रियो जुडो टोलीको बिदाइ

Posted on: July 29, 2016 | views: 241

काठमाडौं,साउन १४ । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य रहेका छन् ।

टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै नेपाली रियो टोलीका सेभ दि मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार श्रेष्ठले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । बिदाइपछि जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विपिन श्रेष्ठले फुपु र देबुलाई ब्याग, ट्रयाकसुट, जुत्ता र टिसर्ट हस्तान्तरण गरेका थिए ।

अगष्ट ५ देखि २१ तारिखसम्म सञ्चालन हुने रियो ओलम्पिकको जुडो ६ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । फुपुले ९ तारिखमा खेल्नेछिन् । टोली आइतबार रियो प्रस्थान गर्दैछ । अध्यक्ष वज्राचार्यले एक बाउट पूरा समय (५ मिनेट) खेले खेलाडीलाई नगद २५ हजार र प्रशिक्षकलाई १० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरे । 

त्यस्तै प्रत्येक बाउट जिते खेलाडीलाई ५० हजार र प्रशिक्षकलाई २५ हजार प्रदान गर्ने बताइएको छ । यसअघि सोही टोलीलाई सामाखुशीस्थित लिङकन कलेजले पनि बिदाइ गरेको थियो । लिङकनका अध्यक्ष विष्णुराज पौडेल, प्रिन्सिपल प्रकाश शर्मा घिमिरे तथा प्रशासन प्रमुख विशाल थापाले फुपु र देबुलाई ट्रयाकसुट र जुत्ता प्रदान गरेका थिए ।