नेपाल भारतमा विलय गराउँ : नेहरु,त्यसो हो भने देशको नाम नेपाल राखौं :राजा महेन्द्र 

Posted on: May 03, 2016 | views: 52839

प्रधानमन्त्री भएका बखत बीपी कोइराला भारत जानुअघि नेपाल कम्युनिष्ट पार्टीका तात्कालिन महासचिव केशरजंग रायमाझीलाई घरमा बोलाएर १० हजार रुपियाँ थमाए । नमागिएको पैसा पाएपछि रायमाझीले प्रयोजन सोधे । बीपीले भने– ‘ म गएपछि मेरा विरुद्ध नारा जुलुस गराउनुस् । त्यसो भयो भने मैले देश हितमा अरु बढी काम गर्न सक्छु ।’ नेहरुले नेपाल भारतसंग विलय गर्ने प्रस्ताव राख्दा राजा महेन्द्रले शर्त राखेका थिए रे– ‘देशको नाम चाहिँ नेपाल राखिनुपर्छ ।’ त्यो दूरदर्शिता अहिले मिथक बनेको छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणसंग पनि यस्ता यक्ष प्रश्न जोडिएका छन् । बहुदलपछि बनेका प्रधानमन्त्री मध्ये कृष्णप्रसाद भट्टराई बाहेक अरुले भारतसंग सार्वभौम राष्ट्रको इज्जत धानेर संवाद नै गर्न सकेनन् । नेपाल भूमिमा क्रान्तिकारीहरु भारतको माटो टेक्नासाथ आज्ञाकारी हुने रोगबाट निरपेक्ष हुन सकेनन् ।

संग्रहालय पुगेर कोट सुम्सुम्याउदै बीपीसंग आफूलाई तुलना गर्ने आशाका पात्र प्रचण्ड भावनामा अघि काममा पछि देखिए । भाषणमा क्रान्तिकारी काममा आज्ञाकारी उनको पछिल्लो विशेÈता बनेको छ । बीपीकै सानिमाका छोरा सुशील मूल्य, मान्यता र आदर्शको रटबाट माथि नउठी भगवानका प्यारा भए । कुमार बन्नुबाहेक उनले कार्यशैलीमा न बीपी, न जीपीको छाप छोड्न सके ।

नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेष अझै संग्रहालयमा सुरक्षित छ । जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छूट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरुको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरु बद्नाम छन् । कम्युनिष्ट नाम उनीहरुका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेताहरु इमान्दार छन् , तिनीहरु जन्मेदेखि अहिलेसम्म सडकमै छन् । अपेक्षित इमान्दार नेताहरु ‘गद्दार’ को पुरस्कारबाट विभूषित हुने गरेका छन् । नेपालमा क्षमतावान नेता प्रशस्तै जन्मिए । कतिले सपना देखे, समय पाएनन् । अहिलेकाले समय पाए, सपनै देखेनन् ।

टंकप्रसाद आचार्य एकताका चीन भ्रमणमा थिए । त्यो बेला चीन र जापानबीच सम्बन्ध चिसिएको थियो । चीनले शान्तिदूतका रुपमा जापान गएर दुई देशबीचको सम्बन्ध सुलह गराइदिन गरेको आग्रहलाई उनले सफलतापूर्वक सम्पन्न गरिदिए । १४ भाषाका ज्ञाता मातृका प्रधानमन्त्री भइसकेपछि पनि अमेरिकाको राजदूत भएर पद सानो ठूलो हुँदैन भन्ने प्रमाणित गरे । राष्ट्रसंघमा अलिखित भाÈण गर्ने मातृका त्यसवेलाका विश्वकै चर्चित वक्ता थिए । पञ्चायत कालको सुनलाई पनि पितल देख्ने पूर्वाग्रही चश्मा ओढेका इतिहासकारहरुले मातृकाको त्यो छविप्रति कहिल्यै न्याय गरेनन् । बीपीले राष्ट्रिय स्वाधिनताका लागि बमदेखि साइनाइटसम्म बोके ।

अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए । रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सूसूचित गर्न गिद्धे प्रेसमात्र ल्याएनन, त्यहाँका सैनिकको मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनामा व्यापक सुधार गरे । राजा वीरेन्द्रले झण्डै डेढसय देशबाट नेपाललाई शान्तिक्षेत्र घोषित गराए । तर गणतन्त्र आएपछि लोकतन्त्रको जननी मानिने बेलायतमा रहेको नेपाली दूताबास कमिसनको चक्करमा बेच्ने प्रक्रिया आरम्भ भए ।

