अन्तर्राष्ट्रिय भलिबलमा आज ४ खेल हुँदै, आर्मीलाई दबाव

Posted on: May 02, 2016 | views: 185

२४ फागुन, चितवन ।
जारी पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज ४ खेल हुँदैछन् ।
चितवनको पटिहानीमा जारी खेलमा दुई समूहमा विभाजित ६ वटा टिमले दिनभर समूह चरणमा ४ खेल खेल्दैछन् ।

बिहान सबा ९ बजेबाट नेपालको विभागीय टिम नेपाल आर्मी क्लबले भारतको बीएमडब्लु दिल्लीको सामना गरिरहेको छ ।
प्रतियोगिताकै बलियो मानेको बीएमडब्लुले नेपाल आर्मीलाई कडा टक्कर दिइरहेको छ । समूह ‘बी’ बाट बीएमडब्लुले पहिलो खेल खेलिरहेको छ भने नेपाल आर्मीका लागि यो दोस्रो खेल हो ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल आर्मी एपीएफसँग पराजित भएको थियो । दबाबमा रहेको आर्मी अघिल्लो चरणमा पुग्न सतर्क भएर खेलिरहेको छ ।

चितवनको भरतपुर उपमहानगरपालिका–२७, पटिहानीमा हिजोदेखि सुरु प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो ।

हिजै भएका दुई खेलमा नेपालका दुई विभागी टिम एपीएफ र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् ।

उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले अर्को विभागीय टिम नेपाल आर्मी र दोस्रो खेलमा नेपाल पुलिस क्लबले बंगलादेशको वाटर डेभलेपमेन्पट बोर्डलाई पराजित गरेको थियो ।

फागुन २६ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा टिम सहभागी रहेका छन् । नेपालका एपीएफ, नेपाल प्रहरी र नेपाल आर्मी क्लब तथा भारतको बीएमडब्लु दिल्ली (भारत), साम्चे भलिबल क्लब भुटान र वाटर डेभलेपमेन्ट बोर्ड (डब्लुडीबी) बंगलादेश सहभागी छन्

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।