विकासको प्रतिक्षामै बित्यो आधा शताब्दी,कोही भएनन् कुतियाकवरको पीडा सुन्ने’

Posted on: January 27, 2018 | views: 1114

माहाकाली नगरपालिकाको पारिको बस्ती कुतियाकवर विकासको प्रतिक्षा गरेको आधा शताब्दी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत पु¥याउन सकिएको छैन । यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होइन तर, उनीहरुले त्यहाका गाउलेलाई दिने भनेको आश्वासन मात्रै हो । त्यस गाँउमा सरकार र राजनीतिक दलका प्रतिनिधि पुग्दा अन्तरक्रिया वा छलफलमा उनीहरु भोलि नै आकाश झारिदिने कुरा गर्छन् । गाँउलेका लागि भने त्यो ‘विकासको फल आँखा तरी मर’ हुने गरेको छ ।

अझ विडम्बना त के छ भने, त्यस क्षेत्रका नागरिकको सरल र सहज बजार सम्पर्क सीमा पारि भारतीय बजार संग हुने गर्छ र उनीहरु नेपाली रुपैया भन्दा भारतीय रुपैया लेनदेन गर्न रुचाउछन् । कुतियाकवर र १८ नंम्वर बस्ती बिजुली बत्ती बाल्ने सपना देखेको वर्षौं भइसक्यो । सरकारी स्तरबाट विद्युत् विस्तारको योजना त आयो तर, गाडिएको विद्युतको खम्बामा अझै तार तानिएको छैन ।

विकासका नाममा संसद बिकास कोषले बत्तीका लागि सौर्य बत्ती बाड्ने, कच्ची सडकमा बेला बखत ग्रबेलिङ्ग गर्ने बाहेक ठोस काम केही गर्न नसक्दा कुतियाकवर र १८ नम्वर पिल्लर बस्ती सधै अभाव र कष्टमा बाँच्न विवश छन् । कुतियाकवर र १८ नम्वर पिल्लर बस्तीमा प्राबि तहको विद्यालय छैन, एम्बुलेन्सको व्यवस्था छैन, तत्काल उपचार गर्नुपर्ने बिरामीलाई कि, भारत पु-याउनु पर्छ कि भगवान् भरोसा छाड्नु बाहेक अर्को विकल्प छैन ।

पप्पु गुरुङ्ग –

बजार जानु प-यो भने त्यस क्षेत्रका नागरिक माहाकालीको बाबाथान को सट्टा भारतीय बजार रोज्छन् किन भने त्यहा पुग्न सजिलो छ । कुतियाकवरवासीले भोग्नुपरेका अनगिन्ती पीडा मध्ये बर्षेनीको बाढी र डुबान पनि हो । भारतले बनबासा ब्यारेजको ढोका खोलिदिए पछि सो क्षेत्रका अधिकांश भाग डुबानमा पर्ने गर्छन् । उनीहरुले बाढीबाट भोगेका क्षतिको दीर्घकालीन समाधान पनि सरकारले खोज्न सकेको छैन । त्यस क्षेत्रका बासिन्दा भन्छन् – ‘विगत त्रासमै बित्यो, वर्तमान पनि उस्तै छ, भविष्य झनै अन्योलपूर्ण छ’ हरेक वर्ष उर्लिने माहाकाली र जगबुडा नदी समय क्रम संगै फैलिदै र अग्लिदै गइरहेको छ । तर, कुतियाकवरवासीको दुःख भने थपिदै गएको हुन्छ ।

कहिले वर्षायाममा बाढीको मार खेपेका छन् भने कहिले चिसो र शीतलहरबाट आक्रान्त बन्न पुग्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती भित्रिने जङ्गली जनावरको डर पनि उनीहरुको दुःख माथि थपिएको अर्को पीडा हो । बिगतका वर्ष दिनमा माहाकाली र जगबुडा नदीको बाढीले कैयौं घरवार विहीनहरु आफ्नै देशको भूगोल भित्र शरणार्थी भएका छन् ।

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा शहरबाट सिमा क्षेत्र सम्म धकेलिएका उनीहरु त्यहांबाट पनि कुन बेला लखेटिने हुन् पत्तो छैन । माहाकालीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती लगाएत क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउने नै हो भने दीर्घकालीन एकीकृत योजना सञ्चालन ल्याउन जरुरी छ । तर यथार्थमा करनी र कथनीको उल्टो उनिहरु लाई सिमा क्षेत्रबाट खदेडिने सक्ने जो कोहीले पनि सहजै देख्न सक्ने छ् ।

सरकारले साच्चै नै कुतियाकवर, १८ नम्वर पिल्लर बस्तीको पीडा सुन्ने हो भने नीति तथा कार्यक्रम र बजेटमा ठोस योजना आउनै पर्छ । अन्यथा सरकारको सिमा क्षेत्र बिकास योजना पनि अर्थ न वर्थको हुने छ् ।