एउटा मानिस प्रत्येक दिन जंगलमा गएर मादल बजाउँथ्यो । मादल बज्नासाथ एउटा मृगको बच्चा कतैबाट दौडँदै आएर नजिकै बस्दथ्यो । एकदिन त्यो मानिसले मृगको बच्चासंग जिज्ञासा राख्यो– ‘मेरो गायन राम्रो कि ताल जसका कारण तिमी मैले मादल बजाएपछि नजिकै आएर बस्छौ ?’

मृगको बच्चाले जवाफ दियो– ‘मलाई थाहा छैन कि तपाईंको गायन राम्रो कि ताल । म त केवल यति जान्दछु– तपाईंको मादलमा रहेको छाला मेरी आमाको हो । जब तपाईं यसमा हान्नुहुन्छ मलाई लाग्छ, आमाले मलाई पुकार्दैछिन । तिनै आमाको आर्तनादले मलाई तपाईं सामु खिचेर ल्याएको हो ।
यदि परलोक छ भने देशमा प्रजातन्त्र ल्याउने लडाइँमा आफूलाई विसर्जन गरेका नेताहरुको अवस्था मादल सुन्ने पाठाको जस्तै हुँदो हो । बीपी, पुष्पलाल, गणेशमानसिंह, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईजस्ता युगपुरुषहरु स्वर्गको आँखीझ्यालबाट यहाँको चर्तिकला त्यही पाठा झैं सुन्दा हुन् । अनि विरक्तिएर आर्तनादको दुन्दुभि बजाउँदा हुन् । आफ्नो विगत सम्झिदा उनीहरुलाई नै कहालीलाग्दो हो । देशको अगाध माया हुँदाहुँदै शक्तिको माथापच्चीका कारण त्यसबेला मिल्न नसकेकोमा राजा महेन्द्र र बीपी पश्चातापको आँसु बगाउँदा हुन् । हुन पनि उनीहरुले शासन गरेको त्यो युग स्वर्णयुग थियो । नेपाल र नेपालीको इज्जत थियो । राष्ट्रहितका लागि राजा रंक समान थिए ।

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ त्यसबेला बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको अनुमति लिएर सभामुख भट्टराईले अमेरिकी दूताबासका कार्यबाहक राजदूत फिक्सलाई हप्काउँदै भने– ‘ हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ?’ राजदूतले स्पष्टीकरण दिंदै भनेका थिए– ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ । कुटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले दिएको टोपी लगाएर जान मिलेन् । त्यस्तो चिसोमा टोपी नलाई जानु झन् घातक हुन्छ । फेरि उमेरका दृष्टिले पनि उहा बृद्ध हुनुहुन्छ । डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन् । त्यसैले नजाने भनेको हो ।’ अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कुटनीतिक मर्यादा र क्षमता यति शक्तिशाली थियो कि त्यस्ता गम्भीर विरामी आइजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको भव्य स्वागत गरेका थिए । घटनाको यही संवेदनशिलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाईट हाउस ल्याएर गार्ड अफ अनर दिने प्रचलन शुरु गर्यो ।नेपाली पाहुनाका कारण ६ दशकअघि फेरिएको त्यो चलन बाराक ओबामाको पालासम्म आइपुग्दा पनि कायमै छ ।

त्यतिमात्र होइन, दोस्रो विश्वयुद्धमा नेपालले गरेको उल्लेखनीय सहयोगप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले नेपालीलाई यथास्थानमा आगन्तुक भिसा उपलब्ध गराउँथे । राजनीतिमा भात जित्ने तर भविष्य हार्ने खेलका कारण हाम्रो कुटनीतिक मर्यादा रसातलमा पुगेको छ । दल र नेताहरुको साख मेची र महाकालीबाट पारी तर्न सकेको छैन् ।

