लेष्टर सिटीको अग्रता कायमै, आर्सनल र टोटनह्याम बराबरीमा रोकिए

Posted on: April 30, 2016 | views: 204

एजेन्सी,फागुन २३ । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लेष्टर सिटीले  अग्रतालाई फराकिलो पारेको छ । शनिबार राती भएको खेलमा वाट्फोर्डलाई १-० ले हराँउदै लेष्टरले अग्रता फराकिलो पारेको हो । त्यस्तै १० खेलाडीमा सिमित आर्सनलले टोटनहृयामसँग बराबरी खेलेको छ । टोटनहृयामले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ भने आर्सनलले उपाधिको सम्भावना कायमै राखेको छ । शनिबार राती भएको अर्को खेलमा आर्सनल र टोटनह्याम हट्सपरले २-२ गोलको बराबरी खेलेपछि लेष्टरले अग्रता बढाउने अवसर पाएको हो । 

प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा स्टोक सिटीले चेल्सीलाई १-१ गोलको बराबरीमा रोक्दा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ४-० ले हराएको छ । यसैगरी वेष्ट ह्याम युनाईटेडले एभर्टनलाई ३-२ ले हराँउदा बर्नमाउथले न्युकासल युनाईटेडलाई ३-१ ले तथा स्वान्सी सिटीले नर्वीच सिटीलाई १-० ले पराजित गरे । साउथह्याम्पटन र सण्डरल्याण्डले १-१ गोलको बराबरीमा चित्त बुझाए । 

गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २९ खेलबाट ६० अंक जोडेको लेष्टर सिटी शिर्ष स्थानमा छ । समान खेलबाट ५५ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने तेस्रो स्थानको आर्सनलको ५२ अंक छ ।