'दोहोरी गित फोहोरी हुन थाल्यो'-गितकार कँडेल'

Posted on: May 02, 2016 | views: 1542

हरेक व्यक्तिको जिवनमा दुई पाटा हुन्छन् । रचनात्मक कर्मले सिर्जिरहेको एउटा पाटो जुन सबैले देखेको हुन्छ । आफु भित्र रहेको प्रतिभा जुन विस्तारै अंकुराउँदै बढ्दै गरेको हुन्छ र फुलेपछि जव वासना चल्छ अनिमात्र सबैलाई थाह हुन्छ त्यतिञ्जेल त्यसबारेमा कमैलाई पहिले नै थाहा हुन्छ भनेँ जिबनयापन का निम्ति एउटा अल्पबिकशित देशको नागरिकले अंगालेको पेशा अर्को पाटो हो जुन आफु र आफ्नो परिवारको पेटका निम्ति निरन्तर गरिरहनुनै पर्छ ।

यस्तै दुईवटा पाटो बोकेर कर्म र प्रतिभाले पहिचान बनाइरहनुभएका एकजना प्रतिभावान ब्यक्ति हुनुहुन्छ गितकार नारायण कँडेल । बाग्लुङ्ग जिल्ला बिहुँकोट गा.वि.स-९ करलिम घर अनि वुवा गौरिश्वर र आमा लिलावति कडेल का सुपुत्र नारायण एक व्यक्ति दुई चिनारी बोकेर अघि बढिरहनुभएको छ ।

नेपाली कला क्षेत्रले देख्ने उहाँको गित संगितको रचनाको पाटो अनि राज्यले बुझ्ने एक बैदेशिक रोजगारीमा गएको युवाको पाटो । तर जिवनका दुई पाटा मध्ये कमैले मात्र दुवैलाई साथमा अघि बढाएर अघि बढ्न सक्छन् । दुई नाउमा खुट्टा राखेर यात्रा गर्नुजस्तै कठिन यो सफर गरिरहनुभएका नारायण कँडेल जापानमा रोटि पिटेर, भाँडा माझेर पनि पसिनाले आर्जेको कमाइ नेपाली सांगितिक क्षेत्रमा खर्चंदै सांगितिक रचना मार्फत नयाँ आयाम थपिरहनुभएको छ । भन्नुहुन्छ प्रदेशमा बसेर नेपाली गितसंगितको क्षेत्रमा कलम चलाउन निकै कठिन छ किनकि आफ्नो अनुपस्थिति मा काम समयमै नहुनु, भनेजस्तो नहुनु, बढि खर्च लाग्नु जस्ता समस्या छन। तर निरन्तर लागिरहैकै छु ।

प्रस्तुत छ उनै नेपाली सांगितिक क्षेत्रका उदियमान प्रतिभा गितकार नारायण कँडेलसँग नेपाली सांगितिक क्षेत्रबारे गरिएको संक्षिप्त कुराकानी ।

प्रश्नको सटिक उत्तरको अपेक्षा छ । तपाई बैदेशिक रोजगारमा आएको युवा कि गितकार ?
सुरुमै अलिकति अप्ठेरो प्रश्न गर्नुभयो । म आफैंमा रचनाकार त हुँ नै । तर रोजगारीको समस्या र त्यसमा देशको तत्कालिन परिवेषको बाध्यताले बिदेशीएको युवा पनि हुँ । रचनाकारको त्यो पाटो म भित्र म सँगै आएको एउटा कलाको पाटो हो भने समय र परिस्थितिले बैदेशिक रोजगारीमा धकेलेको अर्को पाटो हो ।

