माल्दिभ्स जाने महिला भलिबल टोलीको विदाई

Posted on: January 24, 2017 | views: 264

काठमाडौं,माघ ११ । वुमन्स वल्र्ड भलिबल च्याम्पियनसिप अन्तर्गत एसियन सेन्ट्रल जोनको छनोट चरणको खेलमा सहभागिता नेपाली महिला भलिबल टोली बुधबार माल्दिभ्स जाने भएको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो । 


यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । शुक्रबारबाट माल्दिभ्समा हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले मंगलबार बिदाइ गरे ।


नेपाली टोलीमा १२ औं साग खेलेकै खेलाडी सहभागी छन् । छोटो समयमा तयारी गर्नुपर्दा पुरानै खेलाडीलाई सहभागी गराइएको नेपाल भलिबल संघले जनाएको छ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका निभाउने छन् । 


त्यस्तै रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइक तथा  कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भुमिका निभाउदै छन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा सुदेशकुमार रिमाल छन् भने सहायक प्रशिक्षकमा सलिना श्रेष्ठ र टिम व्यवस्थापकमा जुनु पुन मगर रहेकी छिन् ।


नेपाली टोलीमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष उपेन्द्र यादव, सदस्य ज्योति केसी, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयामबहादुर थापा र इन्टरनेशनल रेफ्री क्यान्डिडेट कुलबहादुर राना पनि माल्दिभ्स जानेछन् ।


एसियन सेन्ट्रल जोन छनोट प्रतियोगितामा ३ टोलीको सहभागिता रहनेछ । नेपालसहित आयोजक माल्दिभ्स र इरानले पहिलो चरणको छनोट खेल खेल्ने छन् । नेपाल दुई साताको प्रशिक्षणपछि विश्व च्याम्पियनसिपको छनोट खेल्न लागेको हो ।