भारतमा नरेन्द्र मोदी नामको वर्षा हुँदा यहाँ अनगिन्ती छाता ओढ्नेहरु निस्कन्छन् । मुख्यमन्त्री हुँदा उनले गुजरातमा गरेको कायापलट कसैका लागि अनुकरणीय हुँदैन् । मोदीकी ८५ वर्षीया आमाले सार्वजनिक यातायात चढेर मतदान गरेको दृश्यले कसैलाई छुँदैन् । चिया पसले मोदी विशाल भारतको कार्यकारी पदमा कसरी पुग्यो ? त्यसको विश्लेषण छैन् । अब भारतीय जनताले देशका लागि मर्ने दिन गए भन्ने उद्घोष गर्ने मोदीको विकास आन्दोलनमा नेपालले उर्जा दिएर सघाउन सक्छ । नेपालले उत्पादन गर्ने जति पनि उर्जा अब भारतका लागि कम हुन्छ । बरु हाम्रा प्रधानमन्त्रीको उखान सुनेर मख्ख पर्न छाडेर यसखाले काममा तदारुकता देखाउन सके पुस्तौं पुस्ताका लागि असल कर्म हुने थियो । मोदीसंगको भेट छोरा या नातिलाई मेडिकल पढ्न पठाउने, औषधोपचार गराइ माग्ने, निर्वाचन क्षेत्रमा एउटा एम्बुलेन्स पाउन बिन्तीपत्र हुने संकीर्ण विचारमै सीमित गर्ने हो भने राजनीति नामको सौदा गर्नुको के अर्थ रहन्छ ?

कुनै पनि दलका अघिल्लो पुस्ताका नेता रहँदासम्म देशको साखमाथि कसैले खेल्न सकेको थिएन । चीनले सगरमाथा आफ्नो हो भनेर दाबी गर्दा बीपीले सोधेका थिए– ‘यदि सगरमाथा तिम्रो हो भने चिनिया भाषामा सगरमाथाको नाम के हो ?’ यसो भन्दा चिनियाले उत्तर दिए– ‘चोमोलोङमा ।’ बीपीले तत्काल प्रतिवाद गरी त्यो तिब्बती नाम भएको भन्दै सगरमाथाको लालपुर्जा नेपालको नाममा दिलाई छोडे । एशियाका कुनै देशले इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुअघि बीपीले मान्यता दिएर निर्णय क्षमताको परिचय दिएका थिए । जसका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु उनीसंग रुष्ट बनेका थिए ।

१९५० को सन्धिलाई नेहरु विश्वविद्यालयका प्रोफेसर मुचुकन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए । मोहनशम्शेर जननिर्वाचित प्रधानमन्त्री थिएनन् । तर उनैले सन्धिमा सही धस्काएका थिए । सबैलाई थाहा भएकै सत्य हो– संसदले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ । अहिले यही सन्धि दलहरुका लागि अन्धाले छामेको हात्तीजस्तो बनेको छ । पश्चिमा राष्ट्रहरुले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन् । जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ । तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैंसीको नियति भोग्नुपरेको छ । शुरु शुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो । अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो । साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशी खर्च ग¥यो । अहिले त्यो रणनीति रुसमा केन्द्रित छ । यी सवै घटनाक्रमको निष्कर्ष हो– आत्मकेन्द्रित राजनीतिले मुलुक भड्खालोमा जाकिन्छ । जब नेता राजनेता बन्ने अवसर छोडेर एजेन्टमा रमाउँछन, त्यो बेला राम राम त भनिएला तर काँध हाल्ने र छाँद हाल्ने मरिगए भेटिदैन् । राजनीतिमा विश्वास भएन भने त्यो आत्मघात शिवाय केही हुँदैन् ।

भगवान बुद्धका मूति त धेरै स्थापना भए, तर बुद्धत्व ग्रहण गर्नेहरु थोरै भेटिए । देवताको पूजा गर्न मन्दिरमा थुप्रै भीड लाग्यो, देवत्वको मर्म आत्मसात् गर्ने झन् न्यून भए । जनयुद्ध जीवनको गम्भीर भूल थियो भन्न मात्र बाँकी राखेका माओवादी नेताहरुले ठूलो हैन असल बन्ने कोशिस गरे जाति हुन्थ्यो । कांग्रेस एमालेहरु आफूहरुलाई सृष्टिकर्ता र पालनकर्ता सम्झिने भ्रमबाट मुक्त भइदिए हुन्थ्यो । बसुधैव कुटुम्बकम्को मूल मर्म पनि यही हो ।
जनआस्था साप्ताहिकबाट साभार ।