यु-१९ एसिया कप: नेपाल श्रीलंकासँग १ रनले पराजित

Posted on: December 15, 2016 | views: 228

काठमाडौं,मंसिर ३०  । यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग मात्र १ रनले पराजित भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९९ बलमा ९० रन बनाएपनि नेपालले जित हासिल गर्न सकेन् । दिपेन्द्रले नौ चौका एक छक्का प्रहार गरे । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन, आदिल खान ६९ बलमा ३९ रन, प्रकाश केसीले २३ बलमा १४ रन, सुवर्णकार उरावले ६४ बलमा ४० रन बनाए । पवन सर्राफ पहिलो बलमै एलबिडब्लु आउट भए । यस्तै कमल सिंह ऐरीले ९ बलमा ९ रन बनाए ।

सन्दिप लामिछाने ३ बलमा १ रन बनाएर रन आउट भए । श्रीलंकाका कामिन्दु मेन्डिसले तीन, अशेन बान्डारा, जेहन ड्यानियल, निपुन रनसिका, दिलसान ग्यामेज र प्रविन जयबिक्रमाले एक एक विकेट लिए । श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाएका थिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए । नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच भए ।