कथा देउरालीको

Posted on: August 15, 2019 | views: 1631

0 नारायण नेपाल,
गाउँ पहाडमा देशभर छ थुम्को र, त्यही थुम्कोलाई भनिन्छ देउराली । मेरो गाउँँको एक थुम्कोको नाउँ थियो देउराली । उहिले उहिले बाजेका पालामा उकाली ओराली गर्दा फुलपाती ढुंगा चढाउने हलो गाड्ने स्थान थियो रे हाम्रो गाउँँको देउराली ! त्यही थियो गन्धर्व गीतको झल्को :
बल्छी र जाल खेलिन्थ्यो
मिसिन्थ्यो जहाँ, दुई खोली
फूल र पाती चढाउने
देउराली ढुंगो त्यही होला ?


त्यही थुम्को पनि बेकामे भनेर अलि उपेक्षित नै थियो गाउँमा । हामी केटाकेटीहरूलाई भने ठुला बडा र झाँक्रीहरूले हालेको भूतकै त्रास मनमा खेलिरहेको थियो देउरालीको । कहिलेकाहीँ टाउको दुःखे, पेट दुःखे पनि हेर्ने झाँक्री जान्नेहरूले देउरालीतिर गएछ क्यारे खेल्न ! भूत लागेछ भनेपछि त त्यो डर कहिले भाग्नु र मनबाट ! हाम्रा जिजुबाजेहरू निःसन्तान भएपछि भाइ भतिजाको छोराले खालान् सम्पत्ति भनेर हलो गाडेर नुन छरेर छाडेका थिए रे ! उहिले उहिले त गाउँँमा खेताला जम्मा गरी ढिकीमा कुटेर भारी हालेर चामल बेच्ने र नुनतेल किन्न भीमढुंगा देउरालीको बाटो काठमाण्डौ जाने चलन थियो पैदल यात्रामा यही देउरालीको बाटो हुँदै । उबेला यही देउरालीको बाटो थियो बाटो बाटोको बिसौनीको थुम्को थियो देउराली । जब सडकको विकास जिल्लातिर जान थाल्यो, त्योसँगै काठमाण्डौ किनमेल गर्न बजार नौबिसे, गल्छी, बटार र त्रिशुलीतिर सरेको थियो ।


चुरोटे र बानियाँहरू भरिया लाएर गाउँतिर नै आउँथे । देशमा बहुदलसँगै गाउँँमा आएको सडकले नयाँबजारको रूपमा विकास गर्ने प्रयत्न गर्दै थियो यो देउराली डाँडामा । योभन्दा पहिले झिल्टुङको डबली थियो सानो बजार यो गाउँको । कामरु मन्दिर कोटघर केही छाप्रोहरू केही नेवारको पसलले धान्न थालेको थियो यो गाउँको बजार । उहिले मल्ल राजाको पालामा के थियो डबली कसैलाई थाहा छैन तर पञ्चायतको बेला गाउँँ पञ्चायत भवन थियो यही डबलीमा । आज त गाउँ–गाउँमा मकै कोदो फल्ने बारी मासेर सडक र घरघडेरी बनेको थियो घर घरमा खुलेका पसलहरूले गाउँमा बजारको प्रतिनिधित्व गरेको छ । गाउँमा हुर्केको मदिरा संस्कृतिको एक नयाँ थलो बनेको छ देउराली र देउरालीको भट्टी पसल रक्सी भटी र देश उस्तै थियो पर्यायवाची चित्र थियो गीतमा झैँ :
देउरालीको भट्टी पसल
रक्सी भट्टी यस्तै हो
साहुनीको बोली असल ।


गीत त मिठो थियो तर आज गाउँँको मकै भटमास, कोदो, लोकल, कुखुरा, कोदोको रक्सी होइन, मना र चिनी हालेको रक्सीले धानेको थियो गाउँको बजारको खपत त्यो पनि पानि मिसाएर । केही दशक पहिला मान्छे लरबराएर लिडेको देख्दा भन्थे, यो गाउँतिर जाँड खाएको अर्चलेका भोटेजस्तो अहिले भन्छन् देउरालीका जड्याहाँ बाहुनजस्तो । सहिद कृष्ण सेनको ‘कान्छी भट्टी र देश’ कवितामा जस्तो समाजको प्रतिबिम्ब छ आज गाउँ सहरको भट्टीहरूमा :
भट्टीमा भात पाकिरहेछ
भातसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासुसँगै कान्छीको आँसु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सीसँगै कान्छीको श्री बिकिरहेछ
नेपालकि छोरी ऊ
हिमालकि गोरी ऊ
विदेशका कोठीमा बेचिएका अबोध चेलीझैँ
गहबाट वहका नदीहरू झरिरहेछन्
कान्छी भट्टी थापिरहिछ ।


अनेक दुःखका बिच गाउँ–गाउँमा भट्टीहरू चलिरहेछ । आज बोइलर कुखुरा, चाउचाउ, बियर, रुस्लान भोड्का बजार छाएको छ । आज दाउरा होइन, ग्याँस सिलिन्डर छाएको छ गाउँमा । यो देउरालीमा बिहानपख चिया व्यापार त उल्कै छ । रु. २ बाट रु. १० पुगेको छ । दैनिक १५ लिटर दूधमा पानी हालेर चिया बेचिन्छ । यो व्यापारको इतिहास जम्मा दश वर्षको मात्र हो । यही चियाको गिलासबाट सुरु हुने देशको राजनीतिक बहस सुन्दा लाग्छ, यी मनुवा सिंहदरबार छिर्ने अवसर नपाएर यता बर्बराउँदैछन् । सिंहदरबार छिर्नेहरूभन्दा कम छैन यिनका चेतनाहरू !


हिजो गाउँ समाजको बिचमा हुर्केको थियो । आजको गाउँ बजारको बिच हुर्कंदै आएको छ । गणतन्त्रपछि त संस्कारमा समेत बजारले प्रभाव विस्तार गरेको छ । ल्होसार, गुन्यु चोली, विवाह व्रतवन्ध खर्चिलो व्यापार बन्यो । जन्म दिनको उत्सव मनाउने संस्कृति, भोजभतेर चल्न थालेको छ गाउँघरमा । अहिले देउराली आसपासका गाउँँमा वैदेशिक रोजगारीमा जानेहरूको नयाँ लहर आएको छ । पसिना बेच्न अरब, दुबई र खाडीमा जाने लहर ठुलै छ । अरबको खाडीमा पसिना बेचेर आएका लाहुरेहरूको गज्जबको सपना हुने गरेको छ यो गाउँँमा । हाम्रा गाउँँका लाहुरेहरूको ठुलो सपना देउरालीमा घडेरी किन्ने र घर बनाउने छ । कतिपयचाहिँ छ महिनाजति २२० सीसीको पल्सर कुदाउने र बेखर्ची भएपछि विदेश जाने लहर । तिनको कथा न सिंहदरबार देख्छ, न कुनै पत्रकारले लेख्छ । यहाँ अब रैथानेहरू दुईचार आना जमिन बेचेर खाने भएका छन् ।


४० को दशकमा यो गाउँमा हलोकाण्ड चलेको थियो । त्यो कथा सम्झेर देउराली आज दंगदास बनेको छ होला । कथा के थियो भने बाहुनले हलो जोतेका कारण बाहुनहरूको जात गएको थियो । यो गाउँको हलोकाण्डले जात गएको बाहुनहरूको अहिले लोकतन्त्रको हलोमा आफैँ जोतिएर बाँच्नुपरेको कथा दुनियाँलाई के थाहा ! बाहुनले हलो जोत्दा जात गएको हो पछि । हलो जोतेको घटनाले निकै उग्ररूप लियो । त्यो साम्य पार्ने उपाय र सामाजिक सद्भावना कायम गर्ने काम थियो पुरेतको । हलो जोतेर जात जाने बाहुनको भात पानी चलाउने, जात फर्काउने कम्युनिस्टका पुरेत थिए दाहालबा उर्फ योगराज दाहाल ।


देउरालीमा अर्को कथा छ, देउरालीको स्कुलको । यहाँ स्कुल खोले हली पाइन्न भन्दै स्कुलविरोधी थिए त्यो बेला । तर, अहिले स्कुल छ तर गाउँमा हलीचाहिँ छैन, खेतबारी सबै बाँझो नै छ । सबै युवाहरू विदेशतिर वा सहरतिर छन् । गोरो छाला भएको खैरेलाई तामझामसहित गाउँँ–गाउँँमा डुलाइन्छ तर हिजो काठ र स्याउला बोकेर कोदो पाथी उठाएर स्कुल चलाउनेहरूलाई उपेक्षा र खिसिट्युउरी गर्नेहरू गैर–सरकारी संस्थाको लागि बाजागाजासहित तामझाम गरेर उत्सव गर्दै चाकडी गर्दै थिए गाउँतिर ।


हिजो अशिक्षित भए पनि सामाजिक अगुवाहरूले शिक्षाको विकास गर्ने सपना देखे, पढेलेखेका सन्ततिको भविष्य उज्ज्वल बनाउने सोचे तर हिजो पढ्न पाएन्न र काम थिएन, आज पढेका छन् तर पनि काम लागेको छैन । पढेलेखेका युवाहरू पसिना बेच्न अरबको खाडी जाने र तिनलाई क ख चिनाउने विद्यालयका प्रध्यानाध्यापकहरू राजधानीमा घरघरेडी कसरी जोड्न सफल हुन्छन् होला ? आजको गाउँँ–गाउँँका प्रअहरूको अर्थशास्त्र र विद्यालय शिक्षा विकासको समाजशास्त्रसँग दुनियाँले कति साक्षात्कार गरेको होला ? कथा उस्तै छ गाउँहरूको । हरेकको सपना एउटा छ पैसा कमाउने । बजार, सहर, सदरमुकाम, राजधानी जाने । घरघडेरी जोड्ने त्यसपछि विदेशको सपना देख्दै गाउँ छाड्नेहरूको लामो लर्को लागेको छ । आज केही मेरो छोराछोरी देउराली स्कुलमा पढाउँछु भनेर गाउँ ल्याउँदैन । सबै सहरतिर लाने सोचमा हुन्छन् । लाग्छ, आज जसरी गाउँ वृद्धालय जसरी बन्यो, यही गतिमा सपनाको निर्यात गर्दै सहरको व्यापार गर्ने हो भने त अबको १५÷२० वर्षमा यो गाउँलेको खेतबारी मासेर खनेको सडकमा कसले गुडाऊला गाडी ? देउराली बजार बनेपछि गाउँ छोडेर देउरालीको बजारमा बसाइ सरेका लेकिन बास्कोटाको तर्क मुनासिव थियो । हामी जस्तो मान्छे बस्ने ठाउँ होइन, उनी यसो भन्दै बजार छाडेर गाउँ फर्कने तयारीमा थिए ।


केही व्यापारीहरूको एकाधिकारको बजार हो देउराली । यहाँको व्यापारीको काम किसान लुट्ने, ठग्ने कार्य मात्र देखिन्थ्यो, किनभने बजारियाको मुखमा भाउ छ र हातमा बजार तर किसानको साथमा उत्पादन तर हातमा कोदालो र नाम्लो मात्र । त्यही भएर होला रूपचन्द्र बिष्टले भनेका थिए– आर्जन गर्ने किसान, मजदुर; ठगी खाने सामन्तहरू ! त्यस्तै सामन्तहरूको बोलवाला चलेको थियो यो बजारमा पनि अन्यत्रजस्तै । मेरी हजुर आमालाई गाउँँलेहरूले पिपलबोटे माइली आमाको उपनामले चिन्थे ।

गाउँघरको सामाजिक कामदेखि न्याय निसाफ हुँदै औषधी उपचारसम्मको हर्ताकर्ता थिए हजुरआमा । घरकरेसाको काँल्लोदेखि जंगलसम्मका के के जडीबुटी खुवाउँथिन् र औषधीमूलो गर्दै हुर्काएकी थिइन् हामीलाई तर आज मैले पढेको शिक्षाले न त्यो हजुरआमाको ज्ञान न दिन्छ, न कुनै जडीबुटी चिन्छ । त्यही घर पछाडिको काँल्लोमा, अहिले त म भने झारपातबाहेक केही देख्दिनँ ।


आज गाउँँमा स्वास्थ्यचौकी छ, सरकार निःशुल्क औषधीको नारा अलाप्न छोड्दैन । त्यही स्वास्थ्यचौकी बारीको मेला सुरु हुँदा खुल्छ र मेला नछोड्दै बन्द हुन्छ । त्यो बेलाबाहेक खुल्दैन औषधालय । के हामी बिमारी हुन पाइन्न । गाउँको ज्ञान चेतना धामी झाँक्री भरोसा ।


हजुरआमा दुई मुरी कोदोमा मैले बनाएको हो यो घर भन्दै बाँचुञ्जेल धाक लगाउँथिइन् । उतिबेलाको डकर्मी थपिन्थुंके हजुरबा अझै जिउँदो साक्षी छन् तर म आज लाखौँ खर्चेर पनि त्यो वास्तुकला बँचाउन सक्दिनँ । यो गाउँमा फैलिएको सिमेन्ट सभ्यताले कसरी हेर्दाहेर्दै हरायो हाम्रो वास्तुकला । यो गाउँँको पञ्चायती शासन थामेका एक प्रधान थिए छबिलाल श्रेष्ठ । एक दिन तिनै बाले एक सरकारी कमरेडसँग साउती मारे । सवाल रै’छ औषधी उपचारको । म मनमनै गम खाएँ । १६ वर्ष प्रधानपञ्च भएको छबिलालबा आज औषधीको लागि मेयरसँग याचना गर्दै । हिजोका पञ्चायतका खम्बा राजनीतिमा लागेर आज सडकछाप तर सरकारी कमरेडहरू एक वडा अध्यक्ष सदस्य हुन पाएको छैन, करोडौँको मालिक ! करोडपति कमरेडहरू लोकतन्त्रको उपहार । यस्तै छ, नयाँ कथा गाउँ–गाउँको देशको चित्र नियालेर हेरौँ त !