मेस्सीको सन्यास फिर्ता, राष्ट्रिय टिममा फर्किए

Posted on: August 13, 2016 | views: 389

एजेन्सी,साउन २९ ।  बार्सिलोनाका स्टार लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किएका छन् । झण्डै दुई महिना अघि अमेरिकामा भएको कोपा अमेरिका फुटबलको फाइनलमा पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । मेसीलाई भेट्न बाउजा बिहिबार स्पेनको बार्सिलोना पुगेका थिए। उनले राष्ट्रिय टिममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि मेसी टिममा फर्किन राजी भएको बताएका छन्।

मेस्सीले सन्यासको घोषणा गरेदेखि नै उनीमाथि निर्णयमा पुनर्विचार गर्न चौतर्फि दबाब परेको थियो । अर्जेन्टिनाको विश्वकप छनौट खेलका लागि घोषणा गरिएको टिममा मेस्सीको नाम समावेश छ । आउँदो सेप्टेम्बरमा हुने विश्वकप छनौट खेलमा अर्जेन्टिनाले उरुग्वे र भेनेजुएलासँग खेल्ने छ । मेस्सीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् । उनले एक बयान जारी गरेर आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्व राख्ने बताएको अर्जेन्टिनाका सञ्चारमाध्यमले जनाएका छन् ।  २९ वर्षका मेस्सीले राष्ट्रिय टिमबाट अहिलेसम्म एक सय ३३ खेलमा ५५ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् ।