संस्मरण: त्यो कहालीलाग्दो बैशाख १२

Posted on: May 03, 2016 | views: 426

राजकुमार िसग्देल-

बैशाख १२ गतेको  त्यो दिन  ।   शनिबार भएपनि कार्यालय जानै पर्ने बाध्यता ।   त्यतिबेला रातोपाटीसँगै सामाखुसीस्थित एक  संस्थामा पनि कार्यरत थिएँ। जहाँ दिउँसोको समय मेरो कार्यतालिका हुन्थ्यो ।   अरुदिन ११ बजेभित्रै सो कार्यालय पुग्ने म  शनिबार त्यसमा पनि कामको चाप कम हुँदा ढिला गरि निस्किए ।

निस्कनै लाग्दा जहानले  आफूपनि माछापोखरीसम्म जाने बताएपछि सँगै गयौं माछापोखरीसम्म ।   माछापोखरीमा केहिबेरको अलमलपछि जहानलाई  कोठमा पठाएर  आफूचाहिँ लागे कार्यालयतिर !

ढिला गरि म पुग्दा सहकर्मी समुन्द्र घिमिरे अफिस पुगिसकेका । सामान्य औपचारिकतालगत्तै  कम्युटरमा आवश्यक काम सुरु मात्रैके  गरेको थिए–एउटा आवाज आयो, जुन आउँदा चारतल्ले भवनमा कुनै कम्पन थिएन ।  मात्र अनौठो आवाज थियो -
मैले भनेँ -होइन, कस्तो अनौठा आवाज आयो यो?
हो त है–समुन्द्र बोले
तल ग्यारेजमा मोटरसाइकल स्टार्ट गर्या  होला
समुन्द्रले यसो भन्दै गर्दा अकास्मात अघिको आवाज  भयानक मात्रै बनेन पूरै भवन बेजेडले हल्लिन थाल्यो
 भुकम्प, भुकम्प.......
भागौं, भागौं......

जब म चिच्याउन के थालेको थिए समुन्द्र हाँस्न थाले ।  तर भाग्ने सुर गरेनन् । मैले जोडले पुन दोहोर्याएपछि भाग्न त खोजे गरे अत्याधिक कम्पन र डरले  उनी भागेनन् बरु टेबुलभित्र छिरेछन् ।

पछि भन्दै  थिए–भयानक भुकम्प हो भन्ने ख्यालै गरिनछु ! त्यतिबेलासम्म म भने  खुल्ला सडकमा पुगिसकेको थिए । जतिबेला कम्पन जारी थियो ।  यद्यपी  चार तल्ले भवनको पहिलो तल्लाबाट खुल्ला ठाउँसम्म पुग्दाको समय भने कम्ता कहालीलाग्दो थिएन ।  भवनको सिँढी झर्दैगर्दा बेजोडको कम्पनले बारम्बार खुट्टा लर्बराउँथ्यो ।

कहिले यता र कहिले उता हल्लिदा   पाइला  सार्नै नसकिने । जब सिढि झरियो प्यासेज हुँदै बाहिर निस्किँदै गर्दा एकाएक भवनको वाल चिरियो। भूई फाटियो । हेर्दा हेर्दा भवन  ढल्नै लाग्यो । त्यतिबेला लाग्यो–जीवनको यहीँ अन्त्य हुन लेखेको रहेछ  । सेकेण्ड भरमा गर्भवती श्रीमति सम्झिए, जो भर्खरै  डेरा फर्कँदै थिइन्। खैं केहि पो भइहाल्यो कि !  घर सम्झिए, जहाँ बुढा बाआमा एक्लै थिए । आफन्त, साथीभाई सबैसबै !

त्यतिबेलाको समय  स्मरण गर्दा  अहिले लाग्छ । जीवन अनमोल छ । लगभग  एक मिनेटको त्यो कोलाहाल समयमा लोभ, मोहसबै पत्तासाथ भइसकेका थिए मनमष्तिस्कबाट  । केबल थिए त बाँच्ने आशाहरु । जीवनका अर्थहरु । हुन पनि हो, मानिस सँधै धनसम्पत्तीका लागि संघर्षरत रहन्छ । त्यही धन सम्पत्ती, एस  आरामको चक्क्रले त मानिसलाई लोभी बनायो। लोभले कोलाहाल जन्मायो । तर–जीवनको अन्तिम घडीमा  ज्यानको महत्व हुँदो रहेछ। धनसम्पत्ती भन्नेकुरा गौण ।  त्यतिबेला मनमनै लागेको थियो–मान्छे किन पैसाका लागि महित्ते गर्नेरहेछ ?, आखिर पैसा भन्नेकुरा केहि रहेनछ । पैसा त केबल विलासिलता नै रहेछ ।  सम्पत्ती त जीवननै हो ।

बाहिर निस्कँदा मुटुका धड्न बढेका थिए ।  अघिसम्म फुर्तिलो अनुहार लोलाएका थिए । जताततै कोलाहाल  चिच्याहट । सडकमा मोटरसाइकलहरु असरल्ल थिए ।  गाडीहरु रोकिएका अवस्थामा थिए ।  भागदौड मच्चिएका थिए ।  भुकम्प त आयो कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु पत्ता लगाउन सक्ने अवस्था थिएन । त्यसको मतलब पनि गरिएन ।   डेरामा जाँदै गरेकी श्रीमतिलाई सम्पर्क प्रयास  गरेँ पटकक पटक  । तर , प्रयास सफल भएन ।  फोन नलागेपछि  उनको अवस्थाबारे चिन्ता बिढ्यो । हतारहतार स्कुटरको व्यवस्था गरेर उनी  डेरा फर्किने रुट हुँदै नेपालटार लागियो । जतिबेला पराकम्प जारी थियो। चुनौति थियो हिँड्नलाई । त्यस्तो अवस्थामा  सहकर्मी समुन्द्रले साथ दिए ।

विपत्तीमा बाँचिएको थियो । आफू बाँचेर आफन्त तथा जीवनसाथीलाई बचाउन सकिएन भने फेरि जीवनको के सार हुन्थ्यो र ! त्यसैले त चुनौतिका बीच पनि जहानको  सहयोगका लागि   जुटिएको थियो । धन्य उनीपनि  सुरक्षित रहिछन् ।   तनाव अझैं सकिएको थिएन ।  गाउँमा बाआमा थिए ।  आफन्त थिए, सबैको एकएक सुचना पाएपछि मनमा शान्ती मिल्यो ।  धन्य कसैलाई केहि भएको रहेनछ । लामो प्रयासपछि रातोपाटीको  पुल्चोकस्थित कार्यालयमा पनि सम्पर्क भयो। कार्यालयको भवन भूकम्पले ध्वस्त भएपनि भाग्यबस सहकर्मी साथीहरुलाई भने केहि भएनछ  । 
 तर, आफैं भने  स्कुटरबाट लडेर घाइते हुन पुगेँ ।  जसका कारण    विनाशकारी भुकम्पबारे सुसूचित गराउनु पर्ने बेला केहि दिन  खुल्ला आकाशमै खुम्चिनु पर्यो ।

वातावरण कोलाहालमय थियो । कोहि ट्याक्सीमा त कोहि मोटरसाइकल या बोकेर पनि घाइते लिएर अस्पतालतर्फ दौडिदै थिए । कोहि आफन्त भग्नावशेसमा पुरिएको भन्दै चित्याउँदै थिए । साँचैनै बैशाख १२ को त्यो दिन कोलाहालमय थियो । त्रासदीपूर्ण थियो ।