सिमरा गोल्डकप : आर्मीलाई सडन डेथमा हराउँदै हेटौडा फाइनलमा

Posted on: May 02, 2016 | views: 195

सिमरा, फागुन २६  । त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै विजय युथ क्लब हेटौडा सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा आर्मीविरुद्ध सडन डेथमा नतिजा निकाल्दै हेटौडा फाइनल प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि नजिता आउन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा आर्मीका सन्तोष तामाङको प्रहार पोष्टमा ठोक्किँयो । हेटौडाका लागि सुनिल बिकले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । यसअघि टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्की, भरत खवास, रजिन धिमाल, दिपक गुरुङ र गोलरक्षक बिकेश कुथुले गोल गरे । हेटौडाका लागि सुनिल बल, सञ्जय राज बाहक, भुपाल गुरुङ, रवि भण्डारी र बिश्व अधिकारीले गोल गरे ।

खेलको सुरुवातमै अग्रता लिएपनि आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा हेटौडाले बराबरी गोल फर्काएको थियो । खेलको १० आैँ मिनेटमा आर्मीले पेनाल्टीमार्फत अग्रता लिएको थियो । हेटौडाका मनोज बिष्टले टंक बस्नेतलाई लडाएपछि पाएको पेनाल्टीमा आर्मीका जितेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आर्मीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हेटौडाले थुप्र्रै अवसर बनाएपछि पहिलो हाफमा गोल फर्काउन सकेन । आर्मीले पनि पहिलो हाफमा पाएको केही अवसर चुकाउन पुग्दा अग्रता बढाउन सकेन ।

झण्डै चार हजारको संख्यामा दर्शक उपस्थित भएको सिमरा रंगशालामा आर्मी र हेटौडाबिचको दोस्रो हाफ पनि प्रतिस्पर्धात्क र रोमाञ्चक थियो । आर्मीबिरुद्ध राम्रा अवसर सिर्जना गरेको हेटौडाले खेलको ५८ औं मिनेटमा बराबरी गोल फर्र्काउने अवसर गुमायो । आर्मीका गोलरक्षक बिकेश कुथुलाई बिट गर्दै हेटौडाका रवि भण्डारीले प्रहार गरेको बल हिरण्य मगरले गोल लाइनबाट क्लियर गरेका थिए ।

खेलमा फर्कर्ने थुप्रै अवसर गुमाएको हेटौडाले खेलको ८७ औं मिनेटमा बराबरी गोल फर्कायो । आर्मीको रक्षापंक्तीलाई तोड्दै बिमल रानाले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काएका हुन् । प्रतियोगिता अन्र्तगत बिहीबार दोस्रो सेमिफाइनल खेल वीरगञ्ज युनाईटेड क्लब र रुपन्देही ११ बिच हुनेछ ।
unn.com.np