आम रुपमा नारायण कँडेललाई के भनेर चिन्छन् त ?
बैदेशिक रोजगारमा आएको युवा भनेर चिनिनु मेरो व्यक्तिगत पाटो हो । देशले र नागरिकले कसरी मलाई वा कसैलाई चिन्छन् भन्ने कुरा त्यो कर्मले निर्धारण गर्छ ।
विदेशमा पसिना सिर्जेर स्वदेशमा केही गर्ने प्रयासमा छु । त्यहि क्रममा संगितको क्षेत्रमा आफ्नो क्षमता अनुसार फरक कथाहरुमा  रचना दिइरहेको छु । जसलाई विश्वभर छरिएर रहनुभएका नेपालीले मन पराउँदै गइरहनु भएको छ । अब यसैले मेरो परिचय निर्धारण गर्नेछ म को हुँ भनेर । परिचय अहिले बन्ने कुरा होइन परिचय छाडेर जाने कुरा हो ।



तपाईले सिर्जना गर्नुभएको पहिलो रेर्कडेड गित कुन हो ? र तपाईलाई कुन गितले गितकारको रुपमा चिनायो ??
मेरो पहिलो रेर्कडेड गित बजारमा आउन पाएन ।मोरि कालि त चिटिक्कै रहिछौ दाई कि सालि त भन्ने बोलको गित २०६० सालमा पोखरामा रेर्कड भएको थियो तर त्यो रेकर्ड क्वालिटि नभएका कारण बजारमा आउन नपाउँदै हराउन पुग्यो । पछि पानि र झुल्के घाम, पख सँगै जाउँ भन्ने चाहिं राजु परियार र लक्ष्मि न्यौपानेको आवाजमा आएको रेर्कडेड मेरो पहिलो गित हो जसमा कवि मञ्जुल को लय छ । त्यसपछि गाँउमा कुरा चल्छ, मनमा पिडा छ होला छैन भनि ढाँट्छ्यौ जस्ता गित र एल्वम गरें र सफल पनि भए भने पछिल्लो पटक "यस्तै छ कहानी परदेशीको" जसले अल्लि फराकिलो परिचय स्थापित गरायो ।

हालसम्म कतिवटा रचना तयार गर्नुभयो ? अनि कति स्वरमा सजिएको छ ।
१ दर्जन बढी गित रचनालाई पूर्णता दिएको छु । राम्रा रचना भएका मध्ये सबैजसो रेडर्क भएका छन् केही बजारमा आउने अन्तिम तयारीमा छन् । रचना गरेर पुर्णता दिन बाँकी रहेको गर्भमा रहेका गित चाहिं सयौँ पनि छन् ।तर तिनि गितहरु नजन्मिदै लाई बच्चा भन्न मिल्दैन !! अब छिट्टै क्रमश: ५ वटा गित बजारमा आउँदैछ । जसमा २ वटा राष्टिय गित, २ वटा आधुनिक अनि एउटा लोकगित रहेको छ । राष्ट्रिय गित र आधुनिक गित सलामी एल्बममा र लोक गित यस्तै छ कहानी प्रदेशीको -२ मा समावेश हुनेछ ।

नयाँ एल्बम ल्याउँदै हुनुहुन्छ भनेको यहि हो ?
https://scontent.xx.fbcdn.net/hphotos-xat1/v/t34.0-12/12788020_697758663699061_787214013_n.jpg?oh=a3b2d375b8d96306c647eabdc9f6caa7&oe=56D54C1F
हो छिट्टै म एउटा एल्बमको तयारीमा छु । सलामी एल्बममा पाँच वटा गित रहेको छ । तिम्लाई मायाँ गर्नु मेरो भूल हो भने जुन गितमा श्रेयसी चेम्जोगंको आवाज, संगित राजकुमार बगरको रहेको छ । जुन बजारमा आइसकेको छ ।
यस्तै चाहिंदैन मलाई तोपको सम्मान, चाहिंदैन सलामी,
बनाउन सकुँ खुशीले बोक्ने चार जना मलामी,
खै के छ तिर्ने खोज्दैछु आमा दुधको साटोमा
मिसाउन सकुँ दुईथोपा रगत जन्मेको माटोमा!!
मेरो रचना, प्रमोद खरेलको आवाज अनि अर्जुन पोखरेलको संगितमा रहेको गितमा अभिनय राष्टसेवक नेपाल प्रहरीका आदरणीय दाजु एसएसपी रमेश खरेलको रहको छ ।
अन्य तिन गितमा श्री कृष्ण बम मल्लको संगितमा स्वरुपराज आचार्यको सुमधुर स्वर, त्यस्तै अर्को राष्ट्रिय -
गित हामीले नगरे गर्ने हो कस्ले, आजै नगरे गर्ने हो कहिले,
लिएर एकमुठि धर्तीको माटो यस्तो शपथ खानुछ मैले,
मेरो देशको शिर झुक्न दिने छैन,
मेरो आमाको छाती दुख्न दिने छैन!!
बोलको गितमा संगित र स्वर दुवै रमेशराज भट्टराई को छ। भने अर्को एउटा फरक स्वादको आधुनिक गित आशिष अविरलको संगित र शिव परियारको आवाजमा रहेको "कहिले उकालो कहिले ओरालो"बोलको गितमा केकी अधिकारी र पौल शाहको अभिनय देख्न पाइने छ ।भने यस्तै छ कहानी परदेशीको-२ मा रहेको गित मा  मेरो शब्द, चर्चित सर्जक शिव सुवेदीको लय अनि जापानमा सर्वप्रिय गायक सुर्य खड्काको आवाजमा रहेको छ जुन जापानमै छायाँकन गर्ने क्रममा छौँ जुन गित यस्तो छ-
पानि बाटै चल्न सक्ने मोटर गुडाईसके
समुन्द्र मा वस्न मिल्ने जहाज उडाईसके
जमिन मुनि सुरुङ भित्रै यात्रा हुन्छ रेलमा
तुईन छैन मेरो देशमा कर्णालीको भेल मा!!
           हरेक दिन नेपाली प्रदेशमा रुन्छ
सम्झेर मेरो देश कैले यस्तो हुन्छ ! !


के देखेर, कसरी सांगितिक क्षेत्रमा लाग्नुभयो ?
मेरो गाँउ धार्मिक सांस्कृतिक पहिचान भएको गाउँ र त्यहि संकृतिलाई आत्मसाथ गरिरहेको एउटा सामान्य नेपाली परिवार को सदस्य हुँ । कुनै सांगितिक पृष्ठभूमि भएको होइन । अध्ययन उमेरको समयमा विद्यालयमा अनि गाँउसमाजमा पनि म सबैजसो वाक विधामा प्रतिस्पर्धा गर्थें भने संगित को कुनै विधामा प्रतिस्पर्धा गर्दा बढि खुसि हुन्थें र सफल पनी हुन्थें । यिनै कुराको प्रेरणा ले पछि सांगितिक क्षेत्रमा लाग्न मन लागेर केही गित गाएं पनि तर आफ्नो स्वर भन्दा रचना पक्ष बालियो देखेपछि यहि पक्षलाई पनि बलि पार्न सकिन्छ र भन्ने लागेर यसतर्फ मोडिए । नढांटि भन्ने भने स्वास्थ्य संगै अन्य व्यक्तीगत केही कारणले पनि गायन नभई रचनाको क्षेत्र रोज्न पुगें ।


अध्ययन, अनुसन्धान विना कला क्षेत्रमा पस्नेको भिडले गुणस्तरिता खस्कियो भन्छन् नि ?
कुरा एकदम सहि हो । मैले संगितमा दख्खल राख्दिन, सुर र धुन चिन्दिन भने गायक बन्न चाहुनु अनि रचना तिर शब्द र त्यसको मर्मलाई केलाउन सक्दिन रस र राग अनि शैलि,वर्णविन्यास वा लिपि मिलाउन जान्दिन भने त्यो पेशामा लाग्नुनै गलत हो ।

अहिले संगित क्षेत्रमा निकै प्रतिस्पर्धा छ त्यसैले तपाईसंग नयाँ श्रृजना गर्ने शक्ती छैनभने नगर्नुहोस। अहिले त कस्तो चलन छ भने ५-७ वटा गित सुन्यो त्यसैका १/१ वटा शब्द निकाल्यो अनि तोडमरोड गर्यो अनि नयाँगित बनायो, भल्गर छवि वनाएका मोडल राखेर त्यस्तै भिडियो बनायो अनि लाखौँ लगानि गरेर बजारमा ल्यायो भोलिपल्टबाट हराउछ।अनि कम्पनि ले यो गरेन, मिडियाले यो गरेन भन्यो गाली गर्यो बस्यो। त्यसैले सबैलाई आफ्ना रचनालाई न्याय दिएर कला क्षेत्रलाई केही योगदान गर्नेगरि लाग्न अनुरोध पनि गर्छु । खहरेको भेल जस्तै ह्वात आउने र पछि अस्तित्व नै मेट्ने गरि आउने कि निरन्तर लागेर परिचय स्थापित गर्ने सोचर आउनुहोला ।

जापान के को लागि आउनुभएको र कति भयो ? अनि कति समय बस्नुहुन्छ ?
४ बर्ष पुग्न लाग्यो जापान आएको । म कुक कामको लागि आएको त्यहि नै गरिरहेको छु । सुरुमा केही समय गाह्रो भएपनि अहिले यसलाईनै मुल कर्म बनाइरहेको छु । केही पैसा कमाउन जोगाउन सके सांगितिक क्षेत्रमा केही योगदान गर्छु भन्ने छ । १० बर्ष बस्छु भन्ने योजनामा छु । हेरौं के हुन्छ ।


पेशाको रुपमा छुट्टै काम गरेपनि तपाईले नेपाली कला क्षेत्रमा उत्कृष्ठ रचना दिएर ईट्टा थपिरहनुभएको छ, कस्तो छ जापानमा नेपाली कला क्षेत्रको अवस्था ?
जापानमा नेपाली कलाकारहरुलाई हेर्ने नजर एकदमै राम्रो छ । यहाँ रहेर पनि कला क्षेत्रमा लाग्नुहुने पुराना कलाकारहरु स्थापित पनि हुनुहुन्छ । तर पछिल्लो समय केही अस्वस्थ प्रतिस्पर्धा चल्न थालेको छ । यो चाहिं चिन्ताको विषय हो । हरेक जिल्ला, गाँउ र टोल का संस्था छ र तिनले चिने जानेको, आफन्त, नाता गोता, वर्ग हेरेर कलाकारको नाममा जो कोहिलाई बोलाउने क्रम बढ्दो छ । यसले सच्चा कलाकार जसले कलाक्षेत्रमा जिवन समर्पण गरे तिनको अपमान र टाइम पासको लागि मात्र कलाकारिता क्षेत्रमा लागेको जस्तो गर्नेलाई फाइदा हुन्छ । तर समग्रमा जापानमा नेपालको सांस्कृतिक अवस्था अहिलेसम्मको लागि उर्वर छ। धेरै कलाकारहरुलाई कला बेच्ने बजार बनेको छ ।

जापानमा नेपालबाट कलाकार बोलाएर धेरै कार्यक्रम हुने गर्छ । यसले कलाकारको अवस्था सुधार्न वा कलाक्षेत्रको बचाउ गरेको छ कि आयोजकको खल्ती मात्र भरिरहेको छ ?
कलाकारको व्यक्तिगत हिसाबले उसको जिवन गुजार्न र यही क्षेत्रमा टिकाउन राम्रो सहयोग गरिरहेको छ, जापानमा हुने कार्यक्रमहरुले । हेर्दा जापानमा ल्याएर कम पैसा दियो भन्ने जस्तो भएपनि नेपालमा उसको अवस्था र यहाँ ल्याएर दिने अनुपात त्यत्ति चिन्ताजनक छैन ।

 
भविष्यको योजना ?
त्यतिधेरै स्थापित नभइसकेको । दुखमै रमिरहेको र स्वदेशमा केही गर्न चाहने व्यक्ति हुँ म । केही कमाउन सकिएछ भने स्वदेशमा नेपाली कला क्षेत्रमा रचना संगै सामाजिक क्षेत्रमा केही योगदान गरौं भन्ने छ ।

एउटा गित श्रोतासम्म आइपुग्दा रचना, संगित, गायकी र भिडियो कसको बढी भूमिका हुन्छ ?
पछिल्लो समयमा पश्चिमा शैलिले छोपेको छ । रचना गर्नेले पनि बजारमा उत्ताउलो जमातलाई छानेर गर्ने, गाउनेले पनि त्यस्तै शैलिमा गाउने र नाच्ने नचाउने ले पनि त्यस्तै गर्न थालेका छन् । कतिपय दोहोरी गितको भिडियो हेर्न समेत लाज लाग्ने भएको छ । दोहोरी गित फोहोरी हुँदै जाँदा चिन्ता बढेको छ ।
हो भिडियोले ठूलो भूमिका खेल्छ । तर कालान्तरमा रचना संगित र गायकीको संगमले नै गितलाई जिवन्त बनाउँछ । पुराना भिडियो नभएका गित पनि हामी माझ उस्तै लोकप्रिय छ । यसको कारण हो त्यसमा लेखिएको शब्दको वजन, संगित र गायनको उत्कृष्ठ संयोजन ।


एउटा छुट्टै प्रशंग । नेपालीहरुका लागि जापान कस्तो देश हो ?
जापान नेपालीहरुका लागि साह्रै दुख भएको देश हो । सँगै अवसर पनि छ । धेरै लगानी अनि थोरै आम्दानीको ठूलो पिडा यहाँ छ ।
पढाई होस् वा कामको लागि लगानी र आम्दानी तौलेर आउँदा पर्ने तनावले पछिल्लो समय केही दुखद घटना पनि यहाँ घटेको र यो बढ्दै जाँदा मन नै अमिलो बनाउन थालेको छ ।
बुझेर, जे को लागि आउने हो सिप र भाषामा दक्ष नभई नआउन अनुरोध गर्छु । विडम्बना भनौं वा आरोप लगाएको जस्तो सत्य के हो भने यहाँ आएर त्यसरी नेपालीले दुख पाउनुको पछाडी नेपालीकै हात छ ।
१०/१२लाख खर्च गरेर कुकमा आउँछन् महिनौं काम पाउँदैनन् । पाएपनि तलब मुश्किलले ५०/६० हजार पनि हुँदैन । जबकी नेपालबाट ल्याउँदा १ लाख भन्दा बढि दिने सहमती हुन्छ। कागजमा त झण्डै २ लाख नै हुन्छ । किनभने जापानमा २ लाख भन्दा कम तलब दिनेगरि महिनावारी काम लगाउन पाईंदैन ।
विद्यार्थीमा पनि त्यस्तै लागत भन्दा बढी नेपालकै कन्सल्टेन्सिले पैसा असुल्छन् । भाषा र योग्यता हेर्दैनन् भिषा लगाएर पठाउन पाए त्यसबापत आउने कमिशन मात्र हेर्छन् । अनि विद्यार्थीले यहाँ आएर दुख पाउँछन् ।
आइसकेका र आउने क्रममा रहेका सबैमा मेरो अनुरोध भाषा र सिप सिकेर मात्र आउन र ल्याउन पहल गर्नुस् जापानमा अवशर राम्रो छ । र यहाँबाट थोरै भएपनि सिप सिकेर आफ्नोदेशमा प्रयोग गर्नुहोस र त्यहि सिप थप २ जनाको भएपनी जिवन धान्ने काम वनोस रोजगारी वनोस सबैसंग अनुरोध संगै कामना पनि गर्छु ।