भारतसँग बहुप्रतिक्षित विश्वकप क्रिकेट खेल्ने पाक टिमको टुंगो

Posted on: May 01, 2016 | views: 225

२९ फागुन, एजेन्सी ।
जारी आइसिसी ट्वेन्टी– ट्वेन्टी विश्वकप क्रिकेट भन्दा बढी चर्चामा रहेको पाकीस्तानी टोलीको भारत यात्रा तय भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टिमलाई प्रतियोगितामा सहभागी हुन भारत जाने अनुमति दिएको छ ।

यो सँगै पाकिस्तान भारतमा चलिरहेको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा सहभागी हुने पक्का भएको छ । पाकिस्तान क्रिकेट बोर्डको कार्यकारी समितिका अध्यक्ष नजम सेठीले इस्लामाबादमा गृहमन्त्री चौधरी निसार अली आनसँग भेटघाटपछि सरकारले क्रिकेट टिमलाई विश्वकपमा भागलिन भारत जाने अनुमति दिएको हो ।

पाकिस्तानी टिमको सुरक्षाको विषयलाई लिएर भइरहेको चासोपछि भारतले सुरक्षाको ग्यारेन्टी दिएपछि पाक टिम भारत जाने भएको हो ।
पाकिस्तानी टोली शनिबार भारत जाँदैछ ।

विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको खेल चैत ६ गते धर्मशालामा हुने तय भएको थियो । तर पूर्व सैनिक तथा राज्य सरकारले असहमति जनाएपछि अब यो खेल कोलकातामा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जनाएको छ ।

जारी विश्वकप क्रिकेटमा यो खेललाई विश्वभर क्रिकेटप्रेमीहरुले प्रतिक्षाको घडीको रुपमा लिइरहेका छन् । जुन खेलको विषयलाई लिएर विश्वभर चर्चा समेत भइरहेको छ ।

दुई पटक युद्ध लडिसकेका र सँधै जसो सिमामा युद्ध अवस्थामा जस्तै सेना राख्दै आएको यि दुई देशबिच कटुतापूर्ण सम्वन्ध रहँदै आएको छ ।

भारतले पाकिस्तानमाथि आतंकवादलाई प्रसय दिएको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले सिमामा युद्ध उकास्नेगरि सेना तैनाथी र सिमा मिच्ने प्रयास भारतले गर्दै आइरहेको बताउँदै आएको छ ।