने देशसँग सो देश युद्ध गर्न तयार हुनुपर्दछ वा त्यस देशको शरण लिई गुलामी बन्नु पर्दछ । यी दुई विकल्प मध्ये एउटा विकल्प राज्यले अवलम्बन गर्नुपर्ने हुन्छ । विश्वमा सीमानाकै कारण सयौं देशहरू वषौंसम्म युद्धमा होमिएका छन । लाखौं नागरिकको ज्यान गएको छ, तर नेपाल–भारतबीचको सीमा रेखालाई भारतले दिन दाहडै हजारौं पटक पार गरिसकेको छ ।

सन् १८१६ मार्च ४ मा सुगौली सन्धीदेखि भारतीय सरकारको प्रत्यक्ष निर्देशनमा वा सीमा सुरक्षा बलको एकलौटी आत्मनिर्णयले भारतसँग नेपालका सीमाना जोडिएका २६ जिल्लाहरूमध्ये २१ जिल्लाहरूको ५४ स्थानमा पटक–पटक सीमा रेखा पार गरी भारतले ६० हजार हेक्टर नेपालको भूमि अतिक्रमण गरिएको छ । नेपाल सरकाले ९८ प्रतिशत सीमा समस्याहल भएको झुटो तथ्य सार्वजनिक गरेको छ । यो तथ्याङ्क मान्न कुनै पनि देशभक्त नेपाली तयार छैनन् । किन भने सबैभन्दा धेरै कालापानी लिम्पियाधुरा क्षेत्रमा ३७ हजार हेक्टर र सुस्तामा १४ हजार हेक्टर र अन्य सीमा जोडिएका स्थानहरूमा नेपालको भूमि भारतले दिन दहाडै कब्जा गरेको छ । अन्तर्रा्ष्ट्रिय जगतमा ठूलो गौरवशाली लोकतन्त्रवादी देश भनेर चिनाउन खोज्ने भारतले कहिल्यै पनि अन्तर्रा्ष्ट्रिय नियम, कानुन, मूल्य मान्यताको पालना गरेको छैन ।

उल्टै अन्तर्रा्ष्ट्रिय कानुनको धज्जी उडाउने पहिलो देश हुन पुगेको विभिन्न क्रियाकलापहरूले प्रष्ट देखाउँदै आएको छ । अहिले नेपालको पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्म नेपाल–भारतबीचमा रहेका सीमा चिन्ह (पिलर) ठाउँ–ठाउँमा सार्ने, भत्काउने काम समेत भातरले गरिरहेको छ । अहिले भारतले प्रत्येक्ष रूपमा नेपालको खानी, पानी र जमिन मध्ये एक हामीलाई सदासको लागि दिनुपर्दछ भनि बारम्बार आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको छ । वि.सं.२०२७ सालतिर आफ्नो शासन सङ्कटमा गरेपछि राष्ट्रिय सङ्कट हल गर्ने भनी राजाले भारतसँग एक प्रकारको सम्झौता गरे, त्यपछि क्रमशः वि.सं.२०२८ सालतिर भारतीय सेनालाई नेपालको कालापानी छिर्न अनुमति दिएपछि त झन सुस्तामा मात्र हैन, समग्र देश नै सङ्कटमा पर्दै गएको छ । भारतले अहिले पनि कञ्चनपुरको विभिन्न स्थानमा सीमा अतिक्रमण गरी दशगजामै क्याम्प राखेको छ । वि.सं. २०४० सालमा भदौ २३ गते भारतीय सीमा सुरक्षा बलले नेपालको सीमा अतिक्रमण गर्दा गाउँलेहरूले प्रतिकार गरेका थिए, त्यसबेला मुन्ना खाँको नेतृत्वमा भएको प्रतिकारमा भारतीय सरकारी फोर्सका कन्सेट बलसहित दुईजना प्रहरी मारिएका थिए । त्यसै कारणले मुन्ना खाँले २२ मुद्दा झेल्नु परेको थियो ।

अर्कोतर्फ भारतीय विस्तारवादीका सीमा सुरक्षाबलको अत्याचार कतिसम्म बढेको छ भन्ने वि.सं. २०६७ सालमा बर्दिया जमुना–९ शान्तिपुरका हर्कबहादुर शाहीलाई अलहर बारीमा काम गरिरहेको किसानलाई विना कारण नियन्त्रण गरी कुटपिट गरी मारेको समाचार सञ्चार माध्यमबाट बाहिर आयो । सरकारले त्यो घटनालाई चासो दिएन, साना ठूला जनसुकै सत्ताधारीहरू पार्टीहरू संवेदनशील बनेनन् बरु भारतीय फासिष्ट विस्तारवादी गुनगान गाए । दिन दहाडै नेपालीलाई भारतीय सीमा सुरक्षा बलले भारतको विभिन्न ठाउँबाट मजदुरी गरेर घर फर्कने क्रममा नेपालीलाई कुट्ने, लखट्ने, बलात्कार गरी हत्या समेत गर्ने गरेको छ । यसरी भारतले नेपालमा श्रृंखलाबद्ध रूपमा राष्ट्रियता माथि नाङ्गो आक्रमण गरिरहेको छ । यी माथिका पंक्तिहरू एउटा प्रतिनिधिमूलक घटना मात्र हुन यस्ता घटनालाई नियाल्दैं जाने हो भने, कति छन् कति ? आफ्नो मातृभूमिमा अरुको शरणार्थी बनेर बस्नुपर्दाको पीडा यहाँ अभिव्यक्त गर्न सकिदैन ।

