कि न्याय देऊ, कि मृत्यु देऊः गंगामाया

Posted on: May 09, 2018 | views: 2415

काठमाडौं । एउटी आमा १७ वर्षीय निर्दोष छोराको हत्यारालाई कारवाही होस् भन्ने माग राखी पाँचवर्ष देखि सत्याग्रहमा छिन् । गोरखा फुजेलका दम्पति नन्दप्रसाद अधिकारी र गंगामायाका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादीले २०६१ जेठ २४ गते चितवनमा गोली हानी हत्या गरेका थिए । आफ्नो छोराको हत्यारालाई सजायको माग गरी शुरुमा अधिकारी दम्पति दुबै आमरण अनसनमा बसे ।

अनसनसहितको सत्याग्रहमा बसेको अवस्थाबाटै गिरफ्तार गरी अधिकारी दम्पतिलाई विभिन्न अभियोग लगाएर कहिले केन्द्रीय जेल त कहिले अन्य जेल गरी पटकपटक जेलमा राखे । जेठा छोरा नुरप्रसाद अधिकारीलाई पनि कहिले गोरखामा कहिले काठमाडौंमा जेल हाले । कहिले दुःख दिने, कहिले मानसिक रोगी बनाउने, कहिले लोभप्रलोभन जस्ता विभिन्न खालको चलखेल भए । अन्य स्वार्थमा नभएर आफ्नो छोराको हत्या भएकोमा दोषीउपर कारवाही होस् र यसरी आउँदा दिनमा कसैका पनि छोराहरूमर्न नपरोस् भन्ने आफ्नो माग भएकोले कुनै सर्त नमानेको गंगामाया बताउँछिन् ।
 
 अनसनसहतिको सत्याग्रहको ३३४ औं दिन २०७१ असोज ६ गते वीर अस्पतालमा नन्दप्रसादको मृत्यु भयो । नन्दप्रसादको लास अहिले पनि शिक्षण अस्पतालमा रहेको छ । भाइको हत्यारालाई सजाय नभएसम्म अधिकारीका जेठा छोराले आफ्नो बाबुको लास नबुझ्ने अडान लिएको बताइन्छ । श्रीमान्को मृत्युपछि पनि गंगामायाले आफ्नो न्यायिक मागलाई यथावत राख्दै सत्याग्रहलाई निरन्तरता दिँदै आएकी छन् । उनलाई राज्यप्रशासनले उठाएर वीर हस्पिटलको क्याविन ७ मा राखेको छ ।

तपाईको खास माग के हो ? उनको बारेमा बुझ्न पुगेको सञ्चारकर्मीसँग गंगामायाले भनिन् ‘मेरो माग भनेको त छोराको हत्यारालाई सजाय भई देशमा न्यायिक राज्य छ भन्ने कुराको सबै नागरिकलाई प्रत्याभूति होस् भन्ने हो । तर यो अपराधि राजनीतिक क्षेत्रले अदालतले गरेको फैसलालाई पनि कार्यान्वयन हुन दिएन, अब मलाई कि न्याय देऊ कि मृत्यु देऊ भन्ने हो’ । पहिला न्याय नपाए गोरखा जानु भनिन्थ्यो तर यतिबेला गोरखाकै गंगामायाले न्याय नपाएर वीर अस्पतालको क्याबिनमा मृत्यु कुर्न बाध्य भइरहेकी छन् ।

मानव अधिकारको कुरा गर्नेहरू पनि असली रूपमा मानव अधिकारवादी नभएर मानुवादी हैछन्, मानवअधिकार क्षेत्रप्रति गंगामायाले असन्तुष्टि पोखिन् । अपराधी तथा दोषीलाई कार्वाहीको कठघरामा उभ्याउन राज्यसत्तालाई पर्याप्त दबाब दिन नसक्ने, अप्रत्यक्ष रूपमा विभिन्न मिसन तथा विस्तारवादीको एजेण्डा बोकेर हिँड्ने र प्रत्यक्ष रूपमा मानव अधिकारको वकालत गर्नेहरूबाट आफ्नो छोराको हत्या र श्रीमान्को लासमाथि भइरहेको राजनीति तथा चलखेलप्रति उनको असन्तुष्टि देखिन्छ ।

अधिकारी दम्पतिका छोरा कृष्ण गोरखाबाट बकुलनहर बकुल्ला टाँडी चितवनमा रहेका आफ्ना हजुरबुबा हजुरआमालाई भेट्न गएको बेलामा माओवादीका छविलाल पौडेल र जानुका पौडेलको आदेशमा परशुराम पौडेल र भीष्मराज पौडेलले अपहरण गरी रुद्र आचार्य, मदन पौडेल र ऋषिराम लामिछानेले गोली हानी अत्यन्तै क्रुरतापूर्वक हत्या गरेको अदालति कारवाहीको क्रममा प्रमाणित भइसकेको गंगामाया बताउँछिन् ।

अदालतबाट हत्याको मुख्य योजनाकार छविलाल पौडेललगायतलाई दोषी ठहर्याई कार्वाहिको लागि सिफारिस गरेको भएपनि उनीहरुलाई सत्ताको दुरूपयोग गर्दै डा. बाबुराम भट्टराई लगायतका माओवादी नेताहरुले संरक्षण गर्दै सजाय हुनबाट रोकिरहेका छन् । दोषी ठहर्याएका मदन पौडेल र ऋषिराम लामिछानेको मृत्यु भइसकेको भनिएको छ । रुद्र आचार्य फरार छ, विदेशमा लुकि बसेको छ भन्ने सुनिन्छ, सरकारले विदेशबाट झिकाउन पहल गरेको छैन, गंगामायाले बताइन ।

दोषीहरू अहिले पनि समाजमा छाति खुला गरी सानसँग हिँडीरहेका छन् । गंगामाया अस्पतालको बेडमा छट्पटाइरहेकी छन् । लाचार राज्य संयन्त्र मुक दर्शक भएर हेरिहेको छ । गंगामायाले यो केशलाई लिएर अन्तर्राष्ट्रिय अदालत गुहारिन भने नेपालको कानूनी पद्धति कस्तो रैछ भन्ने सन्देश विश्वव्यापि रूपमा जान्छ ? राज्य, सम्बद्ध व्यक्ति तथा निकायले सोँच्नुपर्छ कि पर्दैन ? प्रश्न खडा भएको छ ।

सन्तानको मृत्यु कसलाई प्रिय हुन्छ ? त्यो पनि कालगतिले नभई हत्याबाट । के देशको राज्यसँग अदालतले दोषी ठहर्याएको अपराधीलाई कारवाही गर्ने क्षमता छैन ? दोषीले सजाय पाउँदैनन् भने त्यो कसरी राज्य हुनसक्छ ? सन्तानको हत्याको पीडाले टड्पिएकी एउटी आमाले श्राप दिइन भने त्यो यससँग सम्बन्धित स्थानमा रहेका सबैलाई लाग्नेछ । सतिले सरापेको भनेर भनिने यो मुलकलाई के अब गंगामायाले पनि श्राप दिन बाध्य पार्ने हो ? सबैले आआफ्नो स्थानबाट सोँच्नु पर्ने देखिन्छ ।