"आत्मविश्वास, इमान्दारीता र दृढता नगुमाउँ, हाम्रा होइन राम्रा रोजौं"

Posted on: December 04, 2017 | views: 514

स्थानिय निर्वाचनको मुखैमा दल समेत गठन नभइसक्दै चुनावी चटारोमा लागेको साझा र समान लक्ष्य र उदेश्य बोकेर एउटै मैदानमा उत्रिएको विवेकशिललाई देख्दा मनमा भाइफुटे गवार लुटे हुने आशंकाले डेरा जमायो ।

अन्तत नतिजा त्यस्तै भयो ! न जुझारु रन्जु दर्शनाले रेशमा बाजी मारिन् न त कर्म र योग्यतामा अब्बल किशोर थापानै गणितिय हिसाबको नतिजामा बिजयी भए ।

बरु दोहोरो दौड नगरिएको ललितपुरमा रमेश मर्हजन र शोभा शाक्य बर्चस्वको फुर्का लगाउँदै बहादुरी देखाउनेहरुको हैसियत देखाइदिन सफल भए पहिलो रेसमै । चुनावी परिणामले पराजित भनेपनि ललितपुरका विवेकशिल नागरिकको जनमन जित्न सफल भए ।


अहिले सम्झन्छु ठिकै भएछ ! छुट्टाछुट्टै दौडको त्यो गणित र पाठले संविधानसभाको निर्वाचनका बेला रत्नपार्कमा दल गठनको लागि १० हजार हस्ताक्षर संकलनमा विवेकशिलको लागि मैले गरेको सहिछाप र साझा प्रति गरेको विश्वासले विवेकशिल साझा पार्टी जन्मायो ।


फल आफुमात्रै खाएर रुखनै मास्नेहरु, विकिरणबाट जोगाएर न्यानोपन र जगत जोगाएको सुर्यको घातक विकिरण फैलाउन उद्यतहरु, प्रविधि र परम्परालाई जोगाएर विकासको गतिमा कुद्ने हतारोमा उहि हँसिया, हथौडा, कुट्टो कोदालो र हलो थमाएर यहि पछौटेपनमा अल्झाएर देश लुट्न पल्केकाहरु बल्ल बौराउन थालेका छन् बिकास र प्रगतिको शताब्दि पुरानो जनआकांक्षाबारे ।


५० बर्षबढी बपौतिमा पाएको मौजा सोचेर देशको ढुकुटीमा तर मारिरहेका माराहरु घरानी घस्दै बल्ल रुप फेरेर फलाक्न थालेका छन् `अबको निकास आर्थिक विकास` भन्दै ।


चप्पल लगाएर शहर छिरेका यिनै अनुहारहरुले पञ्चायतमा मेरा बाजे, प्रजातन्त्रमा बुवा, अनि लोकतन्त्र र गणतन्त्रको आवरणमा म र नयाँ पुस्तामाथि अहिलेसम्म लुट गरिरहेकै छ । तर अहिले हामी भूकम्पपछि टहरामा छौं उनिहरु बंगला, गाडी अनि सबै सुविधा र राज्यको ढुकुटीलाई आफ्नो मौजा ठानेर दोहन गरिरहेकै छन् । बिडम्वना फेरी केही युवा जमात अझैपनि यिनै नयाँ जोगिको पछि लागेको देख्दा देशको अहिलेको दुर्गतिको कारक र जिम्मेवार यि लुटेराहरु मात्र होइनन् हामी पनि भएको पाउँछु ।


हामीलाई हतारो भइसकेको छ बिकास र समृद्धिमा लम्कन । तिब्र चाहना छ, देशमा कुशल र सक्षम नेतृत्व हेर्ने । अनि समय घर्कन थालिसकेको छ यसको लागि हामिले गर्ने प्रयास अघि बढाउन र हाम्रै जीवनकालमा समृद्ध र स्वाभिमान नेपाल निर्माण गर्न ।


हो यहि घर्कन लागेको समयको पदचाप पछ्याउँदै म सम्पन्न पहिलो चरणको निर्वाचनमा मतदान गर्न पर।।।।देशबाट आएं । मलाई विश्वास गर्ने साथीभाई, परिवारजन, आफन्त र मेरो गाउँवासीमै सिमित किन नहुँ मैले कहलिएका दलका स्थानिय नेताकै नाक अगाडी अवरोधका बिच देशको नेतृत्व सम्हाल्न सक्षम र तयार विवेकशिल साझाको बारेमा धेरथोर बुझाउन सकें । जसको नतिजा मतगणनाले देखाउने त छनै तर मेरो विश्वास भन्छ केही सय मत भनेपनि म बढाउन सफल भएको छु तराजु चुनाव चिन्हमा नुवाकोट लिखु गाउँपालिका वडा नम्वर छ मतदान केन्द्रबाट ।


यस क्रममा आफैंमा मिलेको थप उर्जा र रोचकता के भने असंगठित रुपमै भनेपनि थोरै अघिल्लो पुस्ता धेरै मेरो पस्ता विवेकशिल साझाबारे जानकार रहेछन । मौन रहने त्यो छरिएर रहेको समुहलाई जागृत गर्ने काममा मैले गरेको सानो प्रयासबाट अग्रसर नयाँ पुस्ताको जुझारुपनले म मात्र देख्ने गरेको यो अभियानमा हामी धेरै रहेछौं भन्ने अनुभुति गराइदियो । जसले अबको निर्वाचनबाट विवेकशिल साझा पार्टी राष्ट्रिय पार्टीमात्र होइन एउटा शसक्त राष्ट्रिय पार्टी बन्ने देखाइसकेको छ ।


पिता पुर्खाले कमाएको इमानलाई पुस्तैनि लाभको भ¥यागं बनाएर राजनीति गरिरहेकालाई जनताले चिनिसकेका छन् । एउटा कालखण्डमा जेल, नेल र राजनीतिक संघर्ष गरेकै आधारमा अहिलेसम्म त्यसको व्याज खाएका र जीनवभर यस्तै चक्रव्युह चलाएर मनमौजी मोज गर्न खोज्ने कथित हेविवेटहरुलाई यसअघि जनताले सिकाएको पाठ भुलेपछि यसपटक सबक सिकाउने निश्चित छ ।


हरेक एक दशकमा राजनीतिक परिवर्तनको लागि युवाले संघर्ष गरिदिरहनुपर्ने तर व्यवस्था फेरिएपनि देश र नागरिकको अवस्था उस्तै रहँदा जिविको धान्नकै लागि लाखौं युवा श्रम बेच्न परदेश पस्नुपर्ने यो क्रम अब रोक्नै पर्छ । परिवर्तन सम्भव छ त्यो पनि हाम्रै जिवनकालमा ।


जुग परिवर्तनको महत्वपुर्ण अधिकार अहिले हाम्रै हातमा छ । गोपाल प्रसाद रिमालले भनेझैं एक जुगमा एकदिन एकचोटी आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ । हो, त्यो एक जुगमा आउने एक दिन हाम्रो सामु छ । आत्मविश्वास, इमान्दारी र दृढता नगुमाउँ । यो भन्ने बेला मात्र होइन गर्ने बेला पनि हो आ-आफनो ठाउँबाट सके समुहमा नभए एक्लै भएपनि अघि सरौं । उत्कृष्ट क्षमता, अनुभव र आचरण भएका व्यक्ति रोजौं । समृद्ध र स्वाभिमान नेपाल निर्माण सम्भव छ, हाम्रै जिवनकालमा ।

-: गोकर्ण अधिकारी