सीमा क्षेत्रमा बसोबास गर्दै आएका किसानहरूको लालपूर्जा, नागरिकता वितरण कार्यमा उत्पन्न हुने केही कठिनाइहरूको फाइदा उठाउँदै भारतीय पक्षबाट आफूलाई नागरिकता र लालपूर्जा दिलाइ दिने आश्वासन दिदैं जमिन अतिक्रमण गर्ने र त्यसको प्रतिरोध गर्दा अनेक मुद्दा मामिलामा नेपालीहरूलाई फसाइ जेलमा समेत हाल्ने गरेको नेपालगन्जस्थित सीमा क्षेत्रमा बसोबास गरेका स्थानीयबासीहरू बताउँछन् । यसरी दिनप्रतिदिन आफ्ना खुनी नङ्ग्राहरू नेपालको सार्वभौमिकता माथि गाड्ने प्रयत्न भारतले गरिरहँदा पनि जनताको बलिदानी पूर्ण आन्दोलनको फलस्वरूपः सत्तामा पुगेका राजनैतिक दलहरूले अझै पनि आफूहरूलाई खाती सङ्घीय लोकतान्त्रिक गणतन्त्रका संम्वाहक बताउनेहरू एउटा शब्द पनि सीमानाको बारेमा बोल्न सकेका छैनन् । भारतले नेपालमा मात्र क्रुर र हैकमवादी नभएर आफ्नै जनताप्रति पनि संवेदनशील नभइ नक्कली मुठभेडको नाममा हजारौंको हत्या गरिरहेको छ । भारतले ‘ग्रीन हन्ट, सल्भा जुडुम’ जस्ता आम जनसंहार अभियान चलाएको जगजाहेर छ । पछिल्लो समयमा भारतले नेपालमा विभिन्न खालको उत्श्रृंखल गतिविधि सञ्चालन गरी नेपाली–नेपालीबीच झगडाको बीऊ रोपी आफू रमिते बनि हेरिरहेको छ । आज पनि नेपालका शासकहरूले विस्तावादप्रति समर्पण र दलाली प्रवृत्ति ज्यूँ का त्यूँ रहेका कारण सीमा रेखाङ्कन प्रभावकारी ढङ्गबाट हुन सकेको छैन ।

नेपालको अस्थिर राजनैतिक कारणले गर्दा भारतीय विस्तावादले नेपालमा बढी चलखेल गरेको छ । आफू सत्तामा र स्वार्थको राजनीतिमा टाँसिरहनको लागि भारतको दलाली नगरी पाइदैन भन्ने गलत र राष्ट्रघाती मनोदिशामा नेपालका सत्तासिन दलहरूको पुगेका कारण चुप लागेर बस्ने गरेका छन् । भारतीय पक्षबाट अन्तर्रा्ष्ट्रिय कानुनको ठाडो उल्लघङ्न गर्दै नेपालको ‘खानी, पानी र जमिन’ माथि दिनमा दुई गुणा र रातमा चौगुणा अतिक्रमण गर्न खोजिरहेको छ । नेपालले त्यसप्रति चासो नदेखाएर सत्ता भागवण्डाको राजनीतिमा नै समय व्यतित गर्ने सत्ताधारीहरूको रवैया पक्कै पनि राम्रो होइन । देशमा नेपालको संविधान वि.सं.२०७२ जारी भइसक्यो तीन महिना हुन लाग्दा छिमेकी देश भारतले (नेपाल–भारत) को सीमानामा केही अराजक गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्नको लागि एकतर्फी रूपमा अघोषित नाकाबन्दी गरेको छ । तराईको अधिकांश भागहरूमा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपालको सीमा रेखा पार गरी नेपालमा प्रवेश गरेका छन् ।

नेपाली भूमिमा आइ सीमाक्षेत्रका स्थानीयबासीहरूलाई कुट्ने, मानसिक यातना दिने, परिआएको खण्डमा ज्यान समेत लिन धम्की दिने गरेका छन् । अब भारतले नेपालप्रति अलिकति मात्र आँच पु¥याउने, नियम उलङ्घन गर्ने, नेपाली जनता माथि थिचोमिचो, शोषण र दिन दहाडै दुवै देशबीचममा रहेको सीमा रेखालाई पार गरी नेपालको जमिनलाई अतिक्रमण गर्ने जस्ता कार्य तत्काल रोक्नु पर्दछ । नेपालको जति पनि जग्गा जमिनलाई अतिक्रमण गरिएको छ त्यो नेपाललाई नै फिर्ता गर्नु पर्दछ । राष्ट्रियता, सार्वभौम, स्वाभिमान, स्वतन्त्र पहिचान र अखण्डताको रक्षा गर्नको लागि सम्पूर्ण नेपाली एक हुनुपर्ने समयम आएको छ । आफ्नो स्वार्थपूर्ति गर्न खोच्ने जो कोहीलाई खबरदारी गनुपर्दछ । विगतमा देखा परेका राष्ट्रियता विरोधी, जनविरोधी चरित्र वा विस्तारवादी दलाली र गुलामी बन्ने परिपाटीको अन्त्य गर्नुपर्दछ । नेपाल–भारत बीच वैज्ञानिक सीमारेखा तयार गरी दुवै देशवीच सदियौंदेखि उब्जिएका भूमि समस्याको दीर्घकालीन समधान खोज्यौं भने मात्र राष्ट्र, राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौममिकताको रक्षा हुनेछ ।