प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफको लगातार तेस्रो जित

Posted on: June 04, 2017 | views: 236

काठमाडौं ।  नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो विजय हात पारेको छ । एपीएफले  समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चललाई ६ विकेटले पराजित गर्‍यो ।

पहिलो दुई खेल जितेर एपीएफले यसअघि नै सेमिफाइनल सुरक्षित गरिसकेको थियो । एपीएफले सोमबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । अर्को सेमिफाइनल मंगलबार त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीच हुनेछ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार हासिमको १ सय १ रनपछि मध्यमाञ्चलले ४८।३ ओभरमा अलआउट हुनुअघि १ सय ८७ रन बनायो । हासिमको शतक प्रतियोगितोको पहिलो शतक हो । अनिल शाहले नटआउट ७८ रन बनाएपछि एपीएफले ३४ ओभरमै लक्ष्य पूरा गर्‍यो । अनिलले ८५ बलको इनिङ्समा ११ चौका र २ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल ३० बलमा ३ चौका र १ छक्का प्रहार गरी २८ रनमा नटआउट रहे ।

ओपनरद्वय सन्दीप सुनार ४१ र आसिफ शेख २२ रनमा आउट भएका थिए । सन्दीपले ४७ बल खेली ६ चौका प्रहार गरे । पृथु बाँस्कोटा २ र प्रदीप ऐरी १ रनमा आउट भए । मध्यमाञ्चलबाट तीनै विकेट शशी केसरीले लिए । उनले १० ओभरमा ४२ रन खर्चेका थिए ।

यसअघि १४ औं ओभरमा मध्यमाञ्चलको ३४–४ को स्थिति सुधारेका हासिमले १ सय २४ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । उनले सोनु तामाङसँग पाँचौं विकेटमा ४१ रन जोडे । सोनुले २० बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । हासिम र सोनुबाहेक मध्यमाञ्चलबाट दोहोरो स्कोर बनाउनेमा रसिद खान ९११० मात्र थिए ।

खेलका हिरो भने एपीएफ कप्तान ज्ञानेन्द्र मल्ल थिए । म्यान अफ द म्याच उनले १० ओभरमा २ मेडन राख्दै ४० रन खर्चेर ४ विकेट लिए । अविनाश बोहरा र भुवन कार्कीले २–२ तथा यज्ञमान कुमाल र सन्दीप जोहराले १–१ विकेट लिए ।