मैत्रिपूर्ण महिला भलिबल: घरेलु कोर्टमै नेपालको दु:खद अन्त्य

Posted on: July 29, 2016 | views: 484

काठमाडौं,साउन १४ । नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रदर्शनलाई निहाल्दा  महिला टोलीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गदै मैत्रीपुर्ण सिरिजको अन्त्य ग-यो । नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट आफु सन्तुष्ट भएको बताए । उनले भने, ‘हामीले अनुभव बढाएका छौं,आगमी दिनमा टिमले अझ राम्रो खेल प्रदर्शन गर्ने छ । मैत्रीपुर्ण खेलबाट हामी सन्तुष्ट छौं । यसले हाम्रो स्तर बढाउन धेरै सहयोग गरेको छ ।’

भारती टोलीकी प्रशिक्षक बैशाली फडतरेले नेपालको स्तर बढेको  बताईन् । सोचेभन्दा सुधारउन्मुख खेल नेपालले खेल्यो । पहिलो खेलमा अन्तिम सेट र आज पहिलो सेट जित्न कठिन भयो । उनले भनिन, ‘ नेपालले हरेक खेलमा सुधार गर्ने गरेको छ । तर उनीहरुको दोस्रो स्पाइकर र ब्लक त्यति गतिलो छैन । त्यसमा उनीहरुले सुधार गरे अझ राम्रो हुन सक्छ ।’ यसअघि नेपाल र भारत १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलेका थिए । सागमा स्वर्ण जितेको भारतले त्यतिबेला नेपाललाई सोझो सेटमा हराएको थियो । त्यसअघि नेपाल र भारत २ वर्ष अघि नेपालमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा खेलेको थिए । त्यो खेलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको थियो ।