गाउँमा डाक्टर आएको देखेर कमला भक्कानिएर रोइन्

Posted on: May 02, 2016 | views: 401

गाउँमा डाक्टर छैनन्, पीडामा महिला-दुर्गालाल केसी

जाजरकोट- टालेगाउँ– ७ तिमिलडाँडाकी जयरूपा शाहीले ६१ वर्षको उमेरमा पहिलोपटक डाक्टर देख्न पाइन् । डाक्टर देखेपछि उनले आँसु थाम्न सकिनन् ।

राम्ररी डाक्टरलाई हेरिन् र केहीबेरपछि रुन थालिन् । ‘सात दिनअघि मात्रै यी डाक्टर भेटिएका भए मेरा श्रीमान् बाँच्ने थिए,’ उनले डाको छोडिन्, ‘कठैबरा, बूढा डाक्टर नदेखेरै गए ।’

०७२ चैत दोस्रो सातादेखि गाउँमा मौसमी रुघाखोकी र स्वाइनफ्लुको महामारी फैलिएपछि हेलिकोप्टरबाट गाउँमा डाक्टर ओर्लिएका थिए । डाक्टरले बिरामी बचाउँछन् भन्ने सुनेकी जयरूपाले बिरामी जाँच्दै गरेका डाक्टर देख्नेबित्तिकै मन थाम्न नसकेकी हुन् । उनका श्रीमान् दलबहादुरको गाउँमा फैलिएको महामारीले ज्यान गएको थियो ।

किरिया बसेकै अवस्थामा बिरामी भएपछि उनलाई डोकोमा बोकेर स्वास्थ्यचौकी ल्याइएको थियो । उनले डाक्टरबाट आफ्नो उपचार गराउन त पाइन्, तर श्रीमान्लाई बचाउन नसकेकोमा थकथक मानिरहिन् ।

किरिया बसेको बेला अरूलाई छुन नहुने संस्कार भए पनि उनी सिकिस्त बिरामी भएपछि डाक्टरलाई जचाउन आएकी थिइन् । ‘ठूला डाक्टर आएका छन् भन्ने सुनेपछि बचाइहाल्लान् कि भनेर आएकी,’ उनले भनिन्, ‘मर्नै लागेपछि किरिया बसेको संस्कार नै तोडेर डाक्टर भेट्न आइयो ।’

तिमिलडाँडाकै २९ वर्षीया तुलसरा शाहीले पनि पहिलोपटक गाउँमा डाक्टर देखिन् । तीन छोरीकी आमा तुलसराले यसअघि कहिलै डाक्टरसँग स्वास्थ्य जाँच गराएकी थिइनन् । ‘गाउँमा डाक्टर आउँदैनन् । सदरमुकाम पुग्न दुई दिन हिँड्नुपर्छ । कसरी जानु ?’ उनले भनिन्, ‘ज्यानै गए पनि केही उपाय छैन । हामीले त डाक्टर नदेखेरै मर्ने जुनी पाएको ।’


अर्छानी– १ गैराभौँताकी ४५ वर्षीया मनसरी जैसी पनि पहिलोपटक डाक्टर देखेर दङ्ग परिन् । घरको कामले ठूलो डाक्टरसँग जचाउन नपाएकी जैसी गाउँमै डाक्टर आएपछि भने सकिनसकी स्वास्थ्य शिविरसम्म पुगिन् ।

पहिला गाउँमा जचाउँदा अब ठूलो डाक्टरलाई देखाउनुपर्छ भन्थे, तर उनले ती ‘ठूलो डाक्टर’ देख्न पाएकी थिइनन् । उनले भनिन्, ‘महामारी आएपछि गाउँमै ठूला डाक्टर आए, जचाउन पाइयो ।’

यसअघि पनि ०६६ जेठ र असारमा झाडापखालाको महामारी फैलिएपछि मात्रै गाउँमा डाक्टर पुगेका थिए । झाडापखालाले तीन सय ६० भन्दा बढीको ज्यान गएको थियो । त्यसमध्ये एक सय ५९ जनाको स्वास्थ्यकर्मीकै सामुन्ने मृत्यु भएको थियो । २५ हजार चार सय ७६ बिरामी भएका थिए ।

०७२ चैतमा मौसमी रुघाखोकी र स्वाइनफ्लुले २७ जनाको ज्यान गएपछि मात्र डाक्टर गाउँ पुगेका थिए । स्वास्थ्यकर्मीसमेत नभेटिने गाउँमा ३६ डाक्टरसहित दुई सय ४० स्वास्थ्यकर्मी खटिएका थिए, तर महाभूकम्पपछि ती डाक्टर पनि धेरै समय बस्न पाएनन् । महामारीपछि १३ गाविसमा स्वास्थ्य शिविर सञ्चालन भएका थिए । टालेगाउँ, ढिमे, पैंक, रोकायगाउँ, नायकबाडा, सक्ला, गर्खाकोट, रामीडाँडा, दसेरा, जुंगाथापाचौर, मजकोट, कोर्ताङ र पजारू गाविसमा औषधिसहित डाक्टर र अन्य स्वास्थ्यकर्मी पुगेर बिरामीको उपचार गरे ।

गाउँ आएका डाक्टरसँग ११ हजारभन्दा बढीले उपचार गराए । ‘लामो समयदेखि स्वास्थ्य समस्या भएका बिरामी पनि चेकजाँच गराउन आए । गाउँका लागि डाक्टर देख्ने यो अवसर पनि हो,’ महामारीपछि टालेगाउँ स्वास्थ्य शिविरमा खटिएका डा. कृष्णगोपाल महर्जनले भने, ‘यहाँका बासिन्दाले अन्य समयमा विशेषज्ञ डाक्टरको सेवा पाउन सकेका छैनन् । नियमित डाक्टर बस्ने व्यवस्था भए राम्रो हुने थियो ।’

गाउँका जनताले सोचेजस्तै ठूला डाक्टर गाउँमा पुगेपछि मानिस मर्ने क्रम रोकियो । डाक्टर पुगेकै दिन मात्रै दुईजना गुमाएको अर्छानीले भोलिपल्टदेखि मृत्युको खबर सुन्नुपरेन । ६ जनाको ज्यान गएको टालेगाउँमा पनि मानिस मर्ने क्रम रोकियो । ‘डाक्टर पुगेपछि मान्छे मर्न छोडे । ठूला डाक्टर भए त बिरामी बचाउन सकिनेरहेछ,’ जैसीले भनिन्, ‘मर्नेहरू सबै डाक्टर नदेखेर मरे । गाउँमा सधैँ डाक्टर हुने भए यसरी महामारी फैलिने थिएन ।’

जिल्ला अस्पतालका डा. दीपक पुनले भने, ‘डाक्टर पुगेपछि धेरैको ज्यान बचेको छ । मर्नेहरू सबै डाक्टर पुग्नुअघि नै मरिसकेका थिए ।’ उनका भनाइमा समयमै उपचार नगर्दा नै ज्यान जाने गरेको छ । सधैँ डाक्टर गाउँमा जान नसके पनि स्वास्थ्यचौकीमा चेकजाँच गराउन सकिन्छ, तर गाउँमा त्यस्तो चलन छैन ।

गाउँमा स्वास्थ्यचौकीहरू छन्, तर स्वास्थ्यकर्मी भेटिँदैनन् । ‘गाउँमा पनि चाहिएको बेला स्वास्थ्यकर्मी भेटिँदैनन् । डाक्टरसँग चेकजाँच गराउने कुरा त सपनाजस्तै हो । हामीले डाक्टर देख्नै पाउँदैनौँ,’ अर्छानी–७ फलफूलेकी ३९ वर्षीया विष्णु नेपालीले भनिन्, ‘डाक्टरहरू सहरमा बस्छन् । पुरुषहरू त उपचार गर्न गइहाल्छन्, तर हामीलाई डाक्टर खोज्न जाने फुर्सदै हुँदैन ।’

जिल्लामा मेडिकल अधिकृतको दरबन्दीसहितका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रहरू छन्, तर यहाँ नियमित चिकित्सक बस्दैनन् । दल्ली, गर्खाकोट र लिम्सामा रहेका केन्द्रले नियमित चिकित्सक नपाउँदा गाउँको स्वास्थ्य सेवा सधैँ दुर्दशापूर्ण हुन्छ । जिल्ला अस्पतालले समेत ०४४ देखि नै मेडिकल सुपरिटेन्डेन्ट पाउन सकेको छैन । जिल्ला अस्पतालमा चार र तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एक–एक गरी जिल्लामा सात डाक्टरको दरबन्दी छ, तर स्वाइनफ्लुको महामारी चल्दा पनि दुई डाक्टर मात्रै थिए ।

जिल्लामा ३८ स्वास्थ्य सहायक, ६२ अहेव र ७३ अनमीको दरबन्दी छ । जिल्लामा एक अस्पताल, सात स्वास्थ्यचौकी र २५ उपस्वास्थ्यचौकी छन् । ती स्वास्थ्यचौकीमा नियमित स्वास्थ्यकर्मी बस्दैनन् । लामो समयसम्म अनमीका भरमा चल्ने गर्छन् । ‘लामो समय मैले मात्रै स्वास्थ्यचौकी धानेकी छु । पटकपटक अहेव आउने–जाने चलिरहन्छ,’ टालेगाउँ स्वास्थ्यचौकीकी अनमी हृदय सिंहले भनिन्, ‘दुर्गम भनेर स्वास्थ्यकर्मी आउनै मान्दैनन् । आएका पनि पूरा समय बस्दैनन् ।’

जाजरकोटका हरेक महामारीमा आफ्नै खर्चमा गाउँमै पुगेर सेवा दिएका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसी दुर्गम गाउँका जनताले डाक्टर देख्न नपाउँदा बेलाबेला प्रकोप फैलने गरेको बताउँछन् । ‘गाउँमा डाक्टर छैनन् । दुर्गमका जनता उपचार नपाएरै मर्छन्,’ उनले भने, ‘ग्रामीण क्षेत्रका जनताले डाक्टर देख्ने गरी प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुनुपर्छ । दुर्गम क्षेत्रमा पनि मेडिकल कलेज खुल्नुपर्छ । यही कुरा उठाएर मैले अनशन बस्नुप¥यो ।’

८० प्रतिशत जनताले डाक्टर देख्न नपाएको बताउँदै केसीले स्वास्थ्य सेवा सहरकेन्द्रित भएको गुनासो गरे । ‘सहरमा २० प्रतिशतका लागि डाक्टर छन् । गाउँमा डाक्टर नै नदेखेर मानिस मरिरहेका छन्,’ उनले भने, ‘गाउँमा मेडिकल कलेज भए दुर्गमका जनताले स्वास्थ्य सेवा पाउँथे, गाउँमा पुग्ने डाक्टर पनि उत्पादन हुन्थे । सरकारले यी काम तत्काल अघि बढाउनुपर्छ ।’