वाट्फोर्ड एफ.ए कप को सेमिफाइनलमा,आर्सनल पराजित

Posted on: May 01, 2016 | views: 202

एजेन्सी,चैत १ । आर्सनललाई हराउँदै वाट्फोर्ड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा पाहुना टोली वाट्फोर्ड २÷१ ले विजयी भयो । खेलमा वाट्फोर्डलाई विजयी गराउन ओडियन ईगालो र एड्लेन ग्वेडोराले एक–एक गोल गरे ।
आर्सनलका ड्यानी वेलबेकले एक गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन् । एफ.ए कप फुटबल अन्तर्गत आइतबार राति भएको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १-१ गोलको बराबरीमा रोकेको छ ।
खेलमा वेष्ट ह्यामका डिमिट्री पाएटले पहिलो गोल गरे पनि म्यानचेस्टर युनाईटेडका एन्टोनी मार्टिएलले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । बराबरीपछि अब यी दुई टोलीबीच यही मार्च २३ तारिखका दिन रि म्याच हुने भएको छ । उक्त खेल वेष्ट ह्याम युनाईटेडको मैदानमा हुनेछ । उता इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–० ले हरायो । 

खेलमा टोटनह्यामलाई विजयी गराउन दुबै गोल ह्यारी केनले गरे । जितसँगै टोटनह्यामले प्रिमियर लिग फुटबलको अंक तालिकामा शीर्ष स्थानको लेष्टर सिटीसँगको अंक दुरीलाई दुई अंकमा झारेको छ । २९ खेलबाट लेष्टर सिटीको ६० अंक छ भने एक खेल बढी खेलेको टोटनह्यामको ५८ अंक भएको छ ।