युरोपियन च्याम्पियनलाई पराजित गर्दै चिली फाइनलमा प्रवेश

Posted on: June 29, 2017 | views: 487

काठमाडौं, असार १५ । दक्षिण अमेरिकी च्याम्पियन चिली रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनलमा युरोकप विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३ – ० ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । रुसको कजानस्थीत कजान एरिनामा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको युरोकप विजेता पोर्चुगल चुक्दा फाइनलमा पुग्न सफल भयो । यता, चिलीको जितमा गोलरक्षक क्लाउडियो ब्राभो नायक बने । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका गोलरक्षक ब्राभोले पोर्चुगलका तीन पेनाल्टी प्रहार उत्कृष्ट बचाउ गर्दै चिलिलाई जित दिलाए ।

पेनाल्टी सुटआउटमा गोलरक्षक ब्राभोले पोर्चुगलका रिकार्डो क्वारिज्मा, जोएओ मोटिन्हो र नानीको पेनाल्टी प्रहार रोकेका थिए । चिलीका भने तीनै खेलाडीको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । चिलीको जितमा अटुरो भिडाल, कार्लेस एसान्गुइज र एलेक्स सान्चेजले पेनाल्टीमा गोल गर्दै टिमलाई उपाधि नजिक पुराए । अब चिलीले उपाधिका लागि जमर्नी र मेक्सिकोबिचको विजेतासँग खेल्ने छ । जर्मनी र मेक्सिकोबिचको दोस्रो सेमिफाइनल बिहीबार राति सोचीमा हुनेछ ।