किन फैलाइयो "अधिनायकवाद" को हौवा ? - बाबुराम भण्डारी

Posted on: December 04, 2017 | views: 112

विपक्षीहरु अधिनायकवादी हुन् । यिनीहरुको गठवन्धनले अनिष्ट ल्याउछ र यिनीहरुले मुलुकको हित गर्दैनन् भन्दा भन्दै नेपाली कांग्रेशले पछिल्ला दिनमा बाम गठवन्धनले जितेमा रुन नपाइने, फेरि फेरि चुनावै नहुने र विदेश भ्रमण समेत गर्न नपाइने जस्ता दुस्प्रप्रचार गर्दैछ ।

यी फत्तुर ग्रासरुटको कुनै चौवन्नी सदस्यले नभएर पार्टीका शिर्ष नेता,बहालवाला प्रधानमन्त्री र प्र. म. पदका लागि आफूलाई विकल्पको रुपमा प्रश्तुत गर्ने तह सम्मका नेताहरुवाट आएका छन् । सतहमा हेर्दा यी कुरा राजनैतिक प्रकृतिका जस्ता लागे पनि गहिरिएर हेर्दा नितान्त मनोगत, दुराग्रही, आधारहीन र विल्कुल अराजनीतिक चरित्रका देखिन्छन् ।

अहिले संघियता कार्यन्वयन अन्तर्गत राज्य पुनर्संरचनाको मुख्य अङ्ग मानिएका प्रतिनिधी सभा र प्रदेश सभाका लागि पहिलो चरणको चुनाव सम्पन्न भएर दोश्रो र अन्तिम चरणको चुनावको तयारी भइरहेको छ । सवै उम्मेदवारहरुले पार्टी घोषणापत्र र कार्यक्रमको आधारमा प्रचार प्रशारलाई तिव्रता दिएका छन् । तर नेपाली कांग्रेशको स्थानिय तह देखि केन्द्रसम्मको नेतृत्व आफ्नो चुनावी घोषणापत्रलाई एकातिर थन्क्याउँदै अराजनीतिक तहमा ओर्लेर भ्रम सिर्जना गर्नमा तल्लिन छ ।

वाम गठवन्धन र पार्टी एकताका प्रयासले दक्षीणको छिमेकीको निंद हराम गरेको टिप्पणी गर्दै हुनु हुन्थ्यो, वरिष्ठ वाम नेता चित्र बहादुर केसी । तर यहाँ त नेपाली कांग्रेश वढि आहत भएको प्रतित हुदै छ । यस ढङ्गको कुण्ठा, हतासा र व्याकुलताले विचारको खडेरी, सोचको दरीद्रता र एजेण्डाको सून्यतालाई नै प्रतिविम्वन गर्छन् । आफू वाहेकका अन्यलाई अधिनायकवादी देख्नु कांग्रेश भित्र पुस्तैनी समस्या हो ।

अरुलाई अधिनायकवादी र आफूलाई प्रजातन्त्रको एकमात्र ठेकेदार दावी गर्ने नेपाली कांग्रेश स्वयंमा कति लोकतान्त्रिक छ र विधी र विधानको कति सम्मान गर्छ भन्ने कुरा पहिलेको इतिहासलाई सर्लक्कै छाडिदिए पनि यसका पछिल्ला केही कदमहरुले यथेष्ट रुपमा र सबैले बुझ्ने गरी देखाइसकेका छन् । नेपाली कांग्रेशको राजनैतिक कार्यदिशा र चिन्तनलाई का.भरत मोहन अधिकारीको “केही सँस्मरण” र "सुर्यप्रसाद उपाध्याय" नामक स्मृति ग्रन्थमा लिपीवद्ध यी केही ऐतिहासिक सन्दर्भबाट बुझ्नु मनासिव हुनेछ ।

(१) स्व.वि.पि. कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो । छिमेकी मित्रराष्ट्र चिनका प्रधानमन्त्री चाउएनलाई नेपालको राजकीय भ्रमणमा थिए । चिनीया प्रधानमन्त्रीले चिन सरकारकै पूर्ण लगानीमा ल्हासा काठमाडौँ सडक बनाइदिने प्रस्ताव गरे । वि.पि. कोइरालाले “हामी व्यापारिक प्रयोजनले मात्र वाटो बनाउँछौ” भन्दै प्रस्ताव अस्विकार गर्नु भयो । पछि भारतीय गुनासोलाई “कम्यूनिष्ट व्यवस्था गाडी चढेर आउने होइन” भन्ने जवाफका साथ राजा महेन्द्रको पालामा पहल भयो र काठमाडौँ कोदारी राजमार्ग निर्माण भयो ।

(२) प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री थिए मोहन समशेर र गृहमन्त्री हुनहुन्थ्यो नेपाली कांग्रेशका नेता वि.पि. कोइराला । एकदिन मन्त्री परिषदको वैठक सकिए पछि चिया खाने वेलामा मोहन समशेरले भनेछन् “ वि.पि. बाबु, अव हामी दुवै समान भएका छौं , म श्री ३ होइन तपाई रैती होइन । म प्रधानमन्त्रीमा वहाल रहदैं संविधान सभाको चुनाव गराउने धोको छ । बरु चुनावमा लाग्ने सवै खर्च म नै एक्लै व्यहोर्ने छु । चुनाव गरौं । ” वि.पि.ले पार्टीमा सल्लाह गरेर पछि जवाफ दिने वताउनु भएछ । पछि तत्कालका लागि संविभान सभा चुनावमा जान नसकिने पार्टी निर्णय भएको सुनाउनु भएछ । यसको ९ वर्ष पछि २०१५ सालमा नेकाले संसदको निर्वाचनका लागि संविधान सभाको चुनावको सौदावाजी नै गर्यो जुन धेरै महङ्गो सावित भयो ।

(३) तत्कालिन नेपालमा पण्डित नेहरुसँग समानताको धरातलबाट कुरा गर्न र राष्ट्रिय स्वार्थका लागि झगडासम्म गर्ने ल्याकत भएको कोही राजनेता थियो भने विपि नै हुनुहुन्थ्यो । तर दिल्ली सम्झौताका वखत वहाँ भारतीय संस्थापनसँग अत्यन्त निरीह देखा पर्नु भयो र सत्तामा हुँदा वा नहुंदा नेपालको आन्तरिक मामिलामा भारतीय अपवित्र हस्तक्षेपलाई चिर्न सक्नु भएन वा चाहनु भएन । वहाँ गृहमन्त्री भएकै वखत २००८ सालमा प्रधानमन्त्री मोहन समशेर सँग खटपट हुँदा वकाइदा घोषणा गरेरै वहाँले आफ्ना पक्षका मन्त्री र नेता मण्डली वोकेर नेपालको अन्दरुनी मामलामा भारतीय मध्यस्थताका लागि दिल्ली दरवार पुग्नु भयो जहाँ वहाँहरुलाई केवल विदेश मन्त्रालयका कर्मचारीले लामो समय झुलाएर राखे । (४) ने.क.पा. का महासचिव का. पुष्पलालको पञ्चायतका विरुद्ध वाम–प्रजातान्त्

रिक संयुक्त आन्दोलनको प्रश्तावको वहाँले हमेसा उपेक्षा गर्नु भयो । कम्यूनिष्ट शक्तिहरुसँग सहकार्य गर्नु भन्दा राजाको कहर वहाँहरुलाई वढी पृय लाग्यो । जव गणेशमानजीले यथार्थ बुझेर बाम शक्तिसँग मित्रताको हात अगाडि वढाउनु भयो पञ्चायती व्यवस्था २० दिन पनि टिक्न सकेन । ढल्यो ।

महान नेता वि.पि. कोइरालाका प्रति अगाध श्रद्धा हुँदा हुँदै पनि दुःखका साथ भन्नु पर्छ , नेपाली कांग्रेशको लोकतन्त्र, राष्ट्रियता र आर्थिक समृद्धिको विहंगम दृष्यचित्र यहि हो । पछिल्लो नेतृत्वले त यसलाई थप विकृत र प्रदुषित बनाउने मात्र काम गरेको छ । अहिले त्यहाँ प्रजातन्त्र, राष्ट्रियता र समाजवाद केही छ भने त्यो अव कुरा र नारामा मात्र सिमित छ ।

अझ खुला बजार अर्थनीति र उदारवादको नाममा जव नीजिकरणलाई भित्र्याइयो, यसले सरकारी र सार्वजनिक क्षेत्रलाई तहस नहस नै गरेर छोड्यो र हुने र नहुने विच पुर्नै नसकिने खाडल बनाई दियो । त्यसैले आफु मात्र प्रजातन्त्रवादी र अरु अधिनायक वादी भन्ने नेपाली कांग्रेशको जुन रटान छ अव यो पधेर्नी गफमा मात्र सुहाउने विषय बनेको छ र ज्यादा से ज्यादा मेरा बाबुले ध्यू खाए मेरा घुंडा सुंघ भने जस्तै हो ।

कुरा धुमिफिरी आउछ फेरी अधिनायक वादको, जसलाई नेपाली कांग्रेशले मुख्य चुनावी मुद्दा बनाएको छ । वस्तुतः सन् ९० मा सोभियत संघको पतन, पूर्वी युरोपका समाजवादी किल्ला ढल्नु र छिमेकी चिनमा समाजवादको नयाँ अभ्यास हुनु जस्ता कुराले शास्त्रीय कम्युनिष्ट शासन व्यवस्थाको प्रयोग निकट भविष्यको लागि बिल्कुल असंभव बनेको छ ।

नयाँ विश्व व्यवस्था र शक्ति सन्तुलन समेत यसको अनुकुल छैन । यस्तो विषम परिस्थितिमा र त्यो पनि चुनावबाट आउने वाम गठवन्धनले अधिनायकवाद वा तानाशाही व्यवस्था ल्याउछन् भन्नु कि त नितान्त वचकाना नासमझ हो कि भने मतदातालाई अन्धकारमा राखेर भ्रमित गर्दै चुनाव जित्ने निश्फल चेस्टा । संसदिय अभ्यासमा आएका नेपालका सबै कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रलाई अङ्गिकार गरिसकेको र नेपाली कांग्रेश भन्दा व्यवहारत: अब्बल लोकतन्त्रवादी रहेको कुरा कसैमा छिपेको छैन ।

आजका सचेत मतदातालाई केही नबुझ्ने मुर्ख ठान्नु उनीहरुको अपमान र अनादर पनि हो । आजका सचेत मतदाता न जन्तु हुन् न त जन्ती मात्र । उनीहरु सचेत जनता हुन् र नेपाली कांग्रेशको मुख्य समस्या यहि हो कि उसले मतदाता जनतालाई आज पर्यन्त जनताको मर्यादित दर्जा दिन सकेन, चाहेन । वाम गठवन्धनले यहि कुराको प्रत्याभुति गरेको छ । उनीहरुले अधिकतम गर्ने भनेको विद्यमान संविधान र प्रचलित कानुनको परिवृत भित्रबाटै लोकप्रिय जनमुखी कार्यक्रमहरु ल्याउनु हो ।

कांग्रेशलाई वढि सकस र असह्य भएको पनि यहि नेर हो । वाम गठवन्धनले शुसासन, संमृद्धि र राष्ट्रियताको पक्षमा ठोंस काम गर्न थाल्यो भने आफु पछि परिएला भन्ने उसको सुर्ता हो । आज सम्मका नेपाली कांग्रेश र यसका उम्मेदवारका प्रश्तुतिले दिने निष्कर्ष यहि हो कि उसले जनतामा जाने र भन्ने कुनै कुरा भेटेको छैन । तथ्य र मुद्दाहरुमा टेकेर वहस गर्न उसले छोडिसकेको छ । उसको कुसासन र अपसंस्कृति जनताले अघाउने गरी देखे भोगेकै हुन् ।

के नेपाली कांग्रेशका पछिल्ला केहि कदम स्वयंममा निरकुंश हुकुमी शासन वा तानाशाही शैली भन्दा कुनै मानेमा फरक थिए ? त्यसैले उसलाई आफ्नो घोषणापत्रबाट जनताको मत जित्न असंभव देखिएको अवस्थामा विपक्षिहरुलाई अधिनायकवादी हुन् भन्नै पर्ने वाध्यता हुन सक्छ । यो पनि हरुवा गोरुको के जाति दाउ भने जस्तै भएको छ । यो अधिनायकवादी भन्ने नारा भित्रको रहश्य अव नबुझ्ने सायदै कोही होला ।

नेपाली कांग्रेशका सनातनी मतदाता मध्ये पार्टी कार्यकर्ता समर्थक र वाम पन्थीहरुसँग तिव्र आक्रोश पाल्ने सानो समुह बाहेक लोकप्रिय मत र जित्नेलाई मतदान गर्न प्रवृत्त रहने समुहहरु बाम गठवन्धनको लहरका कारण कांग्रेशसँग पुरै मोहभङ्गको अवस्थामा छन् । तर नेपाली कांग्रेश भने अरुलाई लोकतन्त्रवादी भए नभएको सत्यापन गर्ने प्राधिकार आफैसँगै रहेको र अरुले चुनाव जित्नै नहुने भन्ने जस्तो मुर्खता प्रदर्शन गर्दै छ ।

इतिहासमा वामशक्तिले कहिल्यै बहुमतको सरकार चलाउन पाएको छैन र आम जनताले एक पटक उनीहरुलाई पूर्ण बहुमतमा देख्न चाहन्छन् । वाम एकताको सन्देशले साविकमा विभाजित वाममत उत्साहित र एकिकृत छ । त्यसैले पनि वाम गठबन्धनको विजयलाई अव कसैले रोक्न सक्दैन । समयको माग पनि यहि हो ।