हुम्लाको जिल्ला स्तरीय फुटबल काठमाडौंमा  

Posted on: May 02, 2016 | views: 165

१३ चैत, हुम्ला । पहिलो पटक राजधानी काठामाडौंमा हुम्लाको जिल्ला स्तरिय खेल आज देखि शुरु हुने भएको छ । अध्ययनका लागि काठमाडौंमा रहेका हुम्लाका खेलाडीहरुको प्रतिभा प्रष्फुटन गराउन अन्तर गाविस स्तरिय फुटबल खेलको आयोजना गर्न लागिएको आयोजक सर्किदेउ गाविस रिपका जनक फडेराले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगिता सानोठिमी भक्तपुरस्थित सानोठिमी क्याम्पसको खेल मैदानमा हुने भएको हो । काठमाडौंमा भएका जिल्लाका २७ वटै गाविसको प्रतिनिधित्व गर्ने गरी खेलको आयोजना गरिए पनि अहिलेसम्म १२ वटा टिम मात्रै दर्ता भएको छ । आज बिहान १० बजे देखि शुरु हुने फुटवल खेल चैत १८ गते सम्ममा सम्पन्न गर्ने योजना आयोजकको छ ।

हुम्लाबाट पढाईका क्रममा काठमाडौं आएका विद्यार्थीसँग समेत फुटबल खेलमा राम्रो प्रतिभा भएपनि मौका नपाएकालाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको आजको उद्घाटनमा हुम्लाबाट प्रतिनिधित्व गर्ने साँसद, राजनीतिक दलका जिल्लादेखि केन्द्रस्तर सम्ममा नेता, खेलकुद परिषद, हुम्लाका नागरिक अगुवा र विद्यार्थी सबै आउने जानकारी आयोजकले दिएका छन् । प्रतियोगितामा प्रथम, द्धतिय र तृतिय टिमका लागि क्रमश २० हजार, १० हजार र ५ हजारको पुरस्कार प्रदान गर्ने आयोजक टोलीका महेश बहादुर थापाले बताए ।