कहीं प्रजातान्त्रिक अभ्यास आफ्नैलागि पासो नवनोस्.... :गोविन्द उपाध्याय

Posted on: October 25, 2017 | views: 243

नेपालको जनसंख्याअनुसार यो वर्ष करिव १ करोड ६० लाख मान्छेहरूले भोट खसाल्न पाउने छन् |  यी मध्ये कतिले भोट खसाल्ने छन् ठ्याक्क भन्न सकिन्न तर अहिलेसम्मको मतदानको इतिहासमा सरदार ४७.३% भोटदाताले आफ्नो मतको प्रयोग गरेका छन् |


यी मतहरू सबै पार्टीका लागि खसालिएका हुन् |  खसेको भोटका आधारमा नेपालमा  बामपन्थीहरूका लागि मत दिने बढी छन् | भनिन्छ, यो प्रतिशत कूलमतको ६०% रहेको छ |


नेपालमा सरकार बनाउनेहरूले आजसम्मको इतिहासमा कूल मतसंख्याको २७% भन्दा बढी प्राप्त गरेका छैनन् | २७.८% मत वि.स. २०५१ सालको चुनावमा कृष्णप्रसाद भट्टराईको सरकारले प्राप्त गरेको थियो | 


त्यसपछिका सरकारहरू सरदारमा २३% मतले १००% जनताका शासक बनेका छन् | प्रजातन्त्रको नाममा यो भन्दा ठूलो बेइमानी र धोकाधडी केही हुनैसक्दैन | नेपालमा बनेका सरकारहरूलाई न प्रजातान्त्रिक भन्न मिल्छ न जननिर्वाचित नै |


एउटा संस्था चलाउन त समस्त सदस्यहरूको ५१% बहुमत हुनैपर्छ भने सरकार बनाउने पार्टीका लागि समस्त भोटदाताको ५१% मत किन चाहिन्न ?  यो कुराको जवाफ अमेरिकी, युरोपेलीआदिले दिंदैनन् न नेपालको चुनाव आयोगले नै जवाफ दिन्छ |


नेपालको संविधानमात्र प्रजातान्त्रिक छ तर यहाँका राजनैतिक प्रणालीहरू नितान्त सिन्डिकेट प्रणालीमा विश्वास गर्छन् | यिनीहरूका लागि आफ्नो र आफन्तको भलो हुने विषयहरू प्रजातान्त्रिक हुन्छन् अर्कोको भलाई हुने देखियो भने अप्रजातान्त्रिक |


मलाई लाग्छ, जुन दिन विश्वले कूल मताधिकारप्राप्त जनसंख्याको ५१% भोट प्राप्त गर्न सक्ने पार्टीले मात्र सरकार निर्माण गर्ने ब्यबस्था अङ्गिकार गर्छ, त्यो दिन मात्र "प्रजातन्त्र" घनिभूत हुन्छ | अन्यथा, प्रजातन्त्रको नाटक मंचन गर्ने कलाकारहरूको मात्र भलो हुन्छ |


प्रजात्रन्त्रलाई व्यक्तिको लोकप्रियता नापिने अवस्थाका रुपमा पनि अमेरिकी र युरोपेलीहरूले उचालेको देखिन्छ | यो पनि असत्य र छल, र धोकाको पुलिन्दामात्र हो | किनभने सीमित संख्या भएको एउटा चूनाव क्षेत्रले कसैको लोकप्रियता नाप्न सक्दैन |


यदि साँच्चिकै लोकप्रियताको प्रजातान्त्रिक पद्यति स्वीकार गर्ने हो भने चुनावमा उठ्ने हरेक व्यक्तिले राष्ट्रियतह (१ करोड ६० लाख) जनताको अभिमत पाउनुपर्छ | चितवनको सीमित भोट पाएका व्यक्ति प्रधानमन्त्री बन्नु प्रजातन्त्रको हत्या हो | 


नेपाल र नेपालजस्ता राजनैतिक सिन्डिकेट भएका देशमा मताधिकार र मत ब्यबस्था हलिवुडको महँगो चलचित्रको छायांकन नै हो | जहाँ नेताहरू एकआपसमा हिरो र भिलेन दूबै हुन्छन् | यिनै व्यक्तिहरू पालैपालो हिरो-भिलेन र हिरोइनका रोलमा हुन्छन् |


जनताहरू अध्यारो हलमा बसेर विद्युतीय किरणहरूमा रेकर्ड गरिएको "प्रजातान्त्रिक लीला"हरू हेरेर दुखि-खुसी हुन्छन् | अचम्मको कुरा त के भने आफैले भोट दिएर बनाएको प्रजातान्त्रिक चलचित्र हेर्न पैसा तिर्नुपर्छ र रेकर्ड भएका सबै कुराहरू नबोलिकन टुलुटुलु हेरेर वाहिर निस्कनुपर्छ | त्यहाँ हेर्नेमात्र स्वतन्त्रता हुन्छ, बोल्ने, परिवर्तन गर्ने, रायसुझावका लागि कुनै स्पेस हुँदैन |


प्रजातान्त्रिक सिद्धान्तप्रति मेरो अनास्था छैन | तर नेपालमा मंचन गरिने प्रजातान्त्रिक अभ्यासमा विश्वास र आस्था गर्नु पर्ने कुनै पनि बलियो कारण मसंग छैन | नमीठो शब्दमा मुखै फोरेर भन्ने हो भने नेपालमा मताधिकार र मतप्रयोगको ब्यबस्था विदेशीशक्तिलाई रिझाउन गरिन्छ, नेपालीहरूलाई रिझाउन र यिनको भलो गर्न होइन |


जुन प्रजातान्त्रिक ब्यबस्थाको सैद्धान्तिक आधार नै विदेशी छ, जुन सिद्धान्तका प्लेयरहरू नै "विदेशीका लागि हाम्रो प्रजातन्त्र पत्यारिलो हुनुपर्छ" भन्ने मानसिक जगमा लडिन्छ, हरेक चुनावी गतिविधिको विदेशी दुतावासमा रिपोरटिंग हुन्छ र उनीहरूले "ठीक भने ठीक र वेठीक भने वेठीक" हुन्छ | यसमा मेरो आस्था नहुनु नै वेस ठहर्छ |


सबै अमेरिकी, युरोपेलीहरू नकारात्मक र गलत छन् भन्ने मूर्खतापूर्ण सिद्धान्त मैले प्रतिपादन गर्दिन तर युरोप-केन्द्रित राजनैतिक, शैक्षिक, धार्मिक, मानवाधिकारवादी पूर्वाग्रहका आधारमा विकसित भएका नेपालका प्रारूपहरू फेर्नै पर्ने भएका छन् | यी प्रारूपहरू नेपालको अग्रगमनमा सधैं तगारो बनिरहेका छन् |


विश्वमा एउटा पनि सफल मुलुक छैन जसले युरोपेली प्रतिमानहरू स्वीकार गरेर सफल बनेको होस् | युरोपेली प्रतिमान स्वीकारर्ने सबै देशहरू द्वन्दमा छन्, गरिवीमा छन् र भ्रष्टाचार तिनको पर्यायवाची बनेको छ | नेपालले पनि सन्यु १९५२ रोपकेन्द्रित प्रजातान्त्रिक ब्यबस्था अवलम्वन गरेकै हो - खै निकास ? खै विकास ? यसको जवाफ राजावादी, साम्यवादी र प्रजातन्त्रवादी सबैले दिनुपर्छ |


यसमा जनताको कुनै दोष छैन | किनभने रंगमंचका प्लेयरहरूले उनीहरूलाई यसरी दिग्भ्रमित गरेका छन् कि उनीहरूले यी प्लेयर बाहेकका विकल्प देख्न, बुझ्न नै सक्दैनन् | उनीहरूलाई "प्रजातान्त्रिक ब्यबस्था निर्विकल्प छ" भनेर भ्रमित गरिएको छ | अर्को शब्दमा, प्लेयरहरूले जनतालाई प्रजातन्त्र र साम्यवादका नाममा ब्याकमेलिंग गरिरहेका छन् |


ब्याक-मेलिंग वा सम्मोहन सधैं रहन्न | एस्तो ब्याकमेलिंगको अन्त्य गर्न "राज्यराष्ट्र"को रैथाने  राजनैतिक विकल्प अगाडी आएको छ | यो एस्तो राजनैतिक ब्यबस्था हो -जसले पश्चिमाहरूले तयार पारेको "प्रजातान्त्रिक इन्द्रजाल"को भ्रमलाई सजिलै समाप्त पर्छ | 


यो ब्यबस्थामा चुनाव पनि हुन्छ, नेतृत्व पनि चुनिन्छन् तर आफ्नै रैथाने सिद्धान्तका आधारमा उत्तरदायी नेतृत्वले जनताको सेवा गर्छन् | पश्चिमा प्रजातान्त्रिक ब्यबस्थामा सेवकको नाटक गरेर मालिकहरू चुनिन्छन् तर राज्यराष्ट्रको ब्यबस्थामा सेवक वा मालिक होइन, उत्तरदायी नेतृत्व चुनिन्छ | उत्तरदायी नेतृत्व न सेवक नै न मालिक नै | उसको काम भनेको आफुले प्राप्त गरेको उत्तरदायित्वलाई न्यायपूर्वक सम्पादन गर्नुमात्र लक्ष हुन्छ |


चुनावमा उठ्नु, भोट खसाल्नु र नेतृत्वका लागि उम्मेदवार बन्नु तपाईंको आफ्नो रोजाई हो तर के तपाईंको यस रोजाईले "उत्तरदायी नेतृत्व" प्रदान गर्ने ग्यारेन्टी गर्छ त ? एक पटक अवश्य विचार गर्नुहोला | कहीं आफुले प्रयोग गरेको मताधिकार आफ्नै घांटीको पासो नवनोस् |