डाक्टरका माग सम्बोधन हुन्न, राजीनमा दिए काँध थाप्न तयार छु : मन्त्री पण्डित

Posted on: April 10, 2019 | views: 1929

यही चैत २४ गते आइतबारदेखि ५ दिनदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा लागेका सरकारी डाक्टरको माग जायज नभएको भन्दै सरकारले तत्काल काममा फर्कन निर्देशन दिएको छ ।

डाक्टरको आन्दोलन संविधान र संघीयता विरोधी भएकोले कर्मचारी समायोजनमा पुनर्विचार गर्न नसकिने सरकारको चेतावनी छ । आफ्नो माग सम्बोधनका लागि सरकारले तत्काल वार्तामा बोलाए आन्दोलन फिर्ता लिने डाक्टरहरुले बताए पनि वार्ताको औचित्य नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्क छ । मन्त्री पण्डितसँग उज्यालो अनलाइनको लागी पत्रकार टेकमान शाक्यले गर्नुभएको कुराकानी यहाँ साभार गरिएको छ ।

डाक्टरले आन्दोलन गर्ने, तपाईँहरुले समाधान नखोज्ने अनि बिरामी भने मर्कामा परिरहने कहिलेसम्म ?


डाक्टरसाबहरुले आन्दोलन गर्नुको कुनै औचित्य छैन । उहाँहरुको कुनै माग जायज छैन । उहाँहरुका कत्तिपय मागहरु संविधानसँग बाझिएको, संविधानभित्र अट्नेगरी नभएको र कतिपय कुराहरु उहाँहरुसँग पटक–पटक बसेर प्रष्ट भैसकेपछि पनि ‘रडाको’ को रुपमा लिने र सेवा बन्द गर्ने कुरा अपराधपूर्ण छ । संसारका कुनै देशका डाक्टरहरुले यसरी आन्दोलन गरेको रेकर्ड छैन ।

अति आवश्यकीय र संवेदनशील क्षेत्रमा बन्द गर्न नपाइने प्रावधान छ । यो निजी क्षेत्रका क्लिनिकहरुलाई प्रोत्साहित गर्ने कदम हो । तत्काल बन्द गरी काममा फर्कनुको अर्को विकल्प छैन । काममा फर्किएन भने डाक्टरहरु कारबाहीमा पर्छन् ।

तपाईँहरुले मागअनुसार नै समायोजन गर्छौँ भनेर आफ्नै तालमा समायोजन गर्नुभयो भन्ने डाक्टरहरुको तर्क छ नि ?

त्यो उहाँहरुको गलत बुझाइ हो । कत्तिपय भ्रमपूर्ण प्रचार गर्नुभएको छ । संविधान, संविधान अनुसार संघीयता र संघीयता अनुसार स्वास्थ्य क्षेत्रलाई तीन तहमा विभक्त गरिसकेको कारणले डाक्टरहरुले आफ्नो कुरा मात्रै बुझ्ने, देशको संविधान र ऐन कानुनलाई नबुझ्ने, आफ्नो कर्तव्य बिर्सने र सरकारी सेवामा आउँदा  खाएको सपथ पनि बिर्सिएर अस्पताल बन्द गरिएको छ । यो कदम गलत छ । यसैमा अल्झिराख्ने हो भने सरकारले कडा कारबाही गर्छ ।

डाक्टरहरुले माग सम्बोधन गर्न सरकार गम्भीर नभए सामूहिक राजीनामा दिने भनेका छन् । डाक्टरहरुको सामूहिक राजीनामा आयो भने, त्यसको भोलिपल्ट आउने चुनौती सामना गर्न सक्नुहुन्छ ?

डाक्टरसाबहरुले झुटो कुरा गरेर अल्मल्याउन खोज्दै हुनुहुन्छ । उहाँहरुले राजीनामा पनि दिनुहुन्न । उहाँहरुले आ–आफ्नो अस्पतालमा काम गर्नुपर्छ । यदि उहाँहरुले राजीनामा दिएको खण्डमा म काँध थाप्न तयार छु । तर, सेवाग्राहीलाई दुःख दिने काम भैरह्यो भने दण्ड हुन्छ ।

संघमा पनि आउन पाउने वा आफूखुशी सरुवा हुन पाउनुपर्ने भन्ने सरकारी डाक्टरहरुको माग छ । यो माग सम्बोधन गर्‍यो भने के हुन्छ ?

त्यो संविधानसम्मत हुँदैन । मिल्न सक्ने कुराहरुमा सरकारले स्पष्ट बनाइसकेको छ । यो संविधान र संघीयता विरोधी कुरा हो ।

त्यसो भए, अति आवश्यक क्षेत्र भनिएको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यतिका दिनसम्म आन्दोलन भैरहँदा समाधानको बाटो किन नअपनाएको त ?

समाधानको बाटो अवलम्बन भैसकेको छ । उहाँहरु मेरो गोरुको बाह्रै टक्का भनेर हिँड्नुभएको छ । एउटा गीत छ नि, ‘मलाई त्यही केटी चाहिन्छ...’ भन्ने जस्तो गरेर रडाको गर्नुको कुनै अर्थ छैन ।

वार्ताका लागि ढोका खुला भयो भने, आन्दोलन छोडेर टेबलमा बस्न तयार छौँ भनेर डाक्टरहरुले भनेका छन् नि ?

सरकार कुनै वार्ता गर्न तयार छैन । गलत काम गर्नेसँग वार्ता गर्नुको कुनै औचित्य छैन ।

माग पूरा नभए, अझै दमन गरिए, कठोर आन्दोलनको अप्रिय मार्गमा जाने भनेर डाक्टरहरुले विज्ञप्ति नै निकालेका छन् ?

उहाँ डाक्टरहरु जसरी आउनुहुन्छ, सरकार त्यसैअनुरुप प्रस्तुत हुन तयार